NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ माघ १६ गते

नेपालको सार्वजनिक प्रशासनमा नेतृत्वसम्बन्धी समस्या र समाधानका उपायहरू

काठमाडौं। जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा सहसचिव डा.टोकराज पाण्डेले नेपालको सार्वजनिक प्रशासनमा नेतृत्व सम्बन्धी समस्या र समाधानका उपायबारे प्रश्नमा समाधान सुझाउनुभएको छ ।

१) नेतृत्वका शैलीहरूबारे उल्लेख गर्दै नेपालको सार्वजनिक प्रशासनमा नेतृत्व सम्बन्धी समस्या र समाधानका उपायहररू समेत लेख्नुहोस् ।(२+४+४)

“नेतृत्व एक विशेष क्षमता”

अनुयायीहरुलाई प्रभावमा पार्न सक्ने गुण या कलालाई नेतृत्व भनिन्छ । संगठनात्मक लक्ष्य हासिल गर्नका लागि समूहलाई उत्प्रेरित गर्ने, मार्ग निर्देश गर्ने, नियन्त्रण गर्ने, समन्वय गर्ने, सञ्चार गर्ने तथा सदस्यहरुलाई प्रभाव पार्न सक्ने भिजन, मिसन एवं दृष्टिकोणसहितको गुण एवं क्षमता नेतृत्व हो । विषयवस्तुको राम्रो ज्ञान, असल सञ्चार सिप, निर्णय क्षमता र निष्पक्षता आदि नेतृत्वमा हुनपर्ने गुणहररू हुन् ।
नेतृत्वका शैलीहरु निम्न छन् ।

  • कुलिनतन्त्रिय नेतृत्व शैली : शक्ति आफैंमा राख्न चाहने, नियन्त्रणमुखि, निर्देशनमुखि, निणर्यको केन्द्रिकरणमा जोड दिने नेतृत्व शैलीलाई कुलिनतन्त्रिय नेतृत्व भनिन्छ ।
  • प्रजातान्त्रिक वा सहभागितामुलक नेतृत्व शैली: अधिनस्तको व्यवस्थापनमा सहभागितामा जोड, निर्णय निर्माणमा सहभागिता, विचारको सम्मान , नियन्त्रण मुखिभन्दा अन्तरक्रियामा जोड दिने नेतृत्व शैली प्रजातान्त्रिक वा सहभागितामुलक नेतृत्व शैली हो ।
  • खुल्ला वा उदार नेतृत्व शैली : अनुयायिलाई कामगर्न पुर्ण स्वतन्त्रता प्रदानगर्ने , स्वनियन्त्रण , स्वउत्पे्ररणा , स्वव्यवस्थापनमा जोड दिने नेतृत्व शैली यस्तो नेतृत्व शैली हो ।
  •  नोकरशाही नेतृत्व शैली : नियमकानुनको अधिनस्तभई नेतृत्वगर्ने तथा कानुनले दिएको अधिकारको प्रयोग गरेर नेतृत्व गर्ने शैली नोकरशाही नेतृत्व शैली हो ।
  • प्रभावी नेतृत्व शैली : आफूमा निहित विशेष गुण तथाक्षमताका कारण प्रभावपार्ने शैलीलाई प्रभावी नेतृत्व शैली भनिन्छ ।
  • विशेषज्ञ नेतृत्व शैली : नेतृत्वमा निहित प्राविधिक तथा विशेषज्ञ क्षमताको कारण अधिनस्थलाई निर्देशन वा नियन्त्रण गर्न सक्ने क्षमता विशेषज्ञ नेतृत्व शैली हो।

नेपालको सार्वजनिक व्यवस्थापनमा नेतृत्व सम्बन्धी समस्याहररू :

  • वंश परम्परामा आधारित नेतृत्व रहेको ।
  • अनुयायीलाई प्रभाव पार्न सक्ने क्षमता नभएपनि नेता वन्ने वा मान्नुपर्ने प्रवृत्ति रहेको ।
  •  नेता र नेतृत्वलाई समानार्थि रुपमा हेर्ने गरिएको ।
  •  सार्वजनिक प्रशासनमा पद प्राप्त हुनेवित्तिकै नेता हुने, क्षमता नहेरिएको ।
  •  भिजन, मिसनएवं रणनितिक दृष्टिकोणको अभाव रहेको ।
  •  नेतृत्वमा सहभागितामुलकभन्दा बढि नियन्त्रण एवं निर्देशनमुखि शैली र आत्मकेन्द्रित व्यवहार रहेकोे ।
  •  नेतृत्वकर्तामा तटस्थताको अभाव एवं चुनौति एवं समस्या पन्छाउने प्रवृति रहेको ।
  •  परिवर्तन व्यवस्थापनभन्दा परम्परागत शैलीको निरन्तरतामा जोड दिने गरेको ।
  •  स्रोत साधनको पर्याप्तता नहुँदा नेतृत्व शिथिल र कमजोर हुने गरेको ।
  •  नेतृत्वकर्तामा जवाफदेहिता एवं उत्तर दायित्वको कमी हुनु ।
  •  पद प्राप्तिका लागि स्पष्ट मापदण्ड भन्दा पनि चाप्लुसि चाकडी गर्ने प्रवृत्ति रहेको ।

नेतृत्व सम्वन्धी समस्या समाधानका उपायहररू :

  • सहभागितामुलक नेतृत्व शैलीको अबलम्वन गर्ने ।
  • राजनितिक र प्रशासनिक नेतृत्वको क्षेत्राधिकार निश्चित गर्ने ।
  • नेताले भाषण दिने मात्र होइन कार्य गर्ने संस्कारको समेत विकास गर्ने ।
  •  नेता र अनुयायीबिचको मनोवैज्ञानिक डर र दहकसलाई कम गर्ने ।
  •  उच्च व्यवस्थापकहरुलाई समय समयमा तालिम तथा विकासको अवसर प्रदान गर्ने ।
  •  अधिकार प्रत्यायोजन तथा उत्तराधिकार योजनाको व्यवहारिक कार्यान्वयनमा जोड दिने ।
  •  नेतृत्वमा व्यवसायिकता, नैतिकता, सदाचारिता, इमान्दारिताको विकास गर्ने ।
  •  राजनिति र प्रशासनबीच सौहार्दपूर्ण सम्बन्ध विकास गर्ने ।
  •  नेतृत्वमा वार्ता सिप, सञ्चार सिप, व्यवस्थापकीय सिप, परिवर्तन व्यवस्थापन सिपजस्ता क्षमता विकास गर्न तालिमको व्यवस्था गर्ने ।
  •  पदले होइन विज्ञता र क्षमताले अगुवाई गर्ने पद्धतिको विकास गर्ने ।
  •  प्रतिक्रियात्मक होइन अग्रसक्रिय र दूरदर्शि नेतृत्व विकासतर्फ जोड दिने ।

निष्कर्षः

असल र प्रभावशाली नेतृत्वविनाको सार्वजनिक व्यवस्थापन अप्रभावकारी हुन्छ । नेपालको सार्वजनिक क्षेत्रमा प्रभावी नेतृत्वको खडेरी परेको वेला स्वेच्छाचारी नभई सहभागितामुलक, तदर्थ नभइ रुपान्तरणकारी, केन्द्रिकृत नभई विकेन्द्रिकृत,एकल नभई बहुल, आलोपालो प्रणाली युक्त, सुचना तथा सञ्चार प्रविधिमैत्री एवं निरन्तर विकासशील नेतृत्वमा जोड दिनु नै आजको आवश्यकता हो ।

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना nepalwatch2020@gmail.com मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)

लोक सेवा परीक्षा तयारीसँग सम्बन्धित यसअघि प्रकाशिन सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

 

ताजा अपडेट

नेपालवाच विशेष