NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चर्चित युवा ज्योतिषी दिवाकर पन्तको दोस्रो पुस्तक ‘दिव्य वास्तु विज्ञान’ बजारमा

काठमाडौं। चर्चित युवा ज्योतिषी गुरु दिवाकर पन्तको दोस्रो पुस्तक ‘दिव्य वास्तु विज्ञान’ प्रकाशित भएको छ । यस अघि उहाँको दिव्य ज्योतिष विज्ञान नामक पुस्तक बजारमा आएको थियो ।

दिव्य वास्तु विज्ञान पुस्तकलाई गुडविल प्रकाशनले प्रकाशन गरेको हो । यस पुस्तक काठमाडौँ उपत्यकाका प्रमुख धार्मिक पुस्तक पाइने पसलहरुमा उपलब्ध गराइएको छ । केही साता भित्रमा काठमाडौँ उपत्यका बाहिरका प्रमुख शहरहरुमा पुस्तकको वितरण हुने गुडविल प्रकाशनले जनाएको छ ।

यस पुस्तकमा वास्तुका विविध आयामलाई शुक्ष्म तरीकाले सामाग्रीका रुपमा समावेश गरिएको लेखक पन्तले जानकारी दिए ।

नेपाली भाषामा एक आधिकारिक र विस्तृत वास्तु विषय समावेश गरी पुस्तक तयार पार्ने उद्देश्यले यस पुस्तक बजारमा ल्याइएको उनको भनाई छ ।

‘पाँच बर्षको मिहिनेतबाट यो पुस्तक तयार गरिएको हो’ लेखक पन्तले भने, विभिन्न वैदिक तथा ओमकार परिवारका धार्मिक साहित्यमा रहेका वास्तुबारेमा जानकारी सहित नेपाली दृष्टिकोण सहित यो पुस्तक तयार भएको छ ।’

पुस्तकमा तत्कालिन प्रधानमन्त्री शेयरबहादुर देउवा, नेपाल पञ्चाङ्ग निर्णायक तथा विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी तथा वाल्मीकि विद्यापीठका प्रमुख प्रा.डा. भागवत ढकालले शुभकामना व्यक्त गरेका छन् ।

पुस्तकमा हिमाली, पहाडी तथा तराई–मधेश क्षेत्रमा सदियौँदेखि रहेका वास्तुका विविध परम्परागत अभ्यासका बारेमा समेत बेग्लै शीर्षकमा चर्चा गरिएको छ । साथै वास्तु विषयमा गरिएको विस्तृत गहन अनुसन्धान समेत बेग्लै खण्डमा विशेष रुपमा समावेश गरिएको छ ।

लेखक पन्तले देशमा नै पहिलो पटक आधुनिक अनुसन्धान पद्दतिबाट वास्तु विषयमा सम्भवत पहिलो पटक यति विस्तृत रुपमा अनुसन्धान भएको बताए । पुस्तकमा विभिन्न सात वटा मामिला अध्ययन अर्थात केस स्टडि पद्दतिबाट अनुसन्धान गरि समावेश गरिएको छ । ‘व्यावहारिक जीवनमा वास्तुदोष, परिणाम, उपाय र नतिजा’ शीर्षकमा यो अध्ययन गरिएको छ ।

नौ खण्डमा विभक्त पुस्तकमा खण्ड एकमा वास्तु परिचय शीर्षकमा विविध उपशीर्षक सहित जानकारी समावेश गरिएको छ । खण्ड दुईमा नेपालमा वास्तु शीर्षकमा सामग्रीहरु रहेका छन् ।

त्यसैगरी खण्ड तीनमा भूमि र वास्तु, खण्ड चारमा वास्तु र गृह, खण्ड पाँचमा वास्तु विविध, खण्ड ६ मा वर्तमान सन्दर्भमा वास्तु शीर्षकमा सामग्रीहरु समावेश गरिएका छन् ।

त्यसैगरी खण्ड सातमा व्यावहारिक जीवनमा वास्तु दोष, परिणाम, उपाय र नतिजा विषयमा अनुसन्धान समावेश छ ।

खण्ड आठमा वास्तुसम्बन्धी विविध जानकारी समावेश छ भने खण्ड नौमा परिशिष्ट शीर्षकमा लेखकका विषयमा जानकारीदेखि सन्दर्भ सामग्रीहरु राखिएका छन् ।

पुस्तकको भाषा सम्पादन संस्कृत भाषाका ज्ञाता तिलकप्रसाद लुइटेलले गरेका हुन् ।

नेपाली भाषामा यस्तो वृहद् पुस्तक पहिलो पटक प्रकाशित भएको गुडविल प्रकाशनका कार्यकारी निर्देशक शिवसागर शर्माले बताए । उनले यस पुस्तक छिट्टै देशभर वितरण गरि पाठक समक्ष उपलब्ध गराइने पनि जानकारी दिए । उनले ३ सय २२ पृष्ठको यस पुस्तकको मूल्य ५ सय ९० रुपैयाँ राखिएको जानकारी दिए ।

पुस्तकका लेखक ज्योतिषी गुरु चर्चित युवा ज्योतिषी, वास्तुविद्, पण्डित, हस्तरेखाविद्, आध्यात्मिक उत्प्रेरक तथा रत्नविद् हुन् ।

उनले रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा कार्यक्रम संचालन गर्दै आएका छन् । साथै उनले स्वदेशी मात्र नभई पाश्चात्य देशका नागरिकहरुलाई समेत ज्योतिषीय सेवा दिँदै आएका छन् ।

अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त एजेन्सीले औपचारिक रुपमा अन्तर्राष्ट्रिय रुपमा बजारीकरण गरेको उनी पहिलो नेपाली ज्योतिषी गुरु हुन्।

युवा ज्योतिषी गुरु पन्तले आफ्नो पारीवारिक परम्परामा १५ औँ ज्योतिषीका रुपमा कार्यरत रहेको जानकारी दिए । उनको परिवारमा हरेक पिँढीको ज्येठो छोराले ज्योतिष तथा धर्म अध्यात्मकको क्षेत्रमा कार्यरत रहने परम्परा रहेको र आफू पनि सोही बाटोमा अनुशासित रहेको उनले बताए ।

ज्योतिषी गुरु पन्तले दुई बर्षदेखि जापानीहरुलाई सेवा दिँदै आएका छन् ।  कोरोनापछि नेपाल भ्रमणमा आएका अमेरिकी, वेलायती, क्यानेडाली, अष्ट्रलियाली लगायत विभिन्न युरोपेली देशका नागरिकहरुलाई सेवा दिदै आएका छन् ।