NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

‘पर्खाल नाघेर छिमेकी पसे’

कांग्रेस सभापति शेरबहादुर देउवाले केही दिनयता बढाएको सक्रियाप्रति एमाले अध्यक्ष केपी ओली सशंकित बनेका छन् । माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने भूमिका खेलेर पाँचदलीय गठबन्धन भत्काउन सफल ओली सरकारले विश्वासको मत लिनुपूर्व कांग्रेस र भारतप्रति आक्रामक देखिएका छन् । सरकारलाई विश्वासको मत पुग्न नदिने खेलमा कांग्रेस र भारत लागेको ओलीको प्रस्टै संकेत छ ।

कांग्रेस सभापति देउवाले अचानक बढाएको सक्रियता, कांग्रेसकै प्रवक्ताको अभिव्यक्ति र सरकारलाई विश्वासको मत दिने–नदिने विषयमा त्यसैदिन निर्णय लिने कांग्रेस संसदीय दलको बैठकको निर्णयपछि ओली तर्सिएका हुन् । कांग्रेसले पहिलो चरणमा प्रधानमन्त्री दिन आनकानी गरेपछि एमालेसहितका दलहरूसँगको समर्थनमा प्रचण्ड १० पुसमा प्रधानमन्त्री भएका थिए । प्रचण्ड नेतृत्वको सरकारले २६ पुसमा संसद्मा विश्वासको मत लिने कार्यसूची तय भइसकेको छ ।

शनिबार राजधानीमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले कांग्रेस विश्वासको मत लिनबाट असफल बनाउन लागिरहेको आरोप लगाए । एमाले सांसदहरूको अभिमुखीकरण कार्यक्रममा ओलीले सत्तारूढ दलका नेतालाई प्रधानमन्त्रीको लोभ र विभिन्न प्रलोभन देखाएर कांग्रेसले सरकारलाई विश्वासको मतमा असफल बनाउने प्रयास गरिरहेको ओलीको दाबी छ । तर, प्रयास सफल नहुने ओलीको भनाइ थियो ।

‘देउवाजीले ‘वि विल कमब्याक’ भन्नुभएको छ । त्यसको संकेत उहाँहरूले २६ पुसमा सरकार ढाल्छौँ र आउँछौँ भन्नुभएको हो । विभिन्न दलका नेतालाई प्रधानमन्त्री बनाउने कुरा गरिरहनुभएको छ,’ ओलीले भने, ‘संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेको अवस्थामा अरू विकल्पमा जाँदैन । ७६ (३) अनुसारको प्रक्रियामा त ठूलो दलको नेता प्रधानमन्त्री हुन्छ । अहिलेको राजनीतिमा संविधानको धारा नपढेको र नबुझेको अध्यक्ष वा सभापति छैनन् । अब उहाँहरूको पाँच वर्षको धन्दा सरकारको विरोध र ढाल्नमा रहनेछ ।’

२० पुसमा पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले देउवाको भनाइ उद्धृत गर्दै भनेको विषयमाथि ओलीले टिप्पणी गरेका थिए । ‘हामी विश्वासमा गठबन्धन अगाडि जान्छ भनेर त्यसमै केन्द्रित भयौँ । सधैँ हामीले आकलन गरेजस्तो हुँदैन । त्यस्तैखाले परिस्थिति आयो, तर यसबाट हामी विचलित हुने कुरा छैन । ‘वि विल कमब्याक’ । हामी फेरि ‘स्ट्रोङ’ भएर अगाडि बढ्छौँ,’ देउवाको भनाइ उद्धृत गर्दै महतले भनेका थिए ।

ओलीको टिप्पणीपछि कांग्रेस प्रवक्ता महतले कांग्रेस चाँडै सत्तामा फर्कने दोहोर्‍याएका छन् । ‘वि विल कमब्याक भन्नुको अर्थ आज नै आँउछौँ भन्ने होइन । ढिलोचाँडो हामी सत्तामा त आउँछौँ नै । समयसीमा नै त अहिले भन्न सक्ने विषय होइन, त्यो हाम्रो सक्रियतामा पनि भर पर्छ,’ महतले शनिबार नयाँ पत्रिकासँग भने, ‘सरकारले विश्वासकोे मत पाउने–नपाउने त राष्ट्रपतिलाई बहुमतको हस्ताक्षर बुझाएका पार्टीमा भर पर्छ । त्यसमा हाम्रो कुनै भूमिका रहनेछैन, हामीले कुनै खेल खेलेका छैनौँ ।’