NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

रविले बर्खास्त गरे डिएसपी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नागरिकले उनीबाट नतिजामूलक कामको अपेक्षा गरेका छन् । यस्तैमा उनी नेतृत्वको गृह मन्त्रालयले एक प्रहरी नायब उपरीक्षक (डिएसपी) बर्खास्त गरेको छ ।  सचिवस्तरीय निर्णय गर्दै गृहले प्राविधिकतर्फका डिएसपी डा. सुरेन्द्रप्रसाद साहलाई सेवाबाट हटाएको हो ।

डा. साह प्रहरी अस्पतालका चिकित्सक हुन् । मधेस प्रदेश प्रहरी कार्यालय, रूपनी सप्तरीमा कार्यरत उनलाई गत भदौमा प्रहरी अस्पताल महाराजगञ्ज सरुवा गरिएको भए पनि अनुपस्थित रहँदै आएका थिए ।

विनाजानकारी लामो समयदेखि गैरहाजिर रही गैरजिम्मेवार व्यवहार देखाएकाले साहलाई सेवाबाट हटाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

विगतमा पनि गैरहाजिर हुने प्रहरीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले बर्खास्त गर्ने गरेको थियो ।  तर यस पटक रवि लामछिाने नेतृत्वको गृह मन्त्रालयले तीन पुगेलगत्तै बिना जानकारी गैरहाजिर रही काममा बाधा पुर्याउने प्रहरीलाई बिदा गरेको छ ।

सम्पर्कमा आउन पटक–पटक गरिएको पत्राचारको बेवास्ता गर्दै सम्पर्कविहीन बनेपछि प्रहरी नियमावली, २०७१ को नियम १०९ को खण्ड ‘ख’ (१) बमोजिम डा. साहलाई बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ । प्रहरी नियमावलीमा विना जानकारी ९० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित भएमा सरकारी सेवाका लागि योग्य वा अयोग्य रहने गरी बर्खास्त गर्न सकिने नियम छ । डा. साहलाई भने सरकारी सेवामा अयोग्य नठहरिने गरी हटाइएको छ ।

प्राविधिक सेवातर्फका डा. साहलाई गत भदौ १९ मा १४ दिन घर बिदा सुविधासहित प्रहरी अस्पताल महाराजञ्जमा सरुवा गरिएको थियो । गत असोज ७ गतेबाट अस्पतालमा हाजिर हुन जानुपर्नेमा साह नगई सम्पर्कविहीन भएका थिए । प्रहरी प्रधान कार्यालयका अनुसार, गत पुस ७ मा एक सूचना जारी गर्दै सम्पर्कमा आउन गरिएको आग्रहलाई पनि उनले बेवास्ता गरेका थिए ।

गृहले सेवाबाट बर्खास्त साहलाई यसबारे जानकारी गराउन पत्र पठाएको छ ।

प्रहरी सेवामा बीचमै जागिर छाड्ने प्रवृत्ति बढ्दो छ । यसबाट राज्यले गरेको लगानी खेर गइरहे पनि यो क्रम रोकिएको छैन । खासगरी तल्लो तहका प्रहरीले अवधि छँदै जागिर त्याग्ने गरेका छन् । कम वेतन, पेन्सनको समयावधिलगायतलाई यसको कारण मानिन्छ ।