NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

रास्वपा सांसद भन्छन्– गृहमा रविको विकल्प खोज्नुपर्छ [अन्तर्वार्ता]

काठमाडौं । नागरिकता प्रकरणमा सर्वोच्च अदालतले गरेको फैसलाले सांसद र मन्त्री पद गुमाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नैतिक, कानुनी र संवैधानिक प्रश्चको घेरामा छन् । 

सञ्चारकर्म छाडेर गत असारमा रास्वपा दल दर्ता गरेका लामिछानेले विदेशी नागरिकता त्यागपछि नेपालको संविधानअनुसार प्रक्रिया नपुर्याएको भन्दै पुस १३ गते सर्वोच्च अदालतले सांसद र मन्त्रीबाट पदमुक्त गरेको थियो ।

परम्परागत राजनीतिक दलहरूले राजनीतिक, आर्थिक तथा प्रशासनिक वेथिति अन्त्य गर्न नसकेको आरोप लगाउँदै विकल्पमा आफू आएको दाबी लामिछानेले गरेका थिए । तर राजनीतिमा आएको थोरै समयमै उनी र उनका मन्त्री तथा सांसदमाथि नैतिक र कानुनी प्रश्न उठेका छन् । 

पार्टी नेतृत्वको गतिविधिले रास्वपाको भविष्य नै संकट पर्नसक्नेतर्फ विज्ञहरूले ध्यानकर्षण गराएका छन् । नागरिकतासम्बन्धी मुद्दा किनारा लागे पनि रविमाथि राहदानी दुरुपोगको आरोपमा थप मुद्दा लाग्ने देखिन्छ ।

 कानुनी विवाद नसकिँदै उनी  पुनः गृहमन्त्री बन्न प्रधानमन्त्री र सत्ता साझेदार दलहरूका शीर्ष नेताहरूलाई भेटेर दबाब दिइरहेका छन् । यसले रास्वपाभित्र रविबाहेकको विकल्प नभएको हो कि भन्ने प्रश्न पनि उठेकाे छ । सत्ता र शक्तिप्रति बढ्दो अशक्तिले रवि पनि उस्तै हुन् कि भन्ने आशंका जनमानसमा सिर्जना भएको छ ।

चौतर्फी, आलोचनाबीच गृहमा रविको दाबी र उनको विकल्पबारे नेपालवाचले सांसद डा.ढाकाकुमार श्रेष्ठसँग गरेको कुराकानी :

सर्वोच्च अदालतले रवि लामिछाने नागरिकता मुद्दा प्रकरणमा गरेको फैसलालाई कसरी लिनुभएको छ ?

जनतामा केही नयाँ विकल्प दिन्छौं भनेर हामी राजनीतिमा आएका हौं । तर हामीलाई असफल बनाउन विभिन्न चलखेल भए । नेपालमा बच्न निकै कठिन रहेछ । यस घटनाबाट हामीले पाठ सिकेका छौं । यसमा मेरो व्यक्तिगत विचारभन्दा पनि पार्टीले निर्णय गर्छ । अहिले केही भन्ने अवस्था छैन ।

गृह मन्त्रालयमा रास्वपा खासगरी रवि लामिछानेको बढी जोडबल देखिन्छ । किन यसरी मरिहत्ते गरेको ?

गृह मन्त्रालय हामीलाई परेको हो । यसमा हाम्रो दाबी यथावत् छ । भोलि रविजी वा अन्य कोही यो जिम्मेवारीमा जान सक्नुहुन्छ ।

रविमाथि राहदानीको मुद्दा पनि लाग्न सक्छ भनिएको छ ? तपाईंको पार्टीमा रविको विकल्प नभएको हो ?

विकल्प दिन नसक्ने होइन । रविजीको सबै विषय टुंग्याउन पाए राम्रो हुन्थ्यो । विशेषगरी हामी रविजी नै भन्छौं । पहिलेदेखि नै गृहमा रहेकाले उहाँको नेतृत्वमा गृह अझ प्रभावकारी हुन सक्छ । यसको मतलब अन्य साथी सक्षम छैनन् भन्ने होइन । पार्टीभित्र सबै सक्षम छन् तर उहाँलाई नै पठाउन पाए राम्रो हुन्छ भन्ने हो ।  नपाएको वा उहाँलाई अप्ठ्यारो परेको खण्डमा अरु एकसेएक छन् ।

तपाईंको पार्टीमाथि आममानिसको विश्वास र भरोसा छ । विवाद नसुल्झिँदै गैरसांसदको रूपमा फेरि मन्त्रालय फर्किँदा पार्टी बदनाम होला नि ?

हो, यस विषयमा सोच्न सकिन्छ । यसबारे पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले निर्णय गर्नेछ ।  बैठकको निर्णय कुरौं ।  जनतालाई सेवा, सुविधा दिन हामी सरकारमा गएका हौं । डेलिभरी राम्रो दिन सकिएन भने सरकारमा बसिरहनुको औचित्य रहँदैन ।

परम्परागत पार्टीमाथि भरोसा टुटेकाले विकल्पमा तपाईंको दललाई जनताले रोजेको देखियो । यसतर्फ कत्तिको सचेत हुनुहुन्छ ?

हामी यो विषयमा चिन्तित छौं । जनतालाई सेवा सुविधा दिनुपर्छ । हामीले जुन मन्त्रालय पाएका छौं, त्यसमा राम्रोसँग काम गर्नुपर्छ । सरकारबाहेक बाहिर रहेका सांसदहरूले पनि राम्रो काम गर्नुपर्छ भन्ने कुरामा हामी सर्तक छौं ।

रास्वपामा संस्थागत निर्णय हुँदैन, सभापतिले जे बोल्यो त्यही सदर हुन्छ भन्ने आरोप छ नि ?

त्यस्तो त होइन । बैठकमा  प्रस्ताव ल्याउनुहुन्छ । पार्टीमा केही फरक मत त भइहाल्छ, त्यसलाई स्वाभाविक लिनुपर्छ । आफैंले जन्माएर नेतृत्व गरेको पार्टीप्रति माया त भइहाल्छ नि । त्यसो भन्दैमा आफ्नो विचार लादेर, साथीहरूको भरोसा तोडेर जान खोज्नुभएको होइन । अहिलेसम्म उहाँ सल्लाह गरेर नै अघि बढ्नुभएको छ । त्यसो त, सबै विषयमा सबैसँग सल्लाह गरिराख्नु पर्छ भन्ने पनि छैन ।