NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

व्यवसायीको निधनले आर्थिक क्षेत्र मर्माहत

काठमाडाैं । दुई जना व्यवसायीको असामयिक निधनपछि पूर्वका आर्थिक क्षेत्रका संघसंस्था मर्माहत भएका छन् । गत मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका थिए । उनको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा बुधबार विहान निधन भएको थियो ।

आचार्यको निधन लगत्तै बुधबार नै विराटनगरका विद्युतीय सामग्रीको व्यवसाय गर्ने मोहन न्यौपानेले विराटनगर–३ स्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । दुवै घटनामा वित्तीय दबाब प्रमुख देखिएको थियो ।

मोरङ व्यापार सङ्घका उपाध्यक्ष विकासकुमार बेगवानीले मुलुकमा आर्थिक सूचकाङ्क सकारात्मक नरहेको अवस्थामा राज्य अलि बढी संवेदनशील बन्नुपर्ने बताए । उनले आर्थिक क्षेत्रमा सुधारका ठाउँ प्रशस्तै रहेकाले राज्यले सुधारका कदम तत्कालै उठाउनुपर्ने जनाए ।

सङ्घका अध्यक्ष नवीन रिजालले बढ्दो बैंकको ब्याजदर र प्रतिकुल आर्थिक नीतिका कारण व्यवसाय धरासायी बन्दै गएको बताए । उनले आफूले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर व्यवसायीको माग सम्बोधन गर्न अनुरोध गरेको बताए ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले आइपर्ने परिस्थितिबाट भाग्नुको साटो समस्या समाधनतर्फ उन्मुख रहन जरूरी रहेको बताए । उनले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सङ्घ संस्थाको स्थापना भएको भन्दै समस्या पर्दा उद्योग व्यवसायीले यस्ता सङ्घ संस्थासँग छलफल र परामर्श लिनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरेले आर्थिक क्षेत्रलाई चुस्त दुरूस्त बनाउन राज्यले निजी क्षेत्रको समन्वयमा कार्य गर्नुपर्ने बताए । अध्यक्ष घिमिरेले दुई दिनको अन्तरालमा परस्पर दुई दुःखदायी घट्ना घटेको भन्दै व्यवसायीप्रति राज्यले न्याय गर्नुपर्ने बताए ।

उद्योग सङ्गठन मोरङले बिहीबार अपिल जारी गर्दै यस खाले दुःखद् र मार्मिक घटनाले भित्री अन्तरवस्तु र पीडालाई उजागर गरेकाले आगामी दिनमा दोहरिन नदिन नियमनकारी निकायले उद्योगी व्यवसायीहरुको उचित गुनासो, पिरमार्का, समस्यालाई गम्भिरतापूर्वक सुनेर समयमा नै सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताएको छ ।