NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

चितवन राष्ट्रिय निकुञ्ज  क्षेत्रमा आजदेखि जलपक्षी गणना सुरु

भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आजदेखि जलपक्षी गणना सुरु गरिएको छ । रा

ष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा शनिबारदेखि जलपक्षी गणना सुरु गरेको हो ।

चितवनमा आजदेखि गणना सुरु भएको वर्ड एजुकेसन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु विडारीले जानकारी दिनुभयो । पूर्वी चितवनमा वर्ड एजुकेसन सोसाइटी सौराहाको नेतृत्वमा र पश्चिम चितवनमा वर्ड एजुकेशन सोसाइटी मेघौलीको नेतृत्वमा चरा गणना हुनेछ ।

सोसाइटीका अध्यक्ष टीकाराम गिरीका अनुसार आज बिहान सौराहामा संक्षिप्त कार्यक्रमको आयोजना गरी आठ ठाउँबाट गणना थालिएको छ । लोथरदेखि जिन्दगानीघाटसम्म हिँडेर एउटा टोलीले गणना सुरु गरेको छ ।

जिन्दगानीघाटबाट हिँडेर र डुङ्गा चढेर राप्तीघाटसम्म दोस्रो टोलीले गणना गरिरहेको छ । राप्ती घाटबाट कसरासम्म र लमोरताल एवं लामितालसम्म तेस्रो टोलीले गणना गरिरहेको उहाँले जानकारी दिए । सो टोलीले डुङ्गा र गाडीबाट गणना गर्दैछन् ।

चौँथो टोलीले बुढीराप्तीबाट झोलुङ्गे पुलको तल खोरसोरसम्म गणना गरिरहेको छ । पाँचौँ टोलीले जम्कौली सामुदायिक वनको ढुङ्ग्रेखोला क्षेत्रमा गणना गरिरहेको छ । छैठौँ टोलीले पुरानो पदमपुर क्षेत्रको पटना ताल क्षेत्रमा गणना गरिरहेको छ ।

सातौँ टोलीले गाडीबाट बीस हजारी र वरपरका तालमा गणना गरिरहेको छ । आठौँ टोलीले भण्डाराको मत्स्य विकास केन्द्र क्षेत्रमा गणना गरिरहेको गिरीले जानकारी दिए । सोमबार दिव्यनगर र माडीको रिउ खोला क्षेत्रमा गणना गरिने छ ।

गणनामा बर्ड एजुकेसन सोसाइटीका सदस्य, प्राध्यापक, कलेजका विद्यार्थी, गाईड, फोटोग्राफर, पत्रकार, व्यवसायी सहभागी छन् । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार आठ सय ९२ प्रजातिका चरा छन् । त्यसमा दुई सय चरा पानीमा आश्रित छन् । चितवनमा मात्रै छ सय ५२ प्रजातिका चरा छन् ।