NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

विजयमाथि विजय गरेकी भगवती ५१ प्रतिशत महिला मुद्दाको नेतृत्व गर्दै

काठमाडौं । कांग्रेसका प्रभावशाली नेता तथा पूर्वउप्रधानमन्त्री विजय गच्छदारलाई पराजित गरेर चर्चामा आएकी एमालेकी चर्चित नेता भगवती चौधरी मन्त्री बन्न सफल भएकी छिन् ।

प्रचण्ड नेतृत्वको सरकारमा योपटक एमालेले चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाएको छ । २०७० र २०७४ को निर्वाचनमा मन्त्री चौधरी गच्छादारसँग झिनो मतले पराजित भएकी थिइन् ।

मंसिर ४ मा भएको निर्वाचनमा सुनसरी–३ बाट चौधरीले पुरानै प्रतिद्वन्द्वी गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजित गरेकी थिइन् । वाम–लोकतान्त्रिक गठबन्धन विरुद्ध एक्लै चुनावमा होमिएकी चौधरीले ४० हजार ७८८ मत ल्याइ विजयी भएकी थिइन् ।

उनका प्रतिस्पर्धी गच्छदारले ३५ हजार ६०० मत ल्याएका थिए । गच्छदार ती नै व्यक्ति हुन्, जसले २०४८ यता सबै निर्वाचन जित्दै आएका थिए । योपटक ७ औं पटक संसद छिर्ने गच्छदारको यात्रा मन्त्री चौधरीले ब्रेक गरेकी हुन् ।

चौधरी २०७० सालको संविधानसभा निर्वाचनमा पनि विजयकुमार गच्छदारसँग ३६२ मतको अन्तरल पराजित भएकी थिइन् । पराजित भएपछि उनले त्यतिबेला गच्छदारले राज्य संयन्त्रको प्रयोग गरी एकलौटी मत गनेर विजयी भएको आरोप लगाएकी थिइन् ।

२०७४ को निर्वाचनमा सोही क्षेत्रबाट गच्छदारसँग उनी ३२१ मतान्तरले पराजित भएकी  थिइन् । २०२८ साल वैशाख २ मा दुहवी–२, सुनसरीमा जन्मेकी चौधरी एमालेको केन्द्रीय सदस्य, सुनसरीका सहइन्चार्ज तथा श्रम तथा रोजगार विभागका उपप्रमुख हुन् ।

सवारी दुर्घटनामा श्रीमान् दिनेश चौधरीको मृत्यु भएपछि उनी एकल महिलाको रुपमा राजनीतिक संघर्ष जारी राखेकी छिन् ।

२०४८ सालमा नेकपा एमालेको पार्टी सदस्य प्राप्त गर्दै वाम राजनीतिमा होमिएकी हुन् ।  २०६४ मा नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्य,०७० मा अञ्चल समन्वय कमिटी सदस्य । नेकपा एमालेको नवौं र २०७८ को चितवनमा सम्पन्न १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी हुन् । उनी अखिल महिला संघको केन्द्रीय सचिवालय सदस्यसमेत हुन् । समाजशास्त्र र व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरेकी चौधरी अहिले पीएडी अध्ययन जारी राखेकी छिन् । उनी आफ्नो गाउँबाट उच्च शिक्षा अध्ययन गर्ने पहिलो महिला हुन् ।

राजनीतिबाहेक समाजसेवामा पनि उत्तिकै सक्रिय रहेकी उनी २०७२ सालमा गएको  महाभूकम्पका पीडितहरूलाई सहयोग गरी चर्चामा आएकी थिइन् । महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलीकी चौधरी ५१ प्रतिशत महिलाका एजेण्डामाथि सम्बोधन गर्ने ठाउँमा  पुगेकी छिन् । यसमा मन्त्री चौधारी कति सफल हुनेछिन्, त्यसका लागि केही  समय कुर्नुपर्ने हुन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष