NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

सार्वजनिक सेवा प्रवाहमा निजामती सेवाको भूमिका के हो ?

काठमाडौं । जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा सहसचिव डा.टोकराज पाण्डेले सार्वजनिक सेवा प्रवाहमा निजामती सेवाको भूमिकाबारे प्रश्नको समाधान सुझाउनुभएको छ ।

सार्वजनिक सेवा प्रवाहमा निजामती सेवाको भूमिका उल्लेख गर्दै सार्वजनिक सेवा वडापत्रमा गर्नुपर्ने सुधार उल्लेख गर्नुहोस । १०

शासन गरेर सेवा होइन सेवा दिएर शासन गर्न सक्षम बनाउ

सरकार तथा सरकार अन्तर्गतका सम्पूर्ण संयन्त्रहरूले नागरिकहरूलाई उपलब्ध गराउने नियमित, आकास्मीक र विकासात्मक सेवाको समष्टीगत स्वरूपलाई सार्वजनिक सेवा भनिन्छ । सरकार र नागरिकको विचमा वसेर निजामती सेवाले यस्तो सेवाको वितरण गर्दछ । सार्वजनिक सेवाको बजारीकरण र नागरिक सहायतका लागि राखिने सूचना पाटीलाई सेवा वडापत्र भनिन्छ । निजामती सेवा र सार्वजनिक सेवा वडापत्र दुवै सेवा वितरणका अंग र एक अर्काका परिपूरक हुन । वडापत्र मार्फत सेवाग्राहीले कस्तो सेवा, कति शुल्कमा, कहाँबाट, कति समयमा प्राप्त गर्न सक्दछन भन्ने विवरण समेटिएको हुन्छ । नेपालको संविधान, निजामती सेवा ऐन र सुशासन ऐनले नागरिकको अपेक्षा मुताविकको गुणस्तरीय सेवा वितरणमा जोड दिएका छन । यद्यपि निरन्तर सुधार र जनताको अपेक्षा सम्बोधन हुन नसकदा सार्वजनिक सेवा वितरणका यी दुवै माध्यमहरू कमजोर हुँदै गएको तितो यथार्थ हाम्रा सामु छ ।

सेवा प्रवाहमा निजामती सेवाको भूमिका

  • सरकारी नियम कानून र नीतिको कार्यान्यन गरेर,
  • नागरिकलाई प्रत्यक्ष सेवाको वितरण गरेर,
  • नागरिक गुनासो सुनुवाई गरेर,
  • सरकार र नागरिकबीच योजकको रूपमा रहेर,
  • नजिकको सरकारको रूपमा उपस्थिति जनाएर,
  • स्थायी सरकारका रूपमा सेवाको निरन्तरता दिएर,
  • नागरिकको विकासका आकांक्षा सम्बोधन गर्न विकास प्रशासकका रूपमा कार्य गरेर,
  • विविधता व्यवस्थापन मार्फत सेवामा समाजको लघुरुप प्रतिबिम्बित गरेर,
  • नागरिकको नजिकको निकायवाट सेवा वितरण गरेर,
  • सेवाको लागत, समय, श्रम घटाएर र गुणस्तर बढाएर,
  • नागरिकमुखी सेवा वितरण गरी नागरिको मन जितेर,
  • सेवाग्राहीको अधिकारको सम्मान गरेर,
  • सरकारविहिनताका अवस्थामा पनि नागरिकलाई आड भरोसा दिएर,
  • नवपर्वतनीय सेवाहरू वितरण गरेर,
  • प्रभावकारी सूचना सम्पे्रषण गरेर,
  • सेवाग्राही सचेतना र जागरण अभिवृद्धि गरेर,

सार्वजनिक सेवा वडापत्रमा गर्नुपर्ने सुधार

सेवा वितरणकारी निकायले नागरिकको सेवाकालागि जारी गरेको घोषणापत्र वा प्रतिज्ञापत्रलाई सार्वजनिक सेवा वडापत्र भनिन्छ । सन् १९९२ मा वेलायतबाट शुरु भएको सार्वजनिक सेवा वडापत्र भनिने नागरिक वडापत्र नेपालमा २०५६ सालबाट लागू भएको हो । यसलाई थप प्रभावकारी बनाउन देहायको सुधार गर्नुपर्दछ ।

  • सेवा वडापत्रलाई थप स्पष्ट र वस्तुनिष्ठ गराउने,
  • सबै निकायमा क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागु गर्ने,
  • क्षतिपूर्ति र दावी प्रकृयालाई सरल बनाउने,
  • क्षतिको भागीदार सम्वन्धीत कर्मचारी हुने व्यवस्था समावेश गर्ने,
  • सेवा वडापत्र कार्यान्वयनको अवस्थावारे वस्तुनिष्ठ मूल्यांकन गराउने,
  • सबैले देख्ने र बुझ्ने गरी स्पष्टसंग राख्ने,
  • आधुनिक विद्युतीय प्रविधि प्रयोग गर्ने,
  • सेवा वडापत्रमा समय समयमा संशोधन र परिवर्तन गर्ने,
  • कार्यान्वयन कार्यविधि वनाउने,
  • नागरिक सहजताका लागि संकेत चिन्हहरूको प्रयोग बढाउने,
  • कार्यवोझ, कर्मचारी संख्या र सेवाको प्रकृति मिलान गर्ने,
  • सेवा वडापत्रवारे व्यापक प्रचार प्रसार गर्ने,
  • सेवा प्रवाहको प्राथमिकता निर्धारण गर्ने,
  • स्थानीय भाषामा समेत राख्ने व्यवस्था मिलाउने,
  • गैर सरकारी संस्था तथा नागरिक समाजका व्यक्ति र संस्थासंग सहकार्य गर्ने,
  • अन्तरनिकाय प्रभावकारी समन्वय गर्ने,

अन्त्यमा,

नागरिकलाई प्रभावकारी सार्वजनिक सेवाको वितरणकालागि निजामती सेवा र त्यसको बजारीकरणका लागि सार्वजनिक सेवा वडापत्र रहेको हुन्छ । राज्यको आधारभूत कर्तव्य नागरिकमुखी सेवा वितरण मार्फत जनको मन जित्नु हो । त्यसकालागि जिवन्त अंग निजामती सेवा र त्यसको मार्गदर्शन गर्ने सेवा वडापत्रलाई प्रभावकारी बनाउनु पर्दछ । सेवाको वरिपरि जनता नभई जनताको वरिपरि सेवा पुर्याउन गतिशिल र संघीयता अनुरूपको निजामती सेवा र वस्तुनिष्ठ सेवा वडापत्र आजको खांचो हो ।

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)

लोक सेवा परीक्षा तयारीसँग सम्बन्धित यसअघि प्रकाशिन सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्