NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सहकारी सुशासित रुपमा सञ्चालन गर्न लेखा व्यवस्थापन महत्वपूर्ण : महाप्रबन्धक

काठमाडाैं । राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारीलाई स्वनियमन र सुशासित रुपमा संचालन गर्नका लागि लेखा व्यवस्थापन महत्वपूर्ण रहेको बताएकी छिन् ।

उनले महासंघले १९ देखि २२ पुषसम्म आयोजना गरेको लेखा व्यवस्थापन तालिमको समापनमा सम्बोधन गर्दै सहकारीमा लेखा व्यवस्थित रुपमा राखिएन भने संकट सिर्जना हुने भएकाले यसको  अपरिहार्यता रहेको जनाइन् । ‘सहकारी स्वनियमन संचालन संचालन गर्नका लागि ऐन नियम अनुरुप कार्यविधिहरु बनाई आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुद बनाउनुपर्छ ।’ उनले भनिन् ।

महासंघले सहकारी संस्थाहरु सुशासित र मर्यादित रुपमा संचालन गर्नुपर्छ भनेर आवश्यक तालिम संचालन गर्दै आएको बताइन् । उनले आफ्नो महासंघको करियर पनि लेखाबाट शुरु भएको अनुभव सुनाएकी थिइन् ।  उनले सहकारीमा संस्थागत संस्कार विकास गर्ने उद्देश्यले महासंघले यसको मार्गदर्शन समेत तयार गरिरहेको जानकारी गराएकी थिइन् ।

चार दिनसम्म संचालन भएको तालिममा महासंघका वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीले सहजीकरण गरेका थिए । तालिमका सहभागी विद्युतकर्मी बहुउद्देश्यीय सहकारी संस्थाका नविन रिमालले सहकारीमा लेखा कसरी व्यवस्थित रुपमा राख्नुपर्छ भन्ने विषयमा प्रयोगात्मक रुपमा सिक्ने अवसर मिलेको बताए ।

त्यसैगरी साझा सेवा सहकारी संस्थाकी विमला विष्टले कार्यालयमा चाहिन विषयमा तालिम लिन पाउँदा आफू उत्साहित भएको र तालिम उपलब्धीपूर्ण भएको जनाए ।

महासंघका कार्यक्रम अधिकृत देवी बास्कोटाले महासंघले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमको विषयमा जानकारी गराएका थिए । महासंघले माघमा पल्स व्यवस्थापन र व्यवस्थापकको क्षमता विकास तालिम आयोजन गर्न लागेको उनले बताए ।