NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रधानमन्त्री दाहाल र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता

काठमाडाैं । नेपाल भ्रमणमा रहेकी अमेरिकाकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्ड र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाको द्वीपक्षीय सम्बन्धका विभिन्न विषय छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अमेरिकी उपविदेश मन्त्री नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आइपुगेकी हुन् । भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिकाले पु-याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा थप वृद्धि हुँदै जाने अपेक्षा गरे । सो अवसरमा उपविदेश मन्त्री नुल्यान्डले प्रधानमन्त्री दाहाललाई नयाँ कार्यकालका लागि बधाई तथा शुभकामना दिएकी छिन् ।

उपविदेश मन्त्री नुल्यान्डले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने यहाँस्थित अमेरिकी राजदूताबासले जनाएको छ । साथै उनले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सगाल्नु हुनेछ ।

उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिनुभएको हो । त्यसअघि उहाँ वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन् ।

उपविदेश मन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैर–आवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा वृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसकेकी छिन् ।

तेत्तीस वर्षयता अमेरिकी कूटनीतिज्ञ रहेकी उनि अमेरिकी राष्ट्रपति ओबामा र विदेश मन्त्री केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेश मन्त्रीका रूपमा सेवारत थिइन् । उनी अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता थिइन् भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत थिइन ।

उप-विदेश मन्त्री नुल्यान्डले सन् २०१० देखि २०११ सम्म युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेषदूत तथा प्रमुख वार्ताकारका रूपमा र सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति चेनीकी उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गरेकी थिइन् । उनले ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका साथै अमेरिका बाहिर रसिया, चीन र मङ्गोलियाका साथै वासिङ्टनस्थित विदेश मन्त्रालयमा विभिन्न ओहोदामा रही काम गरिसकेकी छिन् ।

उनले ब्राउन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गरेकी छन् ।