NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

गणतन्त्र र राजतन्त्रको पक्ष-विपक्षमा सत्तापक्षकै सांसदहरूबीच भनाभन 

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तापक्षकै सांसदहरूबीच आरोप–प्रत्यारोप चलेको छ । बुधबार संसद भवन नयाँबानेश्वरमा बसेको बैठकमा सत्ता साझेदार दल एमाले र राप्रपाबीच घोचपेच चलेको हो ।

बैठकलाई सम्बोधन गर्दै एमालेका सांसद रघुजी पन्तले संविधानका आधारभूत संरचनाहरूमै प्रधानमन्त्री र मन्त्रीहरूबीचमा सार्वजनिक मतभेद देखिएको भन्दै राप्रपाका नेता तथा मन्त्रीहरूलाई लक्षित गरी आलोचना गरे ।

‘प्रधानमन्त्रीले संघीयताविरुद्व बोल्नेलाई स्पष्टिकरण सोध्छु भन्नुभएको भोलिपल्ट सरकारका मन्त्रीहरूले संघीयता रहनुहुँदैन भनेर बोल्नुभयो, प्रधानमन्त्रीले अहिलेसम्म स्पष्टिकरण सोधेको थाहा छैन,’ उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरूका बीचमा सार्वजनिक विवाद भएको राम्रो होइन । मन्त्रिपरिषद्मा बसेर संविधानको बर्खिलाप गर्न पाइँदैन ।’

तर उनको अभिव्यक्तिप्रति राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले नियमापत्ति जनाए । सभामुखले शाहीलाई बन्न आग्रह गर्दै पन्तलाई आफ्नो भनाइ राख्न आग्रह गरे । पन्तले आफ्नो भनाइ राखेपछि सभामुखले राप्रपाका सांसद धबलशमेशर राणालाई बोल्न समय दिए । पन्तको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राप्रपा महामन्त्रीसमेत रहेका सांसद राणाले राप्रपा संख्याले सानो भएपनि जनताको मनमा भिजेको जिकिर गरे ।

‘राप्रपा सानो होला तर जनताको मनमा भिजेको छौं । हामीले नेपालमा सनातन हिन्दू राष्ट्र कायम गर्नको लागि आएका छौं । हामी राजासहितको प्रजातन्त्र पुर्नस्थापना गर्न आएका छौं । त्यो कुरा संविधानले रोक्दैन । हामी बोल्छौं र समयमा कार्यान्वयन गर्छौं ।’ उनले आइन्दा राप्रपालाई होच्याउने काम नगर्न पन्तलाई चेतावनी दिए ।

‘हामी यो व्यवस्था नमान्ने भए जंगल गएर बन्दुक उठाउथ्यौं । यही संविधानलाई हाम्रो मूल्य र मान्यतामा परिवर्तन गर्नको लागि जनताले भोट दिएका छन् । हामीलाई हेप्ने र होच्याउने काम आइन्दा यो सदनबाट नहोस् ।’ त्यसपछि राणाको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले संसद र सडकमा बहस हुनसक्ने, तर क्यबिनेटमा बसेर संविधानको मूल्य भन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य नहुने बताए ।

सत्ता पक्षकै नेताहरुबीच एकअर्काप्रति आरोप–प्रत्यारोपमा उत्रिएपछि विपक्षी कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आगामी दिनमा संसदमा उच्च सतर्कता अपनाउन आग्रह गरे । ‘सरकारमा सहभागी भएका दलका सांसदहरूबीच नै भनाभन र आरोप–प्रत्यारोप हुन थालेपछि संसदमा प्रतिपक्षको भूमिकै नरहने भयो’, सत्तापक्षका सांसदप्रति व्याङ्य गर्दै बस्नेतले भने, ‘सभामुख महोदय, सरकारमा रहेका सांसदहरू अभिव्यक्ति सुन्दा आगामी दिनमा ठूलो भिड्न्त होला जस्तो छ, उच्च सतर्ककता अपनाइयोस् ।’

राजसंस्था ढाल्न मुख्य भूमिका खेलेका प्रचण्ड नेतृत्वको सरकारमा राजतन्त्रका पक्षपाती राप्रपा पनि सरकारमा सहभागी रहेको छ । राप्रपाकाका सांसद र मन्त्रीलेसमेत संघीयता, धर्मनिरपेक्ष र व्यवस्थामाथि प्रहार गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले संविधान बाहिर गएर अभिव्यक्ति नदिन मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।