NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निःशुल्क सेवा पाउँदै लक्षित बिरामी


तुलसीपुर । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लक्षित बिरामीले निःशुल्क उपचार पाउने गरेका छन् ।

प्रतिष्ठानका स्रोत व्यक्ति दीपक केसीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा आठ सय ७४ बिरामीले त्यस्तो सेवा लिएका छन् । उनका अनुसार सामाजिक सेवा एकाइबाट गरिब एक सय २४, अपाङ्ग २१, असहाय आठ, महिला स्वास्थ्य स्वयंसेविका छ तथा थुनुवा ४४ गरी दुई सय तीन जनाले सेवा लिएका छन् ।

त्यस्तै जेरियाट्रिक सेवा लिने ज्येष्ठ नागरिक पाँच सय चार रहेका छन् । त्यसमा ६० देखि ९२ वर्षसम्मका महिला दुई सय ७४ र पुरुष दुई सय ३० रहेका छन् ।

त्यस्तै सिकलसेल एनिमियाका एक सय १४ जनाले निःशुल्क औषधि खाइरहेका छन् । सिकलसेलका बिरामीलाई एक लाखसम्मको औषधि उपलब्ध गराउने नीतिअनुरुप प्रतिष्ठानबाट ६१ महिला र ५३ पुरुषले निःशुल्करुपमा औषधि पाइरहेका छन् ।

त्यस्तै ५३ जनाले डायलाइसिस सेवा निःशुल्क लिइरहेका छन् । चालु आर्थिक वर्षको साउनसम्म केही बिरामीलाई आंशिक मात्रै छुट दिने गरिएको भए पनि भदौदेखि भने पूर्णरुपमा नै छुट दिने गरिएको केसीले बताए । वडाको सिफारिसका आधारमा प्रतिष्ठानले जाँच बुझ गरेर निःशुल्क उपचारको व्यवस्था गर्ने गरेको उनको भनाइ छ । ‘गरिब, विपन्न, अशक्त, असहाय वर्गलाई निःशुल्क उपचार दिने प्रतिष्ठानको नीति हो’, उनले भने, ‘त्यहीअनुसार बिरामीलाई सेवा दिने गरेका छौँ ।’

मानसिक उपचार सेवा

प्रतिष्ठानमा मानसिक उपचारका लागि ‘एमइसिटी’ सेवा थपिएको छ । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार पहिले मानसिक रोगका बिरामीलाई करेन्ट लगाएर उपचार गरिन्थ्यो तर, अब यो सेवा सुरु भएसँगै बिरामीलाई दुखाइ नै नहुने गरेर उपचार हुन्छ । सो उपचार बिरामीलाई बेहोस बनाएर मानसिक रोग विशेषज्ञ, एनेस्थेसियोलोजिष्टको निगरानीमा उपचार हुन्छ ।

मानसिक रोगीलाई उपचार गर्ने पद्धति औषधि र भौतिक उपचार पद्धति भएकाले पीडा नदिएर उपचार गर्ने विधिको थालनी गरिएको हो । प्रतिष्ठानमा मनोचिकित्सा सेवा २०७७ माघदेखि सुरु भएको थियो । असोज ३० गतेदेखि प्रतिष्ठानमा १० शय्यासहितको मनोचिकित्सा विभाग बनाएर उपचार थालिएको छ ।