NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट तथा सेल्स मिशन सुरु

काठमाडाैं । आइतबारदेखि नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिशन सुरु भएको छ । पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले उक्त मिसन सुरू भएको हो ।

नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ ट्रावल एण्ड टुर एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उप–महानगरपालिका, पर्यटन प्रवर्द्धन मञ्च बाँके, होटल एशोसिएसन अफ नेपाल (हान) बाँके, होटेल व्यवसायी संघ बाँके लगायतका संघ सस्ंथाहरुको सहकार्यमा दोस्रो संस्करणको रुपमा आयोजना गरिएको सेल्स मिसन माघ १५ देखि १७ गते सम्म चल्ने छ ।

कार्यक्रमा नेपाल पर्यटन बोर्ड, नाट्टा विभिन्न एअरलाइन्स तथा भारताबाट ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाई) बाट कार्यकारी पधाधिकारी, भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती सहरका टूर अपरेटर र आन्तरिक पर्यटन व्यवसायी तथा भारतीय सञ्चारकर्मी गरि करिब ३०० जना सहभागी रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै बांके जिल्लाबाट प्रतिनिधि सभा सदस्य सांसद डा. धवल शमशेर जबराले नेपाल भारतको लागि नजिकैको उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताए । उनले यसको लाभ लिन भारतीयहरुलाई आग्रह गरे ।

उनले छिट्टै नै नेपालजञ्जबाट दिल्ली,देहरादुन लगायतका सहरमा सिधा उडानको लागि पहल भइरहको जानकारी दिंदै यसबाट दुवै देशले फाइदा लिन सक्ने बताए ।

यस्तै टाइका अध्यक्ष ज्योती मयालले नेपाल भारत मिलेर काम गर्दा दुवै देशको पर्यटनमा थप गतिशिलता ल्याउन सकिने भन्दै यसको सहकार्यको लागि टाई सधैं सकारात्मक रहेको जनाए ।

नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठले भारत नेपालको महत्वपूर्ण पर्यटकीय स्रोत बजार रहेकोले पर्यटन बोर्डले भारतलाई विशेष महत्व दिएको उल्लेख गर्दै यो कार्यक्रमको माध्यमबाट भारतीय व्यवसायीहरुलाई समेत नेपालबारे थप बुझ्ने र सहकार्यको सम्भावना विस्तार हुने बताइन् । नाटाका अध्यक्ष रमेश थापाले नेपाल सबै सिजनको लागि उतकृष्ट गन्तव्य रहेको बताउँदै भारतीय पर्यटकको स्वागतका लागि नेपाल सधैं तयार रहेको बताए । यस्तै नाटाको निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले पश्चिम नेपाल आफैमा सुन्दर पर्यटकीय गन्तव्य रहेको र यो कार्यक्रमबाट दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु भयो । पश्चिम नेपालको पर्यटनमा नयाँ र फरक सोचका साथ पर्यटकीय सम्भावनाको खोजी, विकास र व्यवसायिक विस्तारका लागि मार्ट सहयोगी हुने नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

मार्टमा आइतावार बीटुबी सेसन, नेपाल भारत पर्यटनबारे प्यालन डिस्कसन तथा सोमबार ट्राभल मार्टमा सहभागी भारतीय टूर अपरेटरहरुलाई बुद्ध एयरमार्फत  पहिलोपटक कैलाश मानसरोवर दुरदर्शन उडान,बर्दिया राष्ट्रिय निकुन्जमा जंगल सफारी तथा तेस्रो दिन टाइको  अधिवेसन सहित समापन कार्यक्रम आयोजना गरिने बोर्डका प्रवन्धक सूर्य थपलियाले जानकारी दिए । यस्तै कर्णाली नदीमा ¥याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराइने उनले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष