NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

गृहमन्त्री रविलाई दीपशिखाको प्रश्न : आफ्नै नागरिकता छानविन भइरहँदा गृहमन्त्री बन्न लाज लाग्दैन ?

काठमाडौं । माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य रामप्रसाद सापकोटा दीपशिखाले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कडा टिप्पणी गरेका छन् ।

रविमाथि नागरिकता र राहदानी सम्बन्धमा राज्यबाट छानविन भईरहँदा गृहमन्त्री भएको, मेनपावर व्यवसायीलाई श्रममन्त्री बनाएको भन्दै उनले आक्रोस पोखेका छन् ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा २० सिट जितेको रास्वपा प्रचण्ड नेतृत्वको सरकारमा उनी उप्रधानमन्त्री तथा गृहमन्त्री भएका छन् । श्रम तथा रोजगारमन्त्रीमा डोलप्रसाद अर्याल नियुक्त भएका छन् । रास्वपाबाट शिक्षामन्त्रीमा शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीलाई बनाएका छन् ।

विवरण ढाँटेर निर्वाचन आयोगमा दल दर्ता गरेको तथा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको आरोप लगाउँदै कानुन व्यवसायीले रविमाथि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

उनीमाथि परेको मुद्दामा गृहप्रशासनले छानविन गरिरहेको अवस्थामा त्यसलाई प्रभावित पार्न रविले गृहमन्त्रालय लिएको आरोप छ । यसैगरी दीपशिखाले ठेकेदार विक्रम पाण्डेलाई मन्त्री बनाएको भन्दै असन्तुष्ट पोखेका छन् ।

सिक्टा सिँचाई आयोजनामा करोडौं भ्रष्टाचार गरेको आरोप खेपेका पाण्डे प्रचण्ड सरकारमा सहरी विकासमन्त्री छन् । ‘नयाँ गर्छु भन्ने दल, आफ्नै नागरिकता छानविन भईरहँदा गृहमन्त्री, मेनपावर व्यावसयीलाई श्रममन्त्री, ठेकेदारलाई शहरी विकास मन्त्रालय लाज मान्नुपर्दैन ?’, उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।