NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

भोजपुरको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात, खेतीबाट किसान लाभान्वित

भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि भोजपुरका किसान उत्साहित बनेका छन् । केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो ।

२/४ वर्षअघिसम्म प्रतिमन ८ हजारदेखि १० हजार मूल्यमा बिक्री गर्न बाध्य भएका किसान यस वर्ष प्रतिमन ३० हजार रुपैयाँमा घरबाटै बिक्री भएपछि उत्साहित भएका छन् । भोजपुरका अधिकांश स्थानीयले चिराइतोको व्यावसायिकरूपमा खेती गर्दै आएका छन् । गत वर्षदेखि मूल्यमा वृद्धि भएपछि खेतीप्रति आकर्षण बढेको भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका गुणराज राउतले बताए । विगतमा निराशा थपिएको भए पनि मूल्य बढ्न थालेपछि चिराइतो कृषक उत्साहित भएको राउतको भनाइ छ ।

‘चिराइतोको मूल्यमा वृद्धि भएपछि उत्साह थपिएको छ, उनले भने, विगतको मूल्य हेर्दा निराशा थियो । प्रतिमन ७र८ हजार रुपैयाँमा पनि बेचियो । यस वर्ष घरबाटै प्रतिमन ३० हजार रुपैयाँका दरले बिक्री भयो ।’ बीस रोपानी क्षेत्रमा खेती गरेको ठाउँमा आफूले १० मन उत्पादन गरेको उनको भनाइ छ । बजारमा त्यो भन्दा राम्रो मूल्य भए पनि किसानले भने सोचेजस्तो मूल्य अझै नपाएको उनको भनाइ छ । किसानले तलका व्यापारीले लगाउने मूल्य थाहा नपाउने हुँदा बिचौलियाले ठग्ने गरेको उनको भनाइ छ ।

किसानलाई वास्तविक मूल्य थाहा पाउन कठिन छ, उनले भने, ‘बिचौलियाको भरमा हामीले बिक्री गर्नुपर्ने अवस्था छ । झापाको विर्तामोड पाउने मूल्यको हामीलाई जानकारी हुँदैन । भोजपुरका ठेकेदारले भनेको आधारमा बिक्री गर्नुपर्छ । सरकारले मूल्य निर्धारण तथा बजारीकरणमा भूमिका खेलिदिए वास्तविक किसानलाई राहत पुग्ने थियो ।’

टेम्केमैयुङ गाउँपालिका–१ का करिब एक सय बढी कृषकले चिराइतोको व्यवसायिक खेती गरिरहेको राउतले जानकारी दिए । भोजपुरको सुम्लिखा, खम्बुखा, पाङखाङ, डाँडागाउँ सावाका किसान व्यावसायिक खेतीमा लागेका छन् । आफ्नो क्षेत्रबाट तीन सय मन बढी चिराइतो उत्पादन भएको कृषक राउतले जानकारी दिए । भोजपुरका किसानले आलु, मकै फल्ने बारीमा व्यावसायिक चिराइताको खेती गरिरहेका छन् ।

लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले भोजपुरमा चिराइतोको पर्याप्त उत्पादन हुने गरेको छ । चिराइतोबाट आलु, मकैभन्दा राम्रो आम्दानी हुने स्थानीय कृषक देवेन्द्र राउतले बताए । भोजपुरका एक जना कृषकले औषतमा २० देखि ५० मन (९४० केजीको एक मन) सम्म उत्पादन गर्ने उनले बताए । यस वर्ष साढे उन्नाइस मन चिराइलो बिक्री गरेको राउतको भनाइ छ । ‘मैले यो वर्ष ५ लाख रुपैयाँ बढी आम्दानी गरेँ, उनले भने, मैले सुरुमा प्रतिमन २६ हजार रुपैयाँले बेचेँ, अहिले प्रतिमन ३० हजार रुपैयाँमा बिक्री भइरहेको छ ।’

चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न सकिने कृषक प्रेम बस्नेतले बताए । आलु, मकैबाट ५० हजार आम्दानी हुने बारीमा चिराइतो खेती गरे ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म आम्दानी लिन सकिने उनको भनाइ छ । चिराइतोले आलु, मकैभन्दा अलि ढिलो लाभ दिने गर्दछ । तालिम तथा आवश्यक ज्ञान पाएमा अझ राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ ।

‘पराम्परागतरूपमा खेती गरिरहेका छौँ, बस्नेतले भने, यसलाई आधुनिक तरिकाले खेती गर्न सके अझ बढी आम्दानी लिन सकिन्छ । हालसम्म राज्यबाट खासै सहयोग छैन । यसको खेतीसम्बन्धी तालिम तथा प्राविधिक सहयोग मात्र पाएमा पनि अझ सहज हुने थियो ।’ एकपटक सङ्कलन गरेर बेचेपछि सानो बिरुवा उत्पादनयोग्य हुन समय लाग्ने किसानको भनाइ छ ।

बर्सेनि आम्दानी लिन फरक–फरक जमिनमा खेती गर्नुपर्ने टेम्केमैयुङ गाउँपालिका–५ मझौलेकी गोमादेवी विष्टले बताइन् । अहिले विभिन्न गाउँबस्तीमा व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेको उनले बताइन् । ‘दुई–चार वर्षअघिसम्म चिराइतोले उचित मूल्य पाएको थिएन, उनले भनिन्, पछिल्लो समयमा मूल्यमा वृद्धि भएको छ । अहिले घरबाटै प्रतिमन ३० हजार रुपैयाँमा बिक्री भइरहेको छ ।’

‘एघार रोपनी बारीमा चिराइतो खेती गरिरहेकी छु, उनले भने, ‘विगतमा मूल्य घटेका कारण उत्साह कम थियो । तर गत वर्षबाट केही भए पनि मूल्य बढेको छ । मूल्य नपाउँदा प्रतिमन ६ हजार रुपैयाँमा बिक्री गरेको अनुभव पनि छ । अहिले पाएको मूल्य त धेरै राम्रो हो ।’

यस वर्ष भोजपुरबाट ५० हजार २ सय ६२ किलो चिराइतो बाहिर गएको तथ्याङ्क रहेको जिल्ला वन कार्यालय भोजपुरले जनाएको छ । बाहिर लैजाने क्रम जारी रहेकाले यो परिमाण अझ वृद्धि हुनसक्ने कार्यालयले जनाएको छ । भोजपुरको करिब एक हजार हेक्टर क्षेत्रमा चिराइतो खेती गरिन्छ । भोजपुरको अधिकांश माथिल्लो भेगमा यसको व्यावसायिक खेती हुने गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौँछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि मुख्य पकेट क्षेत्र हुन् ।

१ हजार ५ सय मिटरदेखि २ हजार ५ सय मिटरसम्मको उचाइमा चिराइतो राम्रोसँग फस्टाउने गर्दछ । ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायतमा चिराइतो प्रयोग गर्न सकिन्छ । पात, डाँठ, जरालगायत भाग नै प्रयोग गर्न सकिन्छ । भोजपुरको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने व्यवसायी बताउँछन् ।