NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

जसपासँग पार्टी एकताका लागि पहल भइरहेको छ : प्रवक्ता खतिवडा

काठमाडौं । गएको निर्वाचनमा राष्ट्रिय दल बन्न असफल भएको एकीकृत समाजवादी पार्टी र उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टीबीच एकताका लागि पहल भएको छ । नेकपा एसको सोमबार बसेको पोलिटब्युरो बैठकमा दुई पार्टी बीचको एकताबारे छलफल भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टी एकताका लागि जसपाका नेताहरूसँग हामी निरन्तर छलफलमा छौं । छलफल सकारात्मक भएको छ’, उनले भने, ‘तर कुन मोडलमा कसरी पार्टी एकता गर्ने, एकीकृत पार्टीको नीति, सिद्धान्त कस्तो हुने, संगठनात्मक मोडालिटी कस्तो हुने भन्नेबारे निष्कर्षमा पुगेका छैनौं ।’

यस विषयमा निष्कर्ष निकाल्न शनिबार र आइतबार स्थायी समिति बैठक बोलाएको नेकपा एसले सोमबार पोलिटब्युरो बैठक बालाएको हो । बैठकमा पार्टी एकतासहित प्रचण्ड नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणबारे छलफल भएको उनले बताए ।

‘आन्दोलनमा सहकार्य गरेका कमरेड प्रचण्ड प्रधानमन्त्री बन्नुभयो । उहाँ जसरी जुन बाटोबाट प्रधानमन्त्री भएपनि हाम्रो सदभाव छ’, उनले भने, ‘उहाँ प्रधानमन्त्री बन्नुअघि हामीसँग कुनै सल्लाह गर्नुभएको छैन । सरकारमा जाने कुरा पनि भएन ।’

प्रचण्ड नेतृत्वको सरकारालाई समर्थन गर्ने/नगर्नेबारे पार्टीभित्र विवाद देखिएपछि अध्यक्ष माधव नेपालले पार्टीको बैठक बोलाएका हुन् । जसपासँग पार्टी एकताका लागि बैठकले कार्यदल बनाउने तयारी गरेको छ । राष्ट्रिय दलको मान्यता पाएको जसपाले १२ सिट जितेको छ । एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जितेको छ ।