NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

प्रचण्ड सरकारलाई विश्वासको मत दिएको कांग्रेस सत्तापक्ष कि प्रतिपक्ष ?

काठमाडौं । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा राखेको विश्वासको मतको पक्षमा विपक्षी कांग्रेससमेत उभिएपछि प्रतिनिधिसभा प्रतिपक्षबिहिन भएको छ । गणतन्त्र स्थापनापछि विपक्षी दलकोसमेत अभूतपूर्व समर्थन पाउने प्रचण्ड पहिलो प्रधानमन्त्री हुन् । २७५ सदस्यीय प्रतिनिधिसभा सदस्यमध्ये मतदान प्रक्रियामा २७० सदस्य सहभागी भए ।

तीमध्ये कांग्रेस, नेकपा एस, लोसपासहित २६८ जना सदस्यले प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गरे भने विपक्षमा जम्मा दुइ मत खसेको थियो । १० पुसमा एमालेसहित सात दलको समर्थनमा उनी प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीले विश्वासको मतसमेत पाउन नसक्ने दाबी गरिएको अवस्थामा प्रचण्डले ९९ प्रतिशत मत ल्याएर संभवत् संसदीय इतिहासमै नयाँ रेकर्ड राखे ।
सरकारको कामकारवाहीसम्बन्धमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने कांग्रेस सत्तापक्षको गोटी बन्न पुगेपछि राजनीतिक, संवैधानिक र कानुनका जानकारहरूले गम्भीर प्रश्न उठाएका छन् । संसदमा बहुमत सदस्यको समर्थन रहेका प्रधानमन्त्रीलाई विपक्षीले विश्वासको मत दिनुको उचित तर्क कांग्रेस नेतृत्वले अहिलेसम्म दिन सकेको छैन ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रोष्टममा पुगेका विपक्षी दलका नेता शेरबहादुर देउवाले ओलीले संविधान, संसद र व्यवस्थामाथि धम्किपूर्ण भाषा प्रयोग गरेकाले लोकतन्त्रको रक्षाका लागि आफूले प्रचण्डलाई समर्थन गरेको काइते तर्क दिएका छन् ।
‘ओलीजीले फेरी संसद विघटन गर्ने धम्किपूर्ण भाषा प्रयोग गर्नुभयो । अघिल्लोपटक संविधानविपरित उहाँले दुई–दुईपटक संसद विघटन गर्दा प्रचण्डजी र हामी एउटै किक्तामा उभिएकाले संविधान, संसद र लोकतन्त्र रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौं’, देउवाको तर्क छ । तर देउवाको तर्क हास्यस्पद भएको जिकिर गर्दै संविधानविद् डा. भीमार्जुन आर्याचले सरकारपक्षको लाइनमा उभिनु प्रतिपक्षीको धर्म नभएको टिप्पणी गरे ।

‘संसदीय प्रणालीमा प्रतिपक्ष दल परेको बेला वैकल्पिक सरकार दिन सक्ने र सरकारलाई संसदप्रति जवाफदेही बनाउन सक्ने सामर्थ राखेको हुन्छ’, उनले भने, ‘विश्वासको मतको सरकारी लाइनमा उभिनु उसको धर्म होइन । कांग्रेसले प्रतिपक्षका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गर्याे ।’

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएकोमा सत्तारुढ मुख्य घटक एमालेले शंका व्यक्त गरेको छ । आफ्नै प्रस्तावमा प्रधानमन्त्री भएका प्रचण्डलाई विश्वासको मत दिने देउवाको निर्णयप्रति सशंकित हुँदै एमाले अध्यक्ष केपी ओलीले कुचसित मनसाय रहेको भए त्यसको परिणाम राम्रो नहुने चेतावनी दिए ।

‘सफा उदेश्यले सरकारलाई विश्वासको मत दिएको भए ठीक छ । तर समर्थनमा षड्यन्त्र लुकेको भए कांग्रेसको योजना सफल हुँदैन’, देउवालाई चेतावनी दिँदै ओलीले भने, ‘गोप्यरुपमा कांग्रेसले खोलामा ढोक्सा थापेको हो भने माछा पर्नेवाला छैन । कांग्रेसको योजना असफल पारिन्छ ।’

वरिष्ठ अधिवक्तासमेत रहेका आचार्यले सरकारलाई समर्थन गरेकाले कांग्रेसलाई प्रतिपक्ष दल भन्न नमिल्ने तर्क गरे ।

‘सरकारपनि विश्वासको मत दिने अनि प्रतिपक्षमा पनि बस्छु भन्नु हास्यस्पद कुरा हो । लोकतन्त्र र संसदीय अभ्यासमा एउटै दल सत्तापक्ष र प्रतिपक्ष हुन सक्दैन । सरकारलाई विश्वासको मत दिइसकेपछि कांग्रेस सत्तापक्ष मानिन्छ । अहिले प्रतिपक्षको भूमिका राजमो र नेमकिपालेमात्र निर्वाह गरेका छन् ।’

सरकारलाई समर्थन गरेकोप्रति खेद प्रकट गर्दै पूर्वसांसद तथा अधिवक्ता राधेश्याम अधिकारीले कांग्रेसलाई प्रतिपक्षी दल भन्न नमिल्ने तर्क गरे ।

‘राजनीतिक सिद्धान्तको कुरा गर्ने हो भने प्रतिपक्षी दलले सरकारलाई समर्थन गर्दैन । सरकारलाई विश्वासको मत दिएको दल प्रतिपक्षी हुन्न सक्दैन ।’

नेपालको राजनीति संविधान र कानुनअनुसार चल्नुपर्नेमा राजनीतिक हस्तपक्षेप हावी भएको भन्दै अधिकारीले चिन्ता व्यक्त गरे ।
संविधान तथा कानुनविदको भनाइप्रति असहमति जनाउँदै वाम विश्लेषक श्याम श्रेष्ठले सरकारको समर्थन गर्दैमा सत्तापक्ष नहुने तर्क गरे ।
सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेका उदाहरण विश्वमा धेरै छन् । हामीमा सरकारलाई समर्थन गरेपछि प्रतिपक्ष हुन सक्दैन भन्ने हौवा पिटिएका छन् त्यो सत्य नभएको श्रेष्ठको भनाइ छ ।

‘कांग्रेसले सरकारलाई समर्थन गरेको मात्र हो, सरकारमा गएको होइन । प्रतिपक्षले विश्वासको मत दिएको विश्वमा धेरै उदाहरण छन् । सरकारलाई समर्थन वा विश्वासको मत दिँदैमा प्रतिपक्षबिहिन भयो भन्नु राजनीतिक हौवामात्र हो’, उनले भने ।

सरकारलाई समर्थन गर्ने विषयमा कांग्रेसभित्रै विवाद रहेको छ । मंगलबार बिहान यसै विषयमा निर्णय लिन देउवाले आफ्नो निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका थिए । बैठकमा सभापति देउवाले प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावको प्रतिवाद गर्दै महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले असहमति जनाएका थिए । प्रधानमन्त्री प्रचण्डसँग सुविधाजनक बहुमत रहेकाले कांग्रेस सशक्त प्रतिपक्षमा बस्नुपर्ने तर्क गरेका थिए ।

सरकारलाई समर्थन गर्ने विषयमा संस्थापन पक्ष र इतरपक्षबीच विवाद भएपछि देउवाले कार्यसम्पादन बैठक बोलाएका थिए । केन्द्रीय समिति बैठकबाट निर्णय अनुमोदन गर्नेगरी देउवाको प्रस्ताव पारित गरेको थियो । त्यसलाई संसदीय दलको बैठकले पारित गरेको थियो ।
बैठकपछि पार्टीको निर्णय सुनाउँदै प्रवक्ता डा. प्रकाशशरण महतले ओलीले संविधान, संसद र लोकतन्त्रमाथि चुनौती दिएकाले संविधान रक्षाका लागि सरकारलाई समर्थन गरेको जिकिर गरे । गलत ठाउँमा पुग्न लागेको राजनीतिक कोर्स करेक्सन गर्न पनि कांग्रेसले सरकारलाई समर्थन गरेको महतले जिकिर गरे ।

कांग्रेसले आफ्नो निर्णयको बचाउ गरेपनि सत्तासमीकरण बदल्ने हिसाबले प्रचण्ड र देउवाबीच भद्र सहमति भएको हुनसक्ने एमालेले आशंका गरेको छ । १७ महिना लामो सत्तासमीकरण तोडेर एमालेसँग समीकरण बनाएका प्रचण्डलाई एकाएक समर्थन गरेकोमा एमालेका शीर्ष नेताहरू झस्किएका छन् । एमालेसहित सात दलका १६९ सांसदले समर्थन रहेका प्रधानमन्त्रीलाई कांग्रेस, नेकपा एस र लोसपासमेतको समर्थन देखिएपछि राजनीतिक वृत्तमा निकै हलचल भएको छ ।

जुनसुकै बाध्यता देखाएर कांग्रेसले सरकारलाई विश्वासको मत दिएको भएपनि यस्तो कार्यले सरकार निरंकुश हुने र लोकतन्त्र खतरामा पर्ने संविधानविदहरूले चिन्ता व्यक्त गरेका छन् ।