NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

शेखर–गगन समूहलाई फेरि धक्का

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाले सत्ता–राजनीतिको पहल गुमाएपछि आक्रामक रूपमा आएको कांग्रेस संस्थापन इतर समूहलाई प्रदेश संसदीय दलमा भने धक्का लागेको छ । केन्द्रमा संसदीय दलको निर्वाचनपछि बलियो बनेको डा। शेखर कोइराला र महामन्त्री गगन थापा समूहको उपस्थिति प्रदेश संसदीय दलमा कमजोर देखिएको छ ।

सातमध्ये ६ प्रदेशको संसदीय दलको नेता चयन हुँदा कोइराला–थापा समूह सबै ठाउँमा उम्मेदवारीसमेत दिने अवस्थामा देखिएन । सबैमा संस्थापननिकट नेता दलको नेता चयन हुँदा चार स्थानमा इतरले उम्मेदवार नै अगाडि सारेन, यसले प्रदेशमा उसको उपस्थिति कमजोर देखाएको छ ।

प्रदेशमा धक्का खानुको पछाडि केन्द्रमा सत्ता गुमाउनुको प्रमुख कारण रहेको नेताहरू बताउँछन् । केन्द्रीय सत्तास“गै कांग्रेसले प्रदेशमा समेत आफ्नो सरकार बनाउन नसक्ने अवस्था आएपछि पार्टीको प्रदेश संसदीय दलमा असर परेको इतर समूहका नेताहरूको बुझाइ छ । प्रदेश संसदीय दलको रणनीतिलाई लिएर इतर समूहकै नेताबीच मतभेद छ ।

इतर समूहका नेता गुरुराज घिमिरे सातै प्रदेशमा इतरको उम्मेदवार नउठाएर नेतृत्वले ठूलो भूल गरेको बताउँछन् । ‘इतर बैठकमा कसलाई उठाउने, कसलाई जिताउने, कसलाई समर्थन गर्ने हो स्पष्ट पार्नुपर्छ भनेका हौँ, तर नेतृत्वले त्यो सुनेको देखिएन । लुम्बिनी र कर्णालीमा किन सर्वसम्मत भयो रु हारे पनि प्रतिस्पर्धाको अर्थ हुन्छ । बागमतीमा गरेको समर्थन पनि स्पष्ट भएन । सातै प्रदेशमा इतरको उम्मेदवार नउठाएर इतरले ठूलो भूल गरेको छ,’ घिमिरेले भने ।

इतर समूहका नेता तथा पार्टी सहमहामन्त्री जीवन परियारले भने परिस्थिति हेरेर प्रदेशअनुसार निर्णय भएको बताए । उनले इतरले जित्ने अवस्था नरहेका कारण कतै सर्वसम्मत, कतै समर्थन र कतै आफ्नो उम्मेदवार उठाएको बताए । ‘संसदीय दलमा अंकगणितले ठूलो अर्थ राख्छ, हाम्रो अंकगणित टिकट वितरणदेखि नै कमजोर छ । त्यही आधारमा मधेस प्रदेश र बागमतीमा समर्थन ग¥यौँ । गण्डकी र प्रदेश १ मा उम्मेदवार उठायौँ र लुम्बिनी र कर्णालीमा सर्वसम्मत बन्ने अवस्था आयो,’ उनले भने ।

प्रदेशको नेता चयन हुँदा गण्डकी र प्रदेश १ मा मात्र इतरले उम्मेदवार खडा गरेको थियो । लुम्बिनी र सुदूरपश्चिमममा संस्थापनकैले दाबी छाडेपछि संस्थापन पक्षकै सर्वसम्मत बन्न पुगे । बागमतीमा संस्थापननिकटलाई इतरको समर्थन रह्यो, तर इतरले समर्थन गरेका उम्मेदवार पराजित बन्न पुगे । मधेस प्रदेश र प्रदेश १ मा संस्थापनबीच नै प्रतिस्पर्धा भयो । नेता चयन हुन बाँकी सुदूरपश्चिममा उम्मेदवार उठाउने–नउठाउने इतरको टुंगो छैन ।

९३ सिट रहेको प्रदेश १ मा कांग्रेसको २९ सिट छ । संसदीय दलमा संस्थापन पक्षले नेता कृष्ण सिटौलानिकट उद्धव थापालाई समर्थन गरेको थियो । सभापति देउवा नै थापाको पक्षमा देखिएपछि १८ मतसहित उनी विजयी बने । तर, देउवानिकट अमृत अर्यालले दुई मत मात्र पाए । इतरनिकट केदार कार्कीले नौ मत पाए ।

मधेस प्रदेशमा देउवानिकट कृष्ण यादव १८ मत ल्याएर विजयी बन्दा संस्थापनकै नेता विमलेन्द्र निधिनिकट रामसरोज यादवले चार मत ल्याए । यादवलाई इतरको समर्थन थियो । एक सय सात सिट रहेको मधेसमा २२ सिट कांग्रेसको छ ।

एक सय १० सिट रहेको बागमती प्रदेशमा ३७ सिटसहित कांग्रेस पहिलो छ । तर, संसदीय दलमा संस्थापन पक्षका नै भिडे । बागमती प्रदेशमा संस्थापननिकट नेता भिड्दा पनि इतरले आफ्नो उम्मेदवार अगाडि सार्न सकेन । जहाँ बहादुर लामा सभापति देउवाको साथ पाएर २१ मतसहित विजयी बने भने संस्थापननिकट अर्का नेता इन्द्र बानियाँले इतरको समर्थन पाउँदा १६ मत मात्र पाए । यसले प्रदेशमा कांग्रेसको आन्तरिक समीकरण फेरबदल ल्यायो ।

गण्डकी प्रदेशमा संस्थापनका सुरेन्द्रराज पाण्डे १८ मत ल्याएर विजयी बने भने इतरका भोजराज अर्यालले आठ मात्र मत पाए । एक मत भने बदर भयो । ६० सिट रहेको प्रदेशमा कांग्रेस २७ सिटसहित पहिलो दल छ ।

लुम्बिनी प्रदेशमा प्रतिस्पर्धा नै भएन । संस्थापनका डिल्ली चौधरी सर्वसम्मत बन्न पुगे । संस्थापनबाटै अब्दुल रज्जाकले लड्ने तयारी गरे पनि उनी पछि हटे । ८७ सिट रहेको प्रदेशमा कांग्रेस २७ सिट पाएर दोस्रो स्थानमा छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।