NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

सात प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनभित्रै हानाथाप, कुन प्रदेशमा कसको दाबी ?

काठमाडौं । सत्ता गठबन्धनले नयाँ सरकार गठन गरेलागत्तै दलहरूको ध्यान प्रदेशमा केन्द्रीत भएको छ । आइतबार ओली निवास बालकोटमा बसेको एमाले, माओवादीसहित सात दलको सिफारिसमा प्रचण्ड प्रधानमन्त्री भएलगत्तै दलहरूको ध्यान मुख्यमन्त्रीमा गएको हो।

पुस २५ मा बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिएपछिमात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । यसबीचमा केन्द्रदेखि प्रदेशसम्मको राजकीय पदमा भागबण्डा मिलाउने तयारी सत्ता सहयात्री दलहरूको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले एमाले अध्यक्ष केपी ओलीलाई संयोजक तोकेको छ । सरकार सञ्चालनका लागि उनको नेतृत्वको अन्य दलका शीर्ष नेता सदस्य रहनेछन् ।

सरकारले ल्याउने न्यूनतम कार्यक्रम, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्रीलगायत राजकीय मुख्य पद बाँडफाँट ओली नेतृत्वको कार्यदलले टुंगो लगाउने छ ।

सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जपा र नाउपा दल सहभागी छन् । यीबाहेक तीन स्वतन्त्र सांसदले सरकारलाई समर्थन गरेका छन् ।

दलीय भागबण्डाको आधारमा सात प्रदेशमा मुख्यमन्त्रीको टुंगो लगाउने तयारी उनीहरूले गरेका छन् । सबैभन्दा ठूलो दल एमालेले प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ । सत्ता नेतृत्व दल माओवादीले वाग्मती, कर्णाली र सुदूरपश्चि प्रदेश दाबी गरेको छ ।

गठबन्धनको तेस्रो ठूलो दल रास्वापाले प्रदेशसभामा उम्मेदवारी नदिएकाले उसको दाबी रहने छैन । १४ सिट रहेको राप्रपाले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ । यहाँ राप्रपाले १३ सिट जितेको छ ।

सत्ता घटक जसपा र जपाले मधेश प्रदेश पाउने पक्कापक्की रहेको छ । मधेशमा एमालेपछि जसापा र जपा ठूलो दल छ । यी दुई दलबीच आलोपालो सरकार सञ्चालन गर्ने गरी सहमति हुन सक्ने देखिन्छ ।

कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने सम्बन्धमा सत्ता गठबन्धन दलहरूबीच अहिलेसम्म कुनै सहमति भएको छैन । सात प्रदेशमध्ये एमालेले चार, माओवादीले २ र मधेशी दलले एक प्रदेश पाउने सम्भावना बलियो छ ।

एमालेले प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली नछाड्ने मनस्थिति बनाएको छ । प्रदेश १, वाग्मती, गण्डकी र कर्णालीमा सरकारको नेतृत्व लिने गरी एमालेले संसदीय दलको नेता चयन गरिसकेका छन् । प्रदेश १ पार्टीका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की संसदीय दलको नेता चयन भएका छन् ।

गण्डकीमा संगठन विभाग प्रमुखसमेत रहेका खगराज अधिकारी दलको नेता भएका छन् । वाग्मतीमा जगन्नाथ थपलिया सर्वसम्मत दलको नेता चयन भएका छन् । यसैगरी कर्णाली प्रदेशमा स्थायी कमिटी सदस्य यमलाल कँडेल दलको नेता चयन भएका छन् । यी चार प्रदेशमा दलहरूबीच सहमति भए लुम्बिनी र सुदूरपश्चिम प्रदेश माओवादी केन्द्रलाई छाड्ने एमालेको तयारी छ । तर माओवादीले वाग्मती, कर्णाली र सुदूरपश्चि नछाड्ने अडानमा छ।

प्रदेश १

प्रदेश १ मा ९३ सदस्यीय प्रदेश सभा(प्रत्यक्ष ५६ समानुपातिक ३७) रहेको छ । यहाँ एमालेले प्रत्यक्षमा २५ र समानुपातिकमा १५ गरी ४० सिट जितेर पहिलो दल बन्न सफल भएको छ । माओवादीले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी १३ सिट जितेको छ । यसैगरी राप्रपाको ६ र जसपाको एक सदस्य छन् । बहुमतको लागि प्रदेश १ मा ४७ सिट आवश्यक पर्छ । यो प्रदेशमा एमाले र माओवादीको मात्रै ५३ सिट रहेको छ। एमाले गठबन्धनको जम्मा  ६० सिट छ ।

प्रदेश एकमा ठूलो दलको हैसियतले एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना बलियो छ । एमालेले संसदीय दलको नेतामा पूर्वमन्त्रीसमेत रहेका हिक्मत कार्कीलाई चयन गरेको । माओवादीबाट इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री दाबी गरेका छन् । विपक्षी कांग्रेसको जम्मा २९ सिट रहेको छ । नेकपा एसको ४ सिट छ ।

मधेस प्रदेश

मधेश प्रदेशमा अघिल्लो निर्वाचनमा निकै कमजोर रहेको एमाले योपटक पहिलो दल बन्न सफल भएको छ । १०७ सदस्यीय प्रदेश सभा(प्रत्यक्ष ६४ समानुपातिक ४३)मा एमालेले २३ सिट जितेको छ । यसैगरी जसपाको १६, जनमतको १३, माओवादीको ८, राप्रपा र नाउपाको एक÷एक सिट छ । मधेश प्रदेशमा बहुमतको सरकार बनाउन ५५ सदस्य आवश्यक पर्छ ।

यहाँ बहुमतका लागि एमालेलाई थप २२ सिट चाहिन्छ । त्यसका लागि एमालेले जसपा र जपाकोसमेत समर्थन आवश्यक पर्छ । यी दुईवटै दल सत्ता गठबन्धनमा भएकाले भागबण्डा मिलाउँदा जसपा र जपालाई पर्ने सम्भावना बलियो छ । मधेश प्रदेशमा सत्ता गठबन्धनको जम्मा सिट संख्या ६२ रहेको छ । त्यस्तै कांग्रेसको २२ सिट र नेकपा एसको ७ र स्वतन्त्र ६ सिट रहेको छ ।

जसपाबाट वर्तमान मुख्यमन्त्री लालबाबु राउत दाबेदार छन् । एमालेबाट राचन्द्र मण्डल र माओवादीबाट भरतप्रसाद साहको मुख्यमन्त्रीमा दाबी छ । जनमत पार्टीबाट मुख्यमन्त्रीको उम्मेदवारको कुनै टुंगो लागेको छैन ।

वाग्मती प्रदेश

संघीय राजधानीसमेत रहेको बागमती प्रदेश ११० सदस्यीय (प्रत्यक्ष ६६ समानुपातिक ४४) छ । यो प्रदेशमा ३७ सिटसहित कांग्रेस पहिलो दल भएको छ । यहाँ बहुमतका लागि ५६ सिट आवश्यक पर्छ । बहुमतका लागि कांग्रेसलाई थप १९ सिट आवश्यक पर्छ ।

यसैगरी सत्ता गठबन्धन एमालेसँग २७, माओवादीसँग २१ र राप्रपा १३ गरी ६१ सिट पुग्छ । वामपन्थीको मात्र सरकार बनाएको खण्डमा नेकपा एससहित नेमकिपाको साथ आवश्यक पर्छ । यहाँ एसको ७ र नेमकिपाको ३ सिट गरी ५८ पुग्छ ।

यो प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले र माओवादीको दाबी छ । भावी मुख्यमन्त्रीमा एमालेबाट जगन्नाथ थपलिया र माओवादीबाट शालिकराम जमकट्टेल, सरल सहयात्री र युवराज दुलाल प्रतिस्पर्धामा छन् ।

गण्डकी प्रदेश

गण्डकीमा एमाले २२, माओवादीको ८ सिट रहेको छ । यहाँ बहुमतका लागि ३१ सिट संख्या आवश्यक पर्छ । यो प्रदेशमा वामपन्थीको मात्रै सरकार बनाउन सकिन्छ ।

गण्डकी प्रदेशसभा(प्रत्यक्ष ३६ समानुपातिक २४)६० सदस्यको रहेको छ । यहाँ सरकार बनाउन ३१ सदस्य आवश्यक पर्छ । यो प्रदेशमा वामपन्थी सरकार बनाउन आवश्यक बहुमत संख्या पुगेको छ । स्वतन्त्र निर्वाचित सांसद रहेका राजिव गुरुङ नेकपा एसमा प्रवेश गरेकाले वामपन्थी सरकार बनाउन आवश्यक कोरम पुगेको हो । गण्डकीमा एमालेको २२, माओवादीको ८ र राप्रपाको २ गरी ३२ सांसद छन् । यहाँ कांग्रेसको २७ सिट छ ।

यहाँ मुख्यमन्त्रीको प्रमुख दाबेदार एमाले रहेको छ । एमालेले संसदीय दलको नेतामा खगराज अधिकारीलाई चयन गरिसकेको छ । माओवादीबाट हरिबहादुर चुमानको दाबेदारी छ ।

लुम्बिनी प्रदेश

लुम्बिनीमा ८७ सदस्यीय प्रदेशसभा(प्रत्यक्ष ५२ समानुपातिक ३५)मा सरकार गठन गर्न ४४ सांसदको समर्थन आवश्यक पर्छ । एमाले २९, माओवादी ९, जसपा ३, राप्रपा ४, जनमत ३, नागरिक उन्मुक्ति ४ गरी ५२ सांसद नयाँ गठबन्धनमा छन् । यहाँ कांग्रेसको २७ सिट छ । लुम्बिनीमा एमालेबाट लिला गिरी र माओवादीबाट जोखबहादुर बुढाको मुख्यमन्त्रीमा दाबेदारी छ ।

कर्णाली प्रदेश

कर्णालीको प्रदेशसभा(प्रत्यक्ष २४ समानुपातिक १६) गरी ४० सदस्य रहेको छ । सरकार गठनका लागि २१ सदस्य आवश्यक पर्छ । यहाँ एमाले १०, माओवादी १३, राप्रपा १ गरी नयाँ गठबन्धनको पक्षमा २४ सांसद छन् । भावी मुख्यमन्त्रीमा एमाले र माओवादीको प्रमुख दाबी रहेको छ । एमालेबाट संसदीय दलका नेता यमलाल कँडेलको दाबी छ । उनी अघिल्लोपटक नै मुख्यमन्त्री बन्न चाहेपनि असफल भएका थिए । माओवादीबाट संसदीय दलको नेता रहेका राजकुमार शर्माको मुख्यमन्त्रीमा दाबी छ । यहाँ कांग्रेसको १४ सिट छ ।

सुदूरपश्चिम प्रदेश

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभा(प्रत्यक्ष ३२ समानुपातिक २१)मा सरकार गठनका लागि २७ सांसद आवश्यक हुन्छ । यहाँ एमालेको १०, माओवादीको ११, नागरिक उन्मुक्तिको ७ र राप्रपाको १ गरी २९ सांसद गठबन्धनमा छन् । सबैभन्दा ठूलो दल रहेको कांग्रेसको १९ सिट छ । अघिल्लोपटक पुरै कार्यकाल माओवादीले चलाएको सुदूरपश्चिममा योपटक पनि उसैको दाबी छ । यस प्रदेशमा एमालेभन्दा माओवादी ठूलो दल छ । यहाँ माओवादीका खगराज भट्ट मुख्यमन्त्रीका प्रबल दाबेदार छन् । एमालेबाट राजेन्द्र सिंह रावल आकांक्षी छन् ।