NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ध्यान दिनुहोस्, तपाईको यस्तो जीवनशैलीले बुढेसकाल स्वस्थकर बनाउँछ

काठमाडौ । उमेर बढ्दै जाँदा मानिसको शारीरिक तथा मानसिक सामथ्र्य पनि घट्दै जान्छ । बुढेसकाल लागेपछि शरीर नै कमजोर हुने भएकाले विभिन्न रोग लाग्ने सम्भावनासमेत बढेर जाने हुन्छ । यद्यपि, आफ्नो जीवनशैलीमा विशेष ध्यान दिन सकेमा बूढो हुँदासम्म पनि शारीरिक र मानसिक दुवै तवरले स्वस्थ रहन सकिन्छ । त्यसका लागि निम्न विषयमा ध्यान दिन जरुरी छ ः
अत्यावश्यक ५ टिप्स
उचित खानपान
वृद्धावस्थामा आउने विभिन्न समस्याबाट बच्न स्वस्थ जीवनशैली अपनाउनुपर्ने हुन्छ । जसका लागि उमेरअनुसारको उचित खानपान गर्न जरुरी छ । आइरन, भिटामिन, क्यालोरी पाइने खानेकुरा नियमित सेवन गर्नुपर्छ । साथै, हरियो सागपात, माछा–मासु, अन्डा, गेडागुडी, मौसमी फलफूल खानु आवश्यक हुन्छ ।

सामान्य व्यायाम
वृद्धावस्थामा मौसम हेरेर आफ्नो क्षमताअनुसार दैनिक हिँडडुल गर्न सकिन्छ । शरीर कमजोर हुने भएकाले शरीरलाई भारी हुने व्यायाम गर्नुहुँदैन । साथै, निष्क्रिय भएर एक ठाउँमा बसिरहनुभन्दा पनि आफूले गर्न सक्ने सानातिना काम गर्न उचित हुन्छ । यसले व्यायामसमेत हुन्छ । जसबाट थप ऊर्जा प्राप्त गर्न सकिन्छ ।

औषधिको सही प्रयोग
वृद्धावस्था सुरु भएसँगै केही न केही रोगले च्याप्न थाल्छ । त्यसैले, अधिकांश बुढाबुढीले औषधि सेवन गरिरहेका हुन्छन् । मधुमेह, रक्तचापजस्ता रोगका लागि प्रयोग गरिने औषधि समयअनुसार सेवन गर्नुपर्छ । त्यस्तै, औषधिको मात्रा र यसको साइड इफेक्ट आदि विषयमा ध्यान दिनुपर्छ । यसर्थ, यस्ता औषधि चिकित्सकको निगरानी वा सल्लाहमा मात्र खानु उचित हुन्छ । अनावश्यक औषधिले शरीर कमजोर बनाउने भएकाले यसका नकारात्मक असरबारे समेत विचार पु¥याउनुपर्छ ।

आँखाको हेरचाह
सामान्यतया उमेर बढ्दै गएपछि आँखामा समस्या आउने सम्भावना बढी हुन्छ । आँखामा कमजोरी नदेखिए पनि समय–समयमा चिकित्सककहाँ गई जाँच गराउनुपर्छ । यसरी जाँच गर्दा दृष्टिमा आउने सम्भावित समस्याबाट बच्न सकिन्छ ।

नियमित निद्रा
उमेर बढ्दै गएसँगै कतिपयमा अनिद्राको समस्या देखा पर्न थाल्छ । अनिद्राले शारीरिक थकानका साथै अन्य रोग लाग्ने सम्भावना हुने भएकाले सुत्ने समय व्यवस्थित गर्नुपर्छ । हरेक दिन सुत्ने समय निश्चित गर्दा अर्थात् रुटिन बनाएर सुत्दा निद्रा नियमित बनाउन सकिन्छ ।

सम्बन्ध विस्तार
बुढेसकालमा अल्छी लाग्ने, खान र बोल्न मन नलाग्ने, एक्लै बस्न रुचाउने, दिक्क मान्ने जस्ता स्वभाव बढ्दै जान्छ । यस्ता समस्या शरीर कमजोर हुँदै गएपछि स्वभाविक रूपमा आउने भए पनि कतिपय मानसिक अवस्थाका कारण पनि हुने गर्छ । मानिस स्वस्थ रहन उसको मानसिक स्वास्थ्य पनि उत्तिकै स्वस्थ हुनुपर्ने भएकाले सामाजिक बन्नु अनिवार्य हुन्छ । त्यसैले, परिवारसँग बढी समय बिताउने, सकेसम्म समूहमा बस्ने गरेमा बुढेसकालमा खुसी रहन सकिन्छ र स्वस्थ रहन मद्दत मिल्छ ।