NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सौराहा क्षेत्रमा मृत भेटिए पाटेबाघ र गैँडा

चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत चम्पा सालघारी क्षेत्रको नारायणी नदीको बगरमा भाले पाटेबाघ मृत फेला परेको छ । अन्दाजी १५ वर्षको बाघ प्राकृतिक कारणले मरेको उनले जानकारी दिए ।

यस आर्थिक वर्षमा बाघ मरेको यो पहिलो हो । यस्तै बुधबार नै निकुञ्जको सौराहा क्षेत्रअन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जमा लिङ्ग पहिचान हुन नसकेको गैँडा मृत फेला परेको छ ।

अन्दाजी पाँच वर्षको गैँडा मृत फेला परेको तिवारीले जानकारी दिए । बाघको आक्रमणबाट गैँडा मरेको उनले जानकारी दिए । गैँडाको खाग र खुर सुरक्षित रहेको छ । यससँगै चालु आवमा प्राकृति कारणबाट आठ गैँडा मरेका छन् । यस वर्ष चोरी सिकारीबाट गैँडा मर्न पाएका छैनन् ।