यसरी हुँदैछ प्रचण्ड र बाबुरामको दलबीच एकता

काठमाडौं । एकता गरेर दलको नाम नेकपा समाजवादी राख्ने करिब निश्चित गरिसकेका पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले चुनाव चिह्न पनि नयाँ राख्ने तयारी गरेका छन् । शान्तिपूर्ण राजनीीतमा माओवादी नाम र हँसिया हतौडा चुनाव चिह्न कमजोर बन्दै गएको निष्कर्षका साथ दुवै दल नयाँ नाम र चुनाव चिह्न तय गर्ने निष्कर्षमा पुगेका हुन् ।
२०५२ मा सशस्त्र द्वन्द्व सुरु गर्नुअघि नेकपा एकता केन्द्रलाई परिवर्तन गरेर पार्टीको नाम नेकपा माओवादी राखिएको थियो जसले चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष माओत्सेतुङबाट प्रभावित भएर पार्टीले गाउँदेखि सहर घेर्दै जनवादी क्रान्ति पूरा गर्ने नीति लिएको थियो । ०७५ सालमा एमालेसँग एकता गरेपछि भने पार्टीको नाममा माओवादी हट्यो । तर ०७७ फागुन २७ मा सर्वोच्च अदालतको फैसलाले माओवादी केन्द्र ब्युँताइदियो ।
दाहाल र भट्टराईले ०७२ सालअघिसम्म करिब २६ वर्ष एउटै पार्टीमा सहकार्य गरेका थिए । तर उनीहरूबीचको सम्बन्ध उतारचढावपूर्ण थियो । भट्टराईले नयाँ संविधान जारीपछि भने माओवादी छाडे । नयाँ शक्ति पार्टी खोलेका उनी समाजवादी पार्टी, जनवादी समाजवादी पार्टी हुँदै पछिल्लो समय आफैंले खोलेको नेपाल समाजवादी पार्टीको नेतृत्वमा छन् ।
दाहाल र भट्टराईले गएको निर्वाचनमा नै सहकार्य थालेका हुन् । नेपाल समाजवादी पार्टीका नेता माओवादीको चुनाव चिह्नबाट प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । चुनावी सहकार्यबाट अझै अघि बढेर यी दुई दलबीच एकता हुन लागेको हो । नेताहरूका अनुसार माओवादीको आगामी साता हुने केन्द्रीय समिति बैठकपछि पार्टी एकता गर्ने तयारी छ । केन्द्रीय समितिमा पार्टीको नयाँ मार्गनिर्देशक सिद्धान्त तय गरिने माओवादीका एक नेताले बताए । हाल माओवादीले मार्क्सवाद, लेनिनवाद र माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्दै समाजवादी उन्मुखको बाटो लिएको छ ।
दुवै दल एकीकृत पार्टीको चुनाव चिह्न नयाँ राख्न तयार छन् तर के राख्ने भन्ने टुंगो लाग्न बाँकी छ । अहिले माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हतौडा तथा समाजवादीको आँखा छ ।
संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा तालमेल गर्दा कांग्रेसका मतदाताले हँसिया हतौडामा मत हाल्न हिचकिचाएको माओवादीको बुझाइ छ । भविष्यमा पनि अन्य दलसँग चुनावी तालमेल हुने आकलनका साथ नयाँ चिह्न राख्न माओवादी तयार भएको हो ।
माओवादी चुनावमा झन्झन् कमजोर बन्दै गएको र भट्टराईलाई आफ्नो पार्टीको अस्तित्व जोगाउन हम्मे परेकाले नयाँ स्वरूपमा अघि बढ्न खोजेको देखिन्छ ।
पार्टी एकता भएपछि दाहाल कार्यकारी अध्यक्ष र भट्टराई दोस्रो वरीयताको नेता हुने माओवादीका एक नेताले बताए । भट्टराई विगतमा जस्तो प्रचण्डसँग संघर्ष गर्ने मनस्थितिमा छैनन्, कान्तिपुरमा खबर छ ।
ताजा अपडेट
-
वास्तुशास्त्र अनुसार घर बनाउँदा मुख्य गेटदेखि शौचालय कुन दिशामा राख्दा ठिक ?
-
राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न
-
प्रचण्ड सरकार चलाउने जिम्मा कांग्रेसको हातमा आएको छ, राम्रोसँग व्यवस्थापन गर्नुपर्छ : कोइराला
-
दलीय संकीर्णताबाट माथि उठेर संक्रमणकालीन न्याय टुंग्याउँ : महामन्त्री थापा
-
उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब
प्रतिक्रिया