NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

दुर्घटनाले चुडेको फूलहरू

१०:३० को उडान भर्न यती एयरलाइन्सका पाइलट कमल केसी बिहान ९ बजे नै घरबाट निस्किएका थिए । घरमा बिदा भएर निस्किने वेला कान्छा छोरा र श्रीमती शिलुलाई भने भनेका थिए– रिटर्न उडान छिट्टै छ, चाँडै नै घर आइपुग्छु । तर, उनको वचन अधुरै बन्यो ।

पोखरामै जन्मिएका कमलका श्रीमती र कान्छा छोरा काठमाडौंको बुढानीलकण्ठ इटालीटारस्थित घरमा बस्छन् । जेठा छोरा बैंककमा छन् । श्रीमान् दुर्घटनामा परेको खबरले श्रीमती शिलु विक्षिप्त छिन् । उनलाई छिमेकीले सम्हालिरहेका छन् ।

केसी नयाँ पाइलट थिएनन्, नेपाली आकाशमा उडान भरेको ३१ वर्षको अनुभव थियो । तर, पाका पाइलटको हैसियतले अप्ठ्यारा विमानस्थलमा उडान भर्न जिम्मा दिइने उनलाई आफ्नै अनुभवले पनि झुक्यायो । यतीमा उनी प्रशिक्षक पाइलटको जिम्मेवारीमा थिए । केसीले सन् १९८८ मा अमेरिकाको टेक्सासबाट प्रोफेसनल पाइलट कोर्स गरेका थिए । कोर्स सकिएलगत्तै उनी नेपाल फर्किएर १९८९ मा नेपाल एयरलाइन्सको ट्विनअटर जहाजबाट उडान भर्न सुरु गरे ।

सन् २००७ मा नेपाल एयरलाइन्स छाडेर यती एयरलाइन्समा उडान भर्न थाले । यती एयरलाइन्समार्फत उनले नेपालका लगभग सबैजसो हवाई रुटमा उडान भरेका छन् । त्यस्तै, आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाजमा पाइलट थिइन् ४५ वर्षीया अञ्जु खतिवडा । १६ वर्षअघि उनले यती एयरकै जहाज दुर्घटनामै श्रीमान् पाइलट दीपक पोखरेललाई गुमाएकी थिइन् । ७ असार ०६३ मा सुर्खेतबाट जुम्लाका लागि उडेको जहाज बाटोमै दुर्घटना भएको थियो । उक्त जहाजमा को–पाइलट थिए पोखरेल । दुर्घटनामा चालक दलसहित नौजनाको मृत्यु भएको थियो ।

श्रीमान्को मृत्युपछि घरपरिवारले नर्सिङ पढ्न जोड लगाएको थियो । तर, अञ्जुले श्रीमान्का अधुरा सपना पूरा गर्न पाइलट नै बन्ने अठोट लिइन् । पाइलट अध्ययनकै लागि अमेरिका गइन् । चारवर्षे अध्ययनपछि नेपाल फर्किइन् र यती एयरलाइन्समै सेवा सुरु गरिन् । अञ्जुले उडाउँदै गरेको जहाज यतीले गुण एयरलाई बेच्यो ।

जहाज किनेसँगै गुणले अञ्जुलाई पनि जागिरको अफर गर्‍यो । तर, उनले यतीमै सेवालाई निरन्तरता दिने निर्णय लिइन् । दुर्भाग्य, आइतबार क्याप्टेनका लागि अन्तिम प्रशिक्षण उडानमा थिइन् । उनका सहकर्मी यतीका पाइलट रोशन सापकोटा भन्छन्, ‘अञ्जुका श्रीमान् पहिला यतीकै को–पाइलट थिए । जहाँ दुर्घटनामा उनी बिते । पछि अञ्जुले पनि पाइलट बनेर यतीमै जागिर सुरु गरिन् । तर, श्रीमान् बितेको १६ वर्षपछि उनी पनि दुर्घटनामा परिन् ।’ श्रीमान्को मृत्युपछि उनले दोस्रो विवाह गरेकी थिइन् । उनका पोखरेलतर्फबाट २२ वर्षकी छोरी र अहिलेको श्रीमान्बाट सात वर्षका छोरा छन् ।

अञ्जुका वृद्ध बुबाआमा विराटनगरमा छन् । ६७ वर्षका बुबा गोविन्द खतिवडा र ६५ वर्षीया आमा इन्दिरा खतिवडा मात्र नभएर आफन्तसमेत कोही बोल्न सक्ने अवस्थामा छैनन् । गाउँ शोकमा डुबेको छ । बुबा गोविन्द सरकारका पूर्वकर्मचारी हुन् । उनले लामो समय राजस्व विभागमा रहेर काम गरेका थिए ।

रुचिको क्षेत्रमा करिअर सुरु गर्दागर्दै अस्ताइन् एयर होस्टेस ओसिन

करिब पाँच महिनाअगाडि यती एयरलाइन्समा आबद्ध भएकी थिइन् ओसिन आलेमगर । चितवनको माडी नगरपालिका– ८ दक्षिण अयोध्यापुरीकी उनले यतीबाटै जागिरे करिअर थालेकी थिइन् । बाबु भारतीय आर्मीका रिटायर्ड हुन् । छोरीकै रुचिकै कारण परिवारले उनलाई एयर होस्टेस पढाएको थियो । ओसिन जागिरे भएपछि परिवार केही समयदेखि काठमाडौं बस्दै आएको छ । दुर्घटनाको खबरपछि ओसिनका बुबा पोखरा पुगेका छन् । ओसिनका बहिनी र भाइ छन् ।

पोखरा पुगेर परिवारलाई फोन गर्ने सिर्जनाको वचन आकाशमै समाप्त

रुपन्देही सैनामैना– ५ सेरुवाकी सिर्जना हुङचुङ (सिर्जु थापा) आइतबार दुर्घटनामा परेको विमानमा एयर होस्टेस थिइन् । पोखराको उडानबारे उनले परिवारसँग शनिबार नै कुराकानी गरेकी थिइन् । परिवारका सदस्यलाई उद्धृत गर्दै स्थानीय रवन्तबहादुर सिँजालीका अनुसार आइतबार पोखरा पुगेपछि फोन गर्ने वचन दिएकी थिइन् । तर, सिर्जनाको वचन आकाशमै समाप्त भयो । छोरी दुर्घटनामा परेको खबर पाएदेखि आमा खिमिसरा थापा सम्हालिन सकेकी छैनन् । माघेसंक्रान्तिको बटुक बनाएर सिर्जनालाई पाहुर पठाउने तयारी हुँदै थियो । उनकी जेठी भाउजू पाहुर बोकेर जाने तयारी गरिरहँदा दुर्घटनाको खबर आयो । २९ वर्षीया सिर्जना ०७२ देखि यती एयरलाइन्समा थिइन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।