NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ किन पठाइँदैछ फ्रान्स ?

काठमाडौं । माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि ‘ब्ल्याक बक्स’ अन्तर्राष्ट्रिय सुविधा सम्पन्न ल्यावमा पठाइने भएको छ । फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनीसमक्ष प्राविधिक विश्लेषणका लागि पठाउन लागिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले विज्ञसहित ब्ल्याक बक्स फ्रान्स पठाउन लागिएको जानकारी दिए । “ब्ल्याक बक्स परीक्षणका लागि अर्को हप्ता जहाज निर्माता कम्पनी फ्रान्स पठाउँदैछौँ । दुर्घटनाको प्रभावकारी अनुसन्धानका लागि यसले सहयोग पुग्ने विश्वास गरेका छौँ”, उनले भने ।

दुर्घटनापछि हुने अनुसन्धानको स्वतन्त्र विश्लेषणका लागि विमान निर्माता कम्पनीसमक्ष नै ब्ल्याक बक्स पठाउन लागिएको उनको भनाइ छ । “ब्ल्याक बक्सबाट तथ्याङ्क निकाल्ने मात्रै कुरा हुँदैन”, उनले भने, “सामान्य अनुसन्धान र दुर्घटनापछि गरिने अनुसन्धान फरक पर्ने भएकाले प्राविधिक विश्लेषणका लागि फ्रान्स पठाउन लागिएको हो”, उनले भने ।

उनका अनुसार ब्ल्याक बक्ससहित दुर्घटना जाँच आयोगका विज्ञ टोली पनि फ्रान्स जानेछन् । आयोगले हालसम्म दुर्घटनाको स्थलगत अनुगमन, आवश्यक कागजात सङ्कलन तथा विज्ञसँग छलफल गरिसकेको छ ।

विमान दुर्घटनापछि एटिआर विमान निर्माता कम्पनीबाट आएको नौ सदस्यीय टोली प्रारम्भिक अध्ययन गरी फर्किसकेको छ । सहसचिव लामिछानेले आयोगको सुपरीवेक्षणमा रहेर उक्त टोलीले आवश्यक अध्ययन गरेको र आयोगसँग समन्वय गर्दै र आवश्यक परे फेरि नेपाल आउने गरी स्वदेश फर्किएको जानकारी दिए ।

ब्ल्याक बक्स विमान दुर्घटना भएको भोलिपल्ट माघ २ गते बिहान भेटिएको थियो । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ ।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कलसाइन ९–एएनसी (एटीआर–७२–२१२)विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १८ मिटर पर सेती नदीको खोँचमा दुर्घटना भएको थियो । उक्त विमानमा सवार चालक दलका सदस्यसहित ७२ मध्ये ७१ जनाको निधन भइसकेको छ भने बाँकी एकजनाको खोजी जारी छ ।

पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार मृतक ७१ जनामध्ये निधन भएको र थप एक जनाको शव पहिचानका लागि डिएनए परीक्षण गर्न लागिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दुर्घटना जाँच आयोगले तीव्रताका साथ काम गरिरहेको बताए ।

सरकारले विमान दुर्घटनाबारे जाँच गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेको आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बाँस्तोला (अवकाशप्राप्त उपरथि) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन् । आयोगको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पदबहालीसँगै दुर्घटनाबारे चासो व्यक्त गर्दै जाँच आयोगलाई छिटो र प्रभावकारी काम गर्न निर्देशन दिएका थिए । उनले मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन सबैखाले सुधार गर्ने विश्वास व्यक्त गरेका थिए ।

मन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री किराँतीले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकार र प्राविधिक टोलीसँग छलफल गरी हवाई सुरक्षा अभिवृद्धिका साथै पूर्वाधार विकासको कामलाई चुस्त र प्रभावकारी पार्न निर्देशन दिएका थिए । उनले दुर्घटना जाँच आयोगका पदाधिकारसँग पनि छलफल गरी कामलाई प्रभावकारी बनाउन आग्रह गरिसकेका छन्।

हवाई दुर्घटनाको इतिहास

प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार हालसम्म मुलुकमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी एक सय चारवटा विमान दुर्घटना भएका छन् । यी दुर्घटनामा नौ सयभन्दा बढी मानवीय क्षति भएको छ । मानवीय क्षतिको हिसाबले पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो हो ।

तुलनात्मकरूपमा सुरक्षित भनिने एटिआर सिरिजका विमान दुर्घटना पर्नु आफैंमा दुर्भाग्य भएको वायुसेवा सञ्चालक सङ्घका प्रतिनिधि एवं सिता एयरका आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यको भनाइ छ ।

नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । यस्तै सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो ।

सन १९९१ जुन ९ मा नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो । काठमाडौँबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको मृत्यु भएको थियो ।

यस्तै १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा एक सय १३ जनाको ज्यान गएको थियो । सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा हुँदा एक सय ५७ जनाले ज्यान गुमाएका थिए । सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए ।

सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटना भए पनि मानवीय क्षति भने भएन । सन् २०१८ को सेप्टेम्बरमा गोर्खाबाट काठमाडौँ आउँदै गरेको अल्टिट्युड एयरको हेलिकोप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त हुँदा एक जापानी पर्यटकसहित छ जनाको मृत्यु भएको थियो ।

सन् २०१८ मार्चमा बङ्गलादेशबाट नेपाल आएको युएस बाङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो ।

सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकोप्टरमा गएर ठोकिँदा तीन जनाको मृत्यु भएको थियो । यस्तै सन् २०१९ को फेब्रुअरीमा एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।

सन् २०२२ को मे २७ मा यती एयरलाइन्सको भगिनी संस्था तारा एयरको ट्वीनअटर विमान मुस्ताङमा दुर्घटनामा परी २२ जनाको ज्यान गएको थियो ।