NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते
राजनीति

सत्तासाझेदार दलमा फाटो, जसपा सरकारमा नजाने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको लचकता र अग्रसरतामा निर्माण भएको एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपालगायत दल सम्मिलित गठबन्धनमा दरार उत्पन्न भएको छ । गठबन्धनले तीन साता मात्रै पार गरेको अवस्थामा जनता समाजवादी पार्टी असन्तुष्ट बनेको हो । मन्त्रालय भागबण्डामा असहमति जनाउँदै उसले सरकारमा समेत सहभागी नहुने निर्णय सार्वजनिक गरेको छ ।

सत्तासाझेदार दलहरूको प्रवृत्ति ठीक नभएकाले आफ्नो दलले सरकारमा सहभागी नहुने निर्णय गरेको सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबार बताए ।

सोमबार बसेको सत्तासाझेदार दलको बैठकको सहभागी यादव बीचमै उठेर हिँडेका थिए ।

‘साझेदार दलहरूको प्रवृत्ति ठीक लागेन, पहिल्यै सहमति गरेर बचेकुचेको भाग जसपालाई दिन खोजियो, त्यसैले मंगलबारको मन्त्रिपरिषद् विस्तारमा हाम्रो सहभागिता हुँदैन,’ बैठकपछि यादवले भने ।

किन बिच्कियो जसपा ?

प्रतिनिधिसभामा जसपाको १२ सिट छ । स्रोतका अनुसार, जसपाले तीन मन्त्रालय र उपराष्ट्रपतिमा दाबी गर्दै आइरहेको छ । तर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई मन्त्रालय लिएर सरकारमा जान जसपालाई आग्रह गरेका थिए । १४ सिट रहेको राप्रपालाई रोजेअनुसारकै तीन मन्त्रालय दिएर आफ्नो पार्टीलाई दुईमा सीमित गराउन खोजेपछि उपेन्द्र रुष्ट बनेको बताइन्छ । सोमबारको बैठकमा यस्तै प्रस्ताव दोहोर्याएपछि यादव बैठक छाडेर बीचमै बाहिरिएका थिए ।

सरकारले दलको आवश्यकता महसुस गरेको अवस्थामा छलफल गर्न खुला रहे पनि अब जसपा आफ्नै बाटोमा हिँड्ने उनले बताए । सरकारलाई दिएको समर्थन कायम रहने या फिर्ता हुने भन्नेबारे भने जसपाले प्रष्ट पारेको छैन ।