NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रचण्ड नेतृत्वको सरकारमा जानेबारे नेकपा एसमा विवाद : निर्णय लिने जिम्मा सचिवालयलाई 

काठमाडौं। प्रचण्ड नेतृत्वको सरकारमा जाने/नजाने विषयमा एकीकृत समाजवादीको बैठकले कुनै निर्णय गर्न सकेन । पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बुधबार बसेको पोलिटब्युरो बैठक बिना निष्कर्ष टुंगिएको हाे ।  सरकारमा जान/नजानेबारे निर्णय लिने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

‘दुई दिनसम्म बसेको पोलिटब्युरो बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणबारे बहस र छलफल भयो’, बैठकपछि उनले भने, ‘सरकारमा सहभागी हुनेबारे आवश्यक अध्ययन गर्ने, विचार विमर्श गर्ने र अन्तिम निर्णय लिने जिम्मा बैठकले केन्द्रीय सचिवालयलाई दिएको छ ।’

सोमबार बसेको बैठकमा वामपन्थीबीच एकता, सरकारलाई हेर्ने दृष्टिकोणलगायत समसामयीक विषयमा छलफल भएको थियो । यसै विषयमा छलफल गर्न गत शनिबार र आइतबार एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको थियो ।

१० पुसमा सत्ता सहयात्री दल नेकपा एसलाई जानकारी निदइ एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । उनी नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणबारे नेकपा एसभित्र विवाद छ ।