NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

पेलेको आज अन्त्येष्टि, श्रद्धाञ्जलीका लागि शव सान्तोस क्लबमा

काठमाडौं । महान फुटबलर पेलेको आज अन्त्येष्टि गरिने भएको छ । गत बिहीबार भौतिक रूपमा अस्ताएका पेलेको नेपाली समयअनुसार मंगलबार साँझ ६ः४५ बजे अन्त्येष्टि गर्न लागिएको हो ।

पेलेको श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर सान्तोस एफसीको रंगशालामा राखिएको छ । सान्तोष पेले आबद्ध पुरानो फुटबल क्लब हो ।

पेलेलाई श्रद्धाञ्जली दिन साओ पाउलोको भिला बेलमिरो स्टेडियममा फ्यानहरू निरन्तर पुगिरहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार, उनको अन्त्येष्टि मेमोरियल नेक्रोपोल एकुमेनिका, सान्तोस कब्रिस्तानमा गरिनेछ। अन्तिम संस्कारमा पेलेका परिवारमात्र सहभागी हुनेछन् ।

विश्वका महान् फुटबलर पेलेले आफ्नो करिअर दौरान तीन पटक ब्राजिललाई विश्वकपको उपाधि दिलाएका थिए । उनी सन् १९५६ मा सान्तोस क्लबसँग अनुबन्धित भएका थिए जतिबेला उनको उमेर मात्रै १५ वर्ष थियो । पेलेले सान्तोसका लागि खेलेको पहिलो खेलमा नै गोल गरेका थिए । त्यसयता लामो समय उनी टोलीको महत्त्वपूर्ण सदस्य रहे ।

इटालीको क्लब युभेन्टस, स्पेनको क्लब बार्सिलोना, रियल मड्रिड र इंग्ल्याण्डको म्यानचेस्टर युनाइटेडले पेलेलाई अनुबन्ध गर्न धेरै प्रयास गरेका थिए । ठूला प्रस्तावहरूको बाबजुद पनि पेलेले ती क्लबको प्रस्ताव अस्वीकार गरेर सान्तोसलाई माया गरिरहे ।

सन् १९७५ देखि १९७७ सम्म भने पेले अमेरिकाको न्युयोर्कस्थित कोसमोस क्लबमा आबद्ध भएका थिए ।