NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएको विषयमा छलफल गर्छौं : अर्थमन्त्री

काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएका विषयमा छलफल गर्ने बताएका छन् ।

सोमबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक  प्रतिनिधि मण्डलसँग भेटघाटको अवसरमा सो बताएका हुन् ।

अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरणगरी सोही अनुरुप नीतिहरुको निर्माण भईरहेको गुनासो गर्दे सवारी साधनहरुलाई सो बर्गिकरणबाट हटाउन आग्रह गरे ।  सोही सन्दर्भमा अर्थमन्त्रीबाट सो प्रतिक्रिया आएको नाडाले जनाएको छ ।

सो भेटघाट तथा छलफलमा अध्यक्ष थापाले सरकारले आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्था हटाएको, त्यसैगरी सरकारले ८ महिना देखि नीजि प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र भ्यानको आयातमा लगाएको प्रतिवन्ध पनि केही समय अघि फुकुवा गरेकोमा धन्यवाद व्यक्त गरे ।

सरकारको हालको यो निर्णयहरुले अटोमोवाइल लगायतका व्यवसायहरुमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने बताए ।

त्यसैगरी अध्यक्ष थापाले नेपाल राष्ट्र बैंकका अन्य केही नीतिहरुका कारण अटोमोवाइल व्यवसायीहरु आफनो व्यवसायबाटै पलायन हुनु पर्ने अवस्था विद्यमान नै रहेको जानकारी गराए । ‘अहिले लाखौको संख्यामा रहेका कर्मचारी तथा मजदुरहरुले आफनो रोजगारीसमेत गुमाईरहेको मात्र छैन नेपालका भन्सार नाकाहरुमा ६ महिना देखि करिव ३००० सवारी साधनहरुको भन्सार जाँचपास समेत हुन नसकेको अवस्था छ,’ उनले भने ।

सो छलफलमा अध्यक्ष थापाले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने बताए । सुस्ताएको अटोमोवाइल व्यवसायलाई गतिशिल बनाउन बैकहरुबाट निजी सवारी साधनको Hire Purchase Loan प्रवाह गर्ने प्रकियामा हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरिनु पर्ने  र चालु पुंजी कर्जासम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुंदाहरुको संशोधनका लागि समेत अनुरोध गरे ।

त्यसैगरी सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले नेपालमा भारतसंगको व्यापारलाई सहज बनाउन र भारतिय लगानीलाई आकर्षित गर्न Indian Economic Zone स्थापना गरिनु पर्ने,  नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग जस्तै अटोमोवाइल स्पेयर पार्टस उद्योगको प्रशस्त संभावना देखिएकोले यस क्षेत्रमा लगानी आकर्षित गर्न र यस्तो उद्योग खोल्नका लागि प्रोत्साहित गर्न कृषि र पर्यटन उद्योगहरुलाई जस्तै सुविधा प्रदान गर्ने व्यवस्थाका लागि समेत आग्रह गरे ।

सो छलफलमा महासचिव उप्रेतीले काठमाडैं उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको स्थापनाका लागि समेत आग्रह गरे । छलफलको अन्त्यमा माननीय उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेलले नाडाबाट प्रस्तुत मागहरुका सम्बन्धमा सरकार गम्भिर रहेको र ती मागहरुको सम्बन्धमा पहल समेत भईरहेको जानकारी दिए । उक्त भेटघाट तथा छलफलमा कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्धय निराकार श्रेष्ठ, आकाश गोल्छा, बरदान बस्नेत, र सोहन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।