NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

माटोको उर्वरा शक्तिमा ह्रास

घोराही । दाङमा रासायनिक मलको प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास ल्याएको छ । माटो परीक्षणबिना खेती गर्ने र जथाभावीरूपमा रासायनिक मल प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएको कृषिविज्ञ बताउँछन् ।

मलको जथाभावी प्रयोगले नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा माटोमा कम हुँदैगएको र उत्पादनमा ह्रास ल्याउने काम गरिरहेको कृषि ज्ञान केन्द्र घोराहीका कृषि अधिकृत देवा महरा बताउँछन् । कृषि उत्पादन बढाउने उद्देश्यले किसानले युरिया, डिएपीलगायतका रासायनिक मल अत्यधिक प्रयोग गर्ने र यसले बर्सेनि माटोको उर्वरा शक्तिमा कमी ल्याउने काम गरिरहेको उनको भनाइ छ ।

किसानले धान, मकै, तोरी, मसुरो, गहुँलगायतका बालीको उत्पादन बढाउनका लागि युरिया, डिएपीलगायत मलसँगै किटनाशक औषधि बढी प्रयोग गर्ने गरेका छन् । किसानले प्राङ्गारिक मलका रूपमा गाईवस्तुको गोबरसँगै केही उद्योगले उत्पादन गरेको प्राङ्गारिक मल प्रयोग गर्ने गरे पनि अधिकांशले रासायनिक मल प्रयोग गर्ने गरेका छन् ।

यसबाट माटोलाई आवश्यक पर्ने तत्व पूर्ति हुन नसक्दा उर्वरा शक्ति क्षीण बन्दै गएको अधिकृत महरा बताउँछन् । ‘अधिकांश किसानले रासायनिक मल प्रयोग गर्ने गरेका छन्’, उनले भने, ‘माटोको उर्वरा शक्तिमा बर्सेनि कमी आइरहेको छ ।’ यसअघि जिल्ला कृषि विकास कार्यालय भएका बखत २०५७ सालमा दाङमा माटो परीक्षणका लागि मिनील्याब स्थापना भएको थियो ।

ल्याब स्थापनासँगै कार्यालयमा माटोविज्ञको दरबन्दी थियो । तर सङ्घीयता आएपछि कर्मचारी समायोजनका क्रममा माटोविज्ञको दरबन्दी कटौती गरेपछि कृषि ज्ञान केन्द्र माटोविज्ञविहीन छ । बर्सेनि हुने माटो परीक्षणमा समेत कमी आएको अधिकृत महराको भनाइ छ ।

‘कृषि विकास समिति हुँदा माटो परीक्षणका लागि प्रत्येक वर्ष शिविर सञ्चालन हुन्थ्यो’, उनले भने, ‘अहिले कोही किसानले कार्यालयमा माटो ल्याएर आएमात्रै परीक्षण हुन्छ । माटो परीक्षणका लागि गाउँमा शिविर सञ्चालन हुनसकेका छैनन् ।’

उनका अनुसार कार्यालयमा माटोविज्ञको व्यवस्था हुँदा वार्षिक करिब १२ सयसम्मको माटो परीक्षण हुने गरे पनि पछिल्लो समय वार्षिकरूपमा एक सय ५० जनासम्म किसानले ल्याएको माटो परीक्षण हुने गरेको छ । जिल्लामा माटो परीक्षण गरेर कृषि व्यवसाय गर्नेभन्दा पनि कृषि व्यवसायमा समस्या देखिएपछि मात्रै परीक्षणका लागि आउने किसान बढी छन् ।

‘माटो परीक्षण गरेर कृषि व्यवसाय गर्नुपर्छ भन्ने किसानमा ज्ञान छैन’, महराले भने ।