NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

मन्त्रालय भागबण्डा टुंगियो, कुन दलबाट को बन्दैछन् मन्त्री ?

काठमाडौं । प्रतिनिधिसभाको अंकगणितलाई आधार बनाउँदै सत्तारूढ साझेदार दलहरूले मन्त्रालय बाँडफाँट टुंग्याएका छन् । बाँडफाँटबारे आ–आफ्नो पार्टीमा आन्तरिक छलफल र सरकारलाई समर्थन गरेका अन्य दलहरूलाई पनि समेट्ने कोसिस कायम राख्न उनीहरूले टुंग्याएका मन्त्रालयबारे औपचारिक जानकारी भने गराएका छैनन् ।

मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीको शपथ गराउने सत्तासाझेदार दलहरूको तयारी छ । नेताहरूका अनुसार त्यसअघि मन्त्रालय बाँडफाँटमा सामान्य हेरफेरको सम्भावना छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ पुसमा पहिलोपटक आठ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

को–को बन्दै छन् मन्त्री ?

एमाले : प्रत्यक्षमा दुईपटक चुनाव जितेकालाई एमालेले मन्त्री बनाउने भएको छ । एमालेबाट पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, झापाका एलपी साँवा, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारीमध्येबाट मन्त्री बनाउने तयारी छ । त्यस्तै, दुई राज्यमन्त्रीमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्तामध्ये एकजना पठाइने स्रोतले जनाएको छ । एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनिसकेका छन् । त्यस्तै, दामोदर भण्डारी, राजेन्द्र राई र ज्वालाकुमारी साह मन्त्री बनिसकेका छन् । उनीहरूको विभाग तोक्न बाँकी छ ।

माओवादी : सुदन किराँती, रेखा शर्मा, अमनलाल मोदीलगायत चर्चामा छन् । माओवादीबाट उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिसकेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी : शिशिर खनाललाई शिक्षा र डिपी अर्याललाई श्रममन्त्री बनाउने तयारी छ । तर, श्रममा विराजभक्त श्रेष्ठले पनि दाबी गर्दै आएका छन् । एक राज्यमन्त्रीमा भने डा. तोसिमा कार्की या सोविता गौतममध्येबाट बनाउने सोचमा अध्यक्ष लामिछाने छन् ।

राप्रपा : उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाएको छ । स्रोतका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्रीसहित नेतृत्व गर्नेछन् । प्रत्यक्ष निर्वाचितहरूलाई प्राथमिकता दिने तयारी छ । सहरी विकास मन्त्रीमा ध्रुवबहादुर प्रधान र राज्यमन्त्रीमा दीपकबहादुर सिंह पठाउने तयारी छ । खेलकुद मन्त्रालयमा धवलशमशेर राणा, दीपक बोहरा र विक्रम पाण्डेमध्येबाट बनाउने स्रोतले जनाएको छ ।