NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बढुवा रोकेर गृहमन्त्री लामिछानेले किन गरे प्रहरीको सरुवा ?

काठमाडौं । नेपाल प्रहरीमा महिनौंदेखि एआइजीका पद रिक्त छन् । रिक्त पदमा बढुवाका लागि डिआइजीहरुले शक्तिकेन्द्र धाइरहेका बेला बिहीबार एक्कासी उच्च प्रहरी अधिकारीको सरुवा भयो । डिआइजीको सरुवासँगै तत्कालका लागि एआइजी बढुवा रोकिएको छ ।

बढुवा रोकेर गृहमन्त्री रवि लामिछानेले बढुवाका आकांक्षी डिआइजीहरुलाई प्रदेशमा खटाएका छन् । प्रदेश नम्बर १ मा श्यामलाल ज्ञवाली, मधेसमा बसन्तबहादुर कुँवर, बागमतीमा दिपक थापा, गण्डकीमा बुद्धिराज गुरुङ, लुम्बिनीमा टेक प्रसाद राई, कर्णालीमा भिम ढकाल र सुदुरपश्चिममा अशोक सिंहलाई पठाइएको छ । उनीहरु सबै एआइजी बढुवाका आकांक्षी थिए । अब, दुई महिनापछि मात्र एआइजी बढुवा हुने जानकारी प्रहरी महानिरीक्षकले डिआइजीहरुलाई गराएका छन् ।

एआइजी बढुवा तत्काल जटिल हुने अवस्था भएकाले पनि रोकिएको स्रोत बताउँछ । रिक्त पद चार मात्र छ, आकांक्षी डेढ दर्जन छन् । अहिले बढुवा हुनेमध्येबाट भावी आइजिपी चयन हुने भएकाले बढुवा पेचिलो बनेको हो । अहिले मन्त्रिपरिषद् पनि गठन भइनसकेकाले बढुवा रोकेर सरुवा गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

अर्काेतर्फ प्रदेशमा कार्यरत डिआइजीहरूको ध्यान शान्ति सुरक्षा भन्दा व्यक्तिगत स्वार्थमा भएको उजुरी बढेको थियो । ‘प्रदेशमा शान्ति सुरक्षा सुधार्न पनि बढुवाका आकांक्षीहरुलाई प्रदेश खटाएर प्रतिस्पर्धामा उतारिएको हो,’ गृहमन्त्री लामिछाने निकट एक अधिकारीले भने । डिआइजी सरुवामा यसपटक तुलनात्मक रुपमा निष्पक्ष देखिएको र कार्यदक्षताअनुसार नै अवसर दिइएको चर्चा प्रहरीमा छ ।

अब फागुनमा एआइजी बढुवा गरिने बताइएको छ । फागुनसम्म एआइजीका पाँच पद रिक्त हुनेछन् । चैतको १० गते प्रहरी नेतृत्व परिवर्तन हुँदैछ । त्यसकारण भावी प्रहरी नेतृत्वको लेखाजोखा चैतमै मात्र हुने देखिन्छ । डिआइजीबाटै सिधैं आइजिपी बढुवा हुनसक्ने अवस्था समेत आकलन गरिएको छ ।

एआइजी बढुवा रोकिदा त्यसको असर भने तल्लो तहसम्म परेको छ । अर्काेतर्फ प्रहरीमा नेतृत्व विकास प्रणाली पनि अवरुद्ध हुने अवस्था छ ।