NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नागरिकता विवाद : रविको सांसद, मन्त्री र पार्टीको पद गुम्यो, तर कँडेललाई हाइसञ्चो

काठमाडौं । नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दोषी भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको छ ।

अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनःप्राप्ति नगरेको सर्वोच्चले निष्कर्ष निकाल्दै उनी सांसद हुन अयोग्य भएको फैसला गरेको हो । सर्वोच्चको फैसलापछि रविले एकैपटक पार्टी सभापति, सांसद र मन्त्री पद गुमाए । यद्यपी आइतबार जिला प्रशासन कार्यलय काठमाडौंमा पुगेर उनले नागरिकता लिइसकेका छन् । आइतबार नै राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई पार्टी सभापतिमा नियुक्त गरिसकेको छ ।

२१ फेबु्रअरी २०१४ (२०७०) मा अमेरिकी नागरिकता लिएका लामिछानेले निष्क्रिय भैसकेको नेपाली नागरिकताका आधारमा सन् २०१५ मा नेपाली राहदानी लिएका थिए । पुरानो नागरिकताको आधारमा लिएको राहदानीसमेत आइतबार उनले विभागमा पुगेर फिर्ता गरिसकेका छन् ।
दोहोरो नागरिकता लिएको आरोप लागेपछि लामिछानेले सन् २०१८ मा अमेरिकी पासपोर्ट काठमाडौंस्थित अमेरिकी दूतावासमा ‘सरेन्डर’ गरेका थिए ।

अमेरिकी नागरिकता त्याग गरेको घोषणा गरेपनि उनले २०५० सालमा लिएको नागरिकता नै उम्मेदवारी दर्ताका क्रममा पेस गरे । नेपालको नागरिकता पुनःप्राप्त गर्ने कानुनी प्रक्रियामा रवि गएनन् । त्यही सामान्य कानुनी त्रुटीका आधारमा सर्वोच्चले उनी सांसद बन्न अयोग्य रहेको फैसला गरेको हो ।

तर दोहोरो नागरिकता लिएको आरोप लागेका पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलमाथिको कारवाही प्रक्रिया अहिलेसम्म अघि बढेको छैन ।आरोपमाथि सफाइ नपाउँदै कँडेल २०७४ नवलपरसी सुस्ता पश्चिम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट उनी उम्मेदवार बने । योपटक उनी राप्रपाका उम्मेदवार ध्रुबबहादुर प्रधानसँग पराजित भए ।

नवलपरासी कांग्रेसका इन्चार्जसमेत रहेका उनी कांग्रेसका प्रभावशाली नेता हुन् । सांसद पदको हैसियतले पटक–पटक राज्यकोषबाट सेवासुविधा लिएका उनीमाथि न सम्बन्धित निकालयले कारवाही प्रक्रिया अघि बढाएको छ, न कसैले प्रश्न उठाएका छन् । नेपालको संविधान कानुन उल्लंघन गरेको आरोप लाग्दासमेत उनी खुल्ला रुपमा हिँडिरहेका छन् । कारवाही प्रक्रिया अघि नबढ्दा कँडेललाई हाइसन्चो भएको छ।

कँडेलमाथिको कारवाही प्रक्रियाबारे गृहमन्त्रालयलाई कुनै जानकारी नभएको प्रवक्ता फणिन्द्रमणी पोखरेलले जवाफ दिए । यसअघि गृहले नै कँडेलले दोहोरो नागरिकता लिएको विषयमा सचिवस्तरीय छानविन समिति गठन गरेको थियो । कँडेलले नेपालकै दुईवटा नागरिकता र भारतीय रासन कार्ड लिएको पुष्टि गर्दै कारवाहीका लागि गृहमन्त्रालय र परराष्ट्रमन्त्रालयलाई सिफारिस गरेको थियो ।

सम्बन्धित निकायका सहसचिव तहका अधिकारीलेसमेत वास्तविकताबारे अनविज्ञ रहेको भन्दै जवाफदेहिताबाट पन्छिन खोजे ।
‘यो विषय हामीले हेर्ने होइन । जिल्ला प्रशासनले हेर्ने हो । दोहोरो नागरिकता लिएको विषयमा जिल्ला प्रशासनले टुंग्याउँछ । उहाँ विदेशी हो वा होइन भन्ने विषयमा छानविनपछि विदेशी भएको पुष्टि भए मन्त्रिपरिषद बैठकले रद्द गराउँछ । यस विषयमा अहिलेसम्म गृहमन्त्रालयमा कुनै जानकारी आएको छैन’, उनले जवाफ दिए ।

गलत सूचना दिएको विषयमा नेपालवाचले दोस्रोपटक प्रवक्ता पोखरेलसँग सम्पर्क गर्दा गृहमन्त्रालयले छानविन समिति गठन गरेको आफूलाई थाहा नभएको जवाफ दिए ।

‘यो मेरो विषय होइन । यससम्बन्धमा नागरिकता शाखाले हेर्ने हुँदा मलाई केही थाहा छैन । मन्त्रालयभरी के आउँछ भनेर मलाई केही कण्ठ हुँदैन । यसअघिको सचिवस्तरीय निर्णय मलाई थाहा नभएको विषय हो । थाहा नभएको विषयमा थाहा छैन भनें’, उनले भने ।

नागरिकतासम्बन्धी एउटै विषयमा कसैको पद जाने कोही खुलेयाम हिँड्न मिल्छ भन्ने प्रश्नमा उनले रविको र कँडेलको विषय फरक भएको तर्क गरे ।

‘रविको विषय विदेशी नागरिक भएको विषय हो । विदेशी नागरिकको हकमा गृहले छानविन गर्छ’, उनले भने, ‘कँडेलको विषय दोहोरो नागरिकता लिएको भन्ने छ, त्यस विषय सम्बन्धित जिल्ला प्रशासन कार्यालयले हेर्छ । यदि कँडेल विदेशी नागरिक भएको पुष्टि भए मन्त्रिपरिषदले निर्णय गरी खारेज गर्छ ।’

एउटै केसमा राज्यको दोहोरो नीति हुनु गलत भएको वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले बताए । ‘संविधान र कानुन बमोजिम कसैले उन्मुक्ति पाउने वा कोही कारवाहीको भागिदार हुने भन्ने हुँदैन । कानुनको आँखामा सबै समान हुन्छन् । अपराध अनुसार सजाय पाउँछन्’, उनले भने, ‘कँडेलको विषयमा अध्ययन गरेपछिमात्र वास्तविकता के हो भन्न मिल्छ । यदि उहाँले दोहोरो नागरिकता लिएको वा विदेशी नागरिक भएको पुष्टि भए कानुन बामोजिम कारवाहीको भागिदार हुनुपर्छ ।’

के हो कँडेलको नागरिकता विवाद ?

२०७६ मा कँडेल भारतीय नागरिक पनि भएको खुलेपछि यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धान रिपोर्ट अनुसार उनी उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षका भएको खुलेको हो । सन् २०१६ मा भएको चुनावमा उनी असफल भए । २०७५ मा भएको चुनावमा भने उनी निर्वाचित भएका थिए । निर्वाचित भएलगत्तै हिन्दी भाषामा शपथ खाँदा कँडेलले आफू भारतको ३३ कसाया रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा भएको व्यहोरा उल्लेख गरेका थिए ।

सोही विषयमा गृहमन्त्रालयमा उजुरी परेपछि मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार कँडेलको आधिकारिक नागरिकता छानविन गर्न ८ फागुन, ०७६ मा समिति गठन गरेको थियो । उक्त छानविन समितिले उनीसँग दुईवटा नेपाली नागरिकता र भारतीय नागरिकको हैसियतमा प्राप्त गर्ने प्यान कार्ड फेला पारेको पुष्टि भइसकेको छ ।

समितिको प्रतिवेदन अनुसार कँडेलले १७ बर्षको उमेरमा ६ भदौ, २०३१ मा वंशजका आधारमा पहिलो पटक नेपाली नागरिकता लिएका थिए । त्यसबेला लिएको उनको नागरिकता प्रमाणपत्र नम्बर २३५० रहेको छ ।

कँडेलले पुनः १९ कात्तक, २०३५ मा नागरिकता लिएका छन् । उनको नागरिकता प्रमाण पत्र नम्बर १६१०८ रहेको पुष्टि भएको छ । कँडेलले लिएको दुईवटै नागरिकतामा बाबुको नाम पृथ्वीराज कँडेल छ । पहिलो नागरिकतामा तत्कालीन प्रमुख जिल्ला अधिकारी रामनारायण सिंहले हस्ताक्षर गरेका छन् ।

दोस्रो पटक लिएको नागरिकतामा तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर बस्नेतले हस्ताक्षर गरेको छानविन समितिको प्रमाणमा देखिन्छ । यी दुवै नागरिकतामा कँडेलले स्थायी वतन साविक रमपुरवा गाउँ पञ्चायत वडा नं ६, नवलपरासी उल्लेख छ ।

त्यस्तै उनले भारतको नागरिकता लिएको विषयमा थप अनुसन्धानको सिफारिस गरेको थियो । त्यतिबेला प्रारम्भिक अनुसन्धानमा कँडेलसँग भारतको नागरिकता, रासन कार्ड र मतदाता नामावली रहेको पत्ता लागेको थियो । छानविन समितिले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग कँडेलसँग भारतीय नागरिकता, रासन कार्ड र मतदाता नामावली सही हुन् की होइनन् भन्ने विषयमा विवरण माग गरेको थियो ।

उनको भारतीय नागरिकताको ठेगाना उत्तर प्रदेशको महराजगन्ज जिल्लास्थित ३३ कसाया रोड वेतिया हाता जनपथ–गोरखपुर रहेको छ । उक्त प्रमाणको आधिकारिकता जाँच गर्न सहयोग गर्न भन्दै छानविन समितिले गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयलाई पत्र समेत पठाएको छ ।

यसैगरी नागरिकता ऐन, २०६३ को दफा १३ बमोजिम काँडेललाई कारवाही गर्न छानविन समितिले सरकार समक्ष सिफारिस गरिसकेको छ ।
समितिले भारतीय नागरिकका हैसियतमा कँडेलले प्राप्त गरेको प्यानकार्ड, रासन कार्ड, मतदाता नामावलीमा लगायत उनीसँग भएका विवरणहरु बुझाएको छ ।

कण्डेलले भारतीय आयकर ऐन, १९६१ अनुसार ४९ ए क्याटगोरीबाट प्यान कार्ड लिएका छन् । कँडेलले नेपालवाचसँग भारतीय आयकर ऐन, १९६१ अनुसार ४९ ए क्याटगोरीबाट प्यान कार्ड लिएको स्वीकार गरेका छन् ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) मा कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएमा नेपालको नागरिकता स्वतः बदर हुने उल्लेख छ । नेपाल नागरिकता नियमावली, २०६३ ले भने विदेशी नागरिकता लिएर नेपालको नागरिकता त्याग गर्नेबारे नेपालका निकायलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ । विद्यामान कानुनको सानो त्रुटीले ठूलो धक्का व्यहोरेका रविले प्रतिनिधिसभा प्रवेश गर्न पुनः निर्वाचित भएर आउनुपर्ने देखिन्छ । तर उही प्रक्रितिको गल्ती गरेका कँडेलमाथि राज्य संयन्त्र मौन बस्नुले न्यायीक निरुपणमाथि सरोकार निकायले गम्भीर प्रश्न उठाएका छन् ।