NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

प्रहरी सेवा किन बन्न सकेन आकर्षक ?

काठमाडौं ।गत वर्ष नेपाल प्रहरीले एक सय ४६ प्रहरी निरीक्षकको भर्ना खुलाउँदा आवेदन दिने जम्मा दुई हजार सात सय ९० जना थिए । ०७६ मा एक सय ४९ जनाको माग हुँदा दुई हजार सात सय ६७ जनाको आवेदन परेको थियो । पछिल्लो १३ वर्षको तथ्यांक हेर्दा प्रहरी निरीक्षकको भर्नामा एकपटक मात्र तीन हजारभन्दा धेरै आवेदन परेको छ ।

बेरोजगारी समस्या व्यापक भए पनि धेरै युवाले प्रहरीमा प्रवेश गर्न रुचि देखाएका छैनन् । प्रहरीको जागिरमा किन न्यून आकर्षण ? अध्ययनले असाध्यै महत्वपूर्ण र संवेदनशील कारण देखाएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको भर्नामा त अझै कम आवेदन पर्छ ।

सुरक्षा निकायको जागिरमा आकर्षण घटेपछि प्रहरी प्रधान कार्यालयले हालै एक अध्ययन गरेर युवावर्गलाई प्रोत्साहन बढाउने कार्ययोजना अघि सारेको छ । शुक्रबार गृहमन्त्री रवि लामिछानेले सार्वजनिक गरेको ‘नेपाल प्रहरीमा युवा आकर्षणको अवस्था, २०७९’ शोध अध्ययनले कार्यबोझको तुलनामा सेवा–सुविधा र पारिश्रमिक थोरै पाउने भएकाले प्रहरी सेवा नरोज्ने गरेको निष्कर्ष छ । प्रहरी जागिरमा दुःख धेरै हुने, तर त्यसअनुसारको पारिश्रमिक नहुने भएकाले नै धेरै युवा–युवतीले प्रहरी जागिर नरोजेको प्रतिवेदनले औँल्याएको छ ।

भविष्यमा प्रहरीमा भर्ना हुनयोग्य युवा जनशक्तिको नेपाल प्रहरी सेवा प्रवेशसम्बन्धी चेतना, चाहना र जागरुकताको स्तर सम्बन्धमा सो अध्ययनमार्फत प्रहरीले धारणा बुझेको हो । १५ जिल्लालाई नमुना छनोट गरी एक हजार तीन सय ६१ जनामा प्रहरीले यस्तो सर्वेक्षण गरेको थियो । कक्षा १०, ११, १२ र स्नातक तहका विद्यार्थीमाझ भएको सर्वेक्षण प्रहरी सेवामा आकर्षण नबढ्नुको कारण खोज्न केन्द्रित थियो । ‘यस अध्ययनबाट अधिकांश युवा नेपाल प्रहरीमा सेवा प्रवेश गर्ने प्रक्रिया तथा प्राप्त हुने सेवा–सुविधाको सम्बन्धमा कम अवगत रहेको पाइएको छ,’ अध्ययन प्रतिवेदनमा छ । समग्रमा भने प्रहरीको कामप्रति युवाहरू सकारात्मक नै रहेको समेत अध्ययनले देखाएको छ ।

सेवा–सुविधाको कमीका साथै प्रहरीले नागरिकलाई राम्रो व्यवहार नगर्ने भएकाले नागरिकले प्रहरीलाई हेर्ने दृष्टिकोण राम्रो नभएको, अनियमितताका कारण प्रहरीको छवि बिग्रिएको, भर्नाको छनोट प्रक्रिया तथा वृत्ति विकासमा राजनीतिक हस्तक्षेप हुनेजस्ता कुराले प्रहरी सेवामा आकर्षण नदेखिएको औँंल्याइएको छ ।