NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

पाँच बैंकलाई ५० लाखका दरले जरिवाना

काठमाडौं ।  शंकास्पद पैसा ओसारपसार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका अछामका पृथ्वीबहादुर शाह, उनका निकटतम व्यक्ति र संस्थाको रोक्का रहेको बैंक खाताबाट रकम निकाल्न अनुमति दिने र खाता खोल्ने ५ वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ ।

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा जारी निर्देशन उल्लंघन गरेको आरोपमा कुमारी बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, साविकको बैंक अफ काठमान्डू (बीओके) र नबिल बैंकलाई कारबाही गरिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

गत पुस ५ मा बसेको सञ्चालक समिति बैठकले ती बैंकहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा राष्ट्र बैंकले गत पुस २२ मा सम्बन्धित बैंकलाई कारबाहीको पत्र थमाएको थियो । रोक्का खाताबाट पैसा निकाल्न दिने कुमारी, प्राइम, प्रभु र बीओकेलाई सचेतसहित प्रत्येकलाई ५० लाख रुपैयाँका दरले नगद जरिवाना गरिएको छ ।

खाता रोक्का राख्न निर्देशन दिएपछि पनि नयाँ खाता खोलेको भन्दै नबिल बैंकलाई भने राष्ट्र बैंकले सचेत मात्र गराएको छ । ‘खाता रोक्का गर्न निर्देशन दिएपछि पनि नबिल बैंकले वर्ल्ड ट्राभल एन्ड इन्भेस्टमेन्ट प्रालि, वर्ल्ड फस्ट होली डे र विजयविक्रम शाहका नाममा खाता खोलेको भेटियो,’ स्रोतले भन्यो, ‘तर ती खातामा कुनै पनि कारोबार भएको देखिएन । यसकारण नबिल बैंकलाई सचेत मात्र गराइयो ।’

शाहले शंकास्पद रूपमा विदेशबाट पैसा ओसारपसार गरेको आशंकामा राष्ट्र बैंकले ०७७ चैत १९ मा सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएर उनी (शाह), उनका निकटतम व्यक्ति र संस्थाका सबै खाता रोक्का गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनमा पे यू सेन्टर प्रालि, वर्ल्ड ट्राभल इन्भेस्टमेन्ट प्रालि, वर्ल्डवाइज रेमिट, वर्ल्ड फर्स्ट जब प्लेसमेन्ट प्रालि, वर्ल्ड फर्स्ट होलिडे प्रालि, यू क्यास सर्भिस प्रालि, हाहा क्यास पे प्रालि, पे सेफ रेमिट लिमिटेड, वर्ल्ड एक्सपोर्ट इम्पोर्ट प्रालि, वालमार्ट एक्सचेन्ज प्रालि, लक्ष्मण रेग्मी, पृथ्वीबहादुर शाह, देवेन्द्र ढुंगाना, विजयविक्रम शाह र वर्ल्ड एट वर्क कन्सल्टेन्सीको खाता रोक्का राख्न राष्ट्र बैंकले निर्देशन दिएको थियो । यही निर्देशन उल्लंघन गरेको आरोपमा राष्ट्र बैंकले बैंकहरूलाई कारबाही गरेको हो ।

मानवीय त्रुटि तथा प्राविधिक कारणले राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खातामध्ये एउटामा कारोबार हुन पुगेकाले राष्ट्र बैंकले कारबाही गरेको पत्र प्राप्त भएको कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बताए । ‘राष्ट्र बैंकले खाता रोक्का गर्न भनेको कम्पनीको नाम मिले पनि सञ्चालक (प्रोप्राइटर) को नाम फरक परेकाले उक्त खाता खोलेर कारोबार गरिएको हो,’ प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले भने, ‘राष्ट्र बैंकले त्यो खाता पनि रोक्का राख्नू भनेपछि तत्काल बन्द गरिएको हो ।’

पूर्वअर्थमन्त्री जनार्दन शर्माको संरक्षणमा शंकास्पद रकम ओसारपसार गरेको आरोपमा शाहलाई हिरासतमा राखेर प्रहरीले कानुनी कारबाही गरिरहेको छ । यसअघि उनले करिब ४४ करोड ६ लाख ५९ हजार रुपैयाँ विदेशबाट ल्याउन विभिन्न १० बैंकमार्फत कारोबार गरेको भेटिएको थियो । ठूलो रकम एकै पटक ल्याउँदा शंकामा परिन्छ भनेर रकम विकेन्द्रित गरी विभिन्न बैंकमार्फत रकम ल्याएको अनुसन्धानमा खुलेको छ ।

अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले शाहका नाममा अवैध रकम आएको जानकारी राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू) लाई दिएपछि नेपालमा अनुसन्धान सुरु भएको थियो । फिनसेनले राष्ट्र बैंकलाई पत्राचार गरी शाहका नाममा आएको रकम जफत गरी अमेरिका फिर्ता पठाउन पनि भनेको छ । सोही पत्रका आधारमा शाहको खाता रोक्का गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । थप अनुसन्धान र आवश्यक कारबाही गर्न वित्तीय जानकारी इकाइले प्रहरी, सम्पत्ति शुद्धीकरणलगायतलाई पत्र काटेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।