NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

६ पाइलट निलम्बित

काठमाडौं । नेपालको हवाई दुर्घटनामा पाइलटलाई मुख्य दोषी देखाइन्छ । त्यो आरोपलाई नेपाल वायुसेवा निगमका पाइलटले पुष्टि गरेका छन् । गत शुक्रबार काठमाडौंबाट हङकङ र नारिता (जापान) उडानका क्रममा पाइलटले एयर ट्राफिक कन्ट्रोल (एटिसी)को निर्देशन पालना नगरेको भन्दै क्यानले पाँच पाइलटलाई निलम्बन गरेर कारबाही सुरु गरेको छ ।

निगमको न्यारोबडी जहाजका पाइलट उद्धव घिमिरे, नरबहादुर विश्वकर्मा र राजेश कुशवाहले हङकङ इन्टरनेसनल एयरपोर्टमा अवतरण गर्दा एटिसीको निर्देशन पालना नगरी जोखिमपूर्ण अवतरण गरेका थिए । हङकङ सिभिल एभिएसनले एटिसीको निर्देशन पालना नगरेको भन्ने व्यहोराको पत्र पठाएपछि क्यान एक्सनमा उत्रिएको हो ।

यस्तै, शुक्रबार नै काठमाडौंबाट नारिता उडान गर्न लागेको निगमको वाइडबडी जहाजका पाइलट वाइपी जुहार्चन र प्रसन्न राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्ट्यान्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) पालना नगरेको भन्दै निलम्बन गरेको छ ।

स्याङ्जाको वालिङमा फुटबल खेल भइरहेको मैदानमै जोखिमपूर्ण अवतरण गरेपछि प्रभु हेलिकोप्टरका पाइलट रानेश डंगोल निलम्बनमा परेका छन् । फुटबल खेल भइरहेको मैदानमा पूर्वजानकारीविनै अवतरण गर्दा सुरक्षा जोखिम हुने क्यानको जिकिर छ । पाइलट डंगोलले अन्यत्र सुरक्षित स्थान हेरेर होलिकोप्टर अवतरण गर्न सक्ने भए तापनि यात्रुले दबाब दिएको भन्दै फुटबल चलिरहेको मैदानमा अवतरण गरेपछि स्थानीयको कुटाइमा परेका थिए ।

१ माघमा पोखरामा भएको यती एयरलाइन्स जहाज दुर्घटनाले इयूको टोलीले नेपाल भ्रमण स्थगित गरेको छ । फेब्रुअरीमा हवाई सुरक्षाबारे अनसाइट अडिट गर्न आउन लागेको इयूले दशकदेखि राखेको कालोसूचीबाट हटाउने अपेक्षा थियो । तर, आन्तरिक उडानमा भएको अहिलेसम्मकै ठूलो दुर्घटनाले नेपाली उडानलाई इयूको कालोसूचीबाट हटाउने प्रयासमा जटिलता थपेको छ ।