NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

तस्करले हल्लाइरहेको देश

काठमाडौं । लागूऔषधका तस्करलाई गरिएको गिरफ्तारको विरोधमा ठाउँठाउँमा हिंसात्मक प्रदर्शन हुँदा तीन प्रहरीसहित २९ जनाको ज्यान गइसकेको छ । थप जनधनको क्षति रोक्न विद्यालय, सरकारी कार्यालय बन्द गरिएको छ । उडानमा रहेका विमानहरूमा गोली प्रहार गरिएपछि  सयौं उडान रद्द भएका छन् ।

कानूनविपरीतका गतिविधि गर्ने व्यक्तिलाई राज्यका निकायले पक्राउ गरेर कारबाहीका दायरामा ल्याउनु सामान्य घटना हो । कानूनी राज्यमा यस्ता गतिविधि नियन्त्रण गर्नु राज्यको प्रमुख दायित्व हुन जान्छ । तर विडम्बना, एक कुख्यात तस्कर नियन्त्रणमा लिएको घटनाले विश्वकै वैभवशाली मुलुक अमेरिकाको छिमेकी मेक्सिको केही दिनदेखि हिंसाको आगोमा दन्दनी दन्किरहेको छ ।

मेक्सिको प्रहरीले कुख्यात लागूऔषध तस्कर एल चापोका छोरा ओभिडियो गुस्मान लोपेजलाई नियन्त्रणमा लिएपछि त्यहाँ केही दिनदेखि हिंसा भड्किरहेको छ । छ महिनाको गुप्तचर अपरेशनपछि बुधबार बिहान कुलियाकानबाट उनलाई पक्राउ गरिएको थियो ।

अनौठो के भने, तस्करका गिरोह आफ्ना नाइके पक्राउपछि छिन्नभिन्न हुनुपर्नेमा सडकमा निस्किएर प्रदर्शन गरिरहेका छन् । यसरी प्रदर्शनमा उत्रिएकाको माग  ओभिडियोलाई तत्काल रिहा गर्नुपर्ने छ ।

ओभिडियो पक्राउको विरोधमा गिरोहका सदस्यले सिनालोआ प्रान्तमा प्रदर्शन गरिरहेको बिबिसीले जनाएको छ । विभिन्न स्थानमा गिरोहका सदस्यले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनीसमेत गरेका छन् । परिस्थिति नियन्त्रणमा लिन खटिएका सुरक्षाकर्मीमध्ये कम्तीमा तीन जनाको ज्यान गएको छ । बिबिसीका अनुसार, जारी हिंसामा हिंसामा हालसम्म कम्तीमा २९ जनाको मृत्यु भएको छ ।

सिनालोआ प्रान्तको एक विमानस्थलमा पनि आक्रमण भएको छ । उडानमा रहेका विमानहरूमा गोली प्रहार गरिएपछि  सयौं उडान रद्द भएका छन् ।

को हुन् ओभिडियो ?

सिनालोआ ड्रग कार्टेल संसारको सबैभन्दा ठूलो लागूऔषध तस्करी नेटवर्क हो। जसको कमाण्डर हुन् एल चापो ।

तर एल चापो गुस्मान अहिले अमेरिकी जेलमा आजीवन कारावास सजाय भोगिरहेका छन्। उनी सन् २०१९ मा लागूऔषध ओसारपसार र मनी लान्ड्रिङमा दोषी ठहर भएका थिए।

ओभिडियो उनका छोरा हुन् र उनी उमेरले ३२ वर्षका भए । आफ्नो बाबुको गलत पद्चाप पछ्याउन आइपुगेका ओभिडियो पारिवारिक धन्धा धानिरहेका छन् । उनी अपराधीहरूमाझ ‘द माउस’ को नामले चिनिन्छन् ।

ओभिडियोलाई सन् २०१९ मा पनि पक्राउ गरिएको थियो। तर हिंसा यसरी भड्कियो कि राज्य उनलाई रिहा गर्न बाध्य भयो । उनको पक्राउमा अहिले फेरि उसैगरी हिंसा फैलिरहेको छ ।

अमेरिकी गृह विभागका अनुसार ओभिडियोले एक ह्विसलब्रोलर, एक प्रख्यात लागूऔषध तस्कर र एक प्रसिद्ध मेक्सिकन गीतकारको हत्या योजना बनाएका थिए।आफ्नो विवाह समारोहमा गीत गाइदिन गरेको आग्रह इन्कार गरेको रिष साँध्न उनले ती गीतकारको हत्या योजना बनाएको बताइन्छ ।

मेक्सिकोका सुरक्षा एजेन्सीहरूले अमेरिकी अधिकारीहरूको सहयोगमा भिडियोको निगरानी गरिरहेका थिए।

सुरक्षा एजेन्टहरूले उनी र उनको गिरोहको बारेमा ड्रग कार्टेल प्रभावित क्षेत्रहरूबाट ठोस जानकारी लिने प्रयास गरेका थिए । ओभिडियो त्यहाँ रहेको जानकारीपछि पक्राउ गर्न कारबाही थालिएकोमा उनी गत बुधबार राति कुलियाकानबाट पक्राउ परेका थिए । कुलियाकाना त्यही सहर हो जहाँबाट उनी तीन वर्षअघि पनि पक्राउ परेका थिए ।

उनलाई नियन्त्रणमा लिन सुरक्षा बलहरूले उत्तरपश्चिमी मेक्सिकोको यो शहरमा रातभर छापा मारेका थिए, त्यसपछि ओभिडियोलाई बिहानै पक्राउ गरिएको थियो।

ओभिडियोलाई पक्राउ गर्न अपरेसनका क्रममा एक सुरक्षा अधिकारीको मृत्यु भएको थियो भने कम्तिमा ३१ जना घाइते भएका थिए।

रक्षा मन्त्रीका अनुसार ओभिडियोलाई पक्राउ गर्दा उनी सशस्त्र व्यक्तिहरूको समूहसँग ट्रकमा यात्रा गरिरहेका थिए।

ओभिडियोका सहयोगीहरूले घटनास्थलमा तैनाथ मेक्सिकोको नेसनल गार्डमाथि पनि गोली चलाएको थियो।

भोलिपल्ट मेक्सिकोका रक्षामन्त्री क्रेसेन्सियो सान्डाभोलले पत्रकार सम्मेलनमा उनको गिरफ्तारीबारे जानकारी दिएका थिए ।

गिरफ्तारीपछि ओभिडियोलाई मेक्सिको सिटी लगियो जहाँबाट उनलाई अल्टिप्लानो अधिकतम सुरक्षा जेलमा पठाइएको थियो। यसअघि उनलाई न्यायाधीशसमक्ष पेश गरिएको थियो ।

रक्षामन्त्रीले पत्रकार सम्मेलनमा ओभिडियो गुस्मानमाथि के अभियोग लगाइएको बताएनन् । उनले ओभिडियोलाई अमेरिका सुपुर्दगी गर्ने वा नगर्ने पनि बताएका छैनन्।

अमेरिकाले सन् २०१९ देखि ओभिडियोलाई सुपुर्दगी गर्न माग गर्दै आएको छ । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले तत्कालै यस्तो नहुने बताए पनि सुपुर्दगीका लागि कानुनी प्रक्रिया अवलम्बन गरिने बताए ।

हिंसाको चक्र

ओभिडियोको पक्राउपछि उनको गिरोहका सदस्यहरूले हिंसात्मक कार्य गर्न गरिरहेका छन् ।

रक्षामन्त्रीले कम्तीमा १९ ठाउँमा आक्रमण र सशस्त्र नाकाबन्दी भएको पुष्टि गरेका छन् ।

हिंसाको चरण शुक्रबार पनि जारी छ र प्रहरीले स्थिति नियन्त्रण गर्ने प्रयास गरिरहेको छ।

कुलियाकानको प्रशासनले मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ ताकि उनीहरू जारी हिंसाको चपेटामा नपरुन् ।

सिनालोआमा, सार्वजनिक सुरक्षा सचिवले एक विज्ञप्ति जारी गर्दै शहरका विभिन्न स्थानहरूमा नाकाबन्दी गरिएकाले अत्यावश्यकबाहेकका काममा घरबाहिर नजान आग्रह गरेका छन् ।

गाडीमा आगजनी र गोली चलाएको भिडियो सामाजिक सञ्जालमा शेयर भइरहेको छ ।

हिंसात्मक कारबाहीपछि कुलियाकान र मजाट्लान विमानस्थल बन्द गरिएको छ। एयरलाइन एरोमेक्सिकोका अधिकारीहरूले उनीहरूको एउटा विमानमा गोली चलेको पुष्टि गरेका छन्।

कुलियाकानमा वायुसेनाको एउटा विमान पनि आगलागी भएको छ ।

विमानमा सवार एक यात्रुले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘विमान अवतरण गर्न रनवेमा दौडिरहेको थियो जब हामीले बन्दुकको आवाज सुन्यौं तब हामी भाग्नका लागि विमानको भुइँमा खस्यौं।’

सिनालोआमाका सरकारी कर्मचारीलाई बिदा दिइएको छ भने विद्यालय तथा कलेजहरूको पठनपाठन पनि स्थगित गरिएको छ ।

अमेरिकाको चेतावनी

मेक्सिकोस्थित अमेरिकी दूतावासले पनि देशमा रहेका आफ्ना नागरिकलाई सचेत गराएको छ ।

गुसम्यान अमेरिकामा खोजी रहेका छन् र उसलाई पक्राउ गर्ने वा जानकारी दिनेलाई ५० मिलियन डलर पुरस्कारको प्रस्ताव गरिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको मेक्सिको भ्रमणको केही दिनअघि गुसम्यानको गिरफ्तारी भएको थियो ।

अमेरिकी गृह मन्त्रालयका अनुसार ओभिडियो र उनका भाइ ख्वाक्विनको निगरानीमा हाल सिनालोआ प्रान्तमा ११ वटा ड्रग प्रयोगशालाहरू चलिरहेका छन्। यी प्रयोगशालामा मासिक १३ सयदेखि २२ सय किलोसम्म ड्रग उत्पादन हुने गरेको छ ।

यसै वर्षको डिसेम्बरमा अमेरिकाले ओभिडियो लोपेज र उनका तीन भाइको बारेमा जानकारी दिनेलाई पुरस्कार दिने घोषणा गरेको थियो ।

यो लागुऔषध तस्करी सञ्जालमा ओभिडियो बाहेक उनका भाइको पनि भूमिका रहेको र कमाण्डमा रहेको विश्वास गरिएको छ ।

एजेन्सीको सहयोगमा