NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मिडियाबारे रविको टिप्पणी : कुन पत्रिकाले आज के लेखे ?

काठमाडौं । सरकारबाट बाहिरिने पार्टी निर्णयपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने मूलधारका केही मिडियाप्रति निकै आक्रोसित देखिए । पत्रकारिताको लक्ष्मण रेखा पार गरी अफवाह फैलाइएको तथा चरित्र हत्या गरिएको भन्दै उनले केही मिडिया सञ्चालक र सम्पादकमाथि गम्भीर प्रश्न उज्याए ।

रवि लामिछानेको आइतबारको पत्रकार सम्मेलनलाई लिएर तरंग उत्पन्न भइरहेका बेला आरोप खेपेका केही छापा माध्यम संयमित देखिएका छन् भने केहीचाहिँ प्रतिवादमै उत्रिएका छन् ।

आइतबारको पत्रकार सम्मेलनमा तारो बनेको कान्तिपुर दैनिक रविविरुद्ध आक्रामक ढंगले प्रस्तुत भएको छ । पहिलो पृष्ठ करिब रविविरुद्ध खर्चिएको यो पत्रिकाले तेस्रो पृष्ठमा दुई समाचार र छैठौं पृष्ठमा सम्पादकीय तथा मूल लेख छापेको छ, रविसँग सम्बन्धित । निकै आक्रोषपूर्ण र कतिपय आपत्तिजनक अभिव्यक्ति दिएका रविले कान्तिपुरमाथि केही जायज प्रश्नसमेत गरेका थिए, तर ती प्रश्नलाई भने कान्तिपुरले पन्छाएको छ ।

‘रविले देखाए वास्तविक छवि’ शीर्षकको आजको मूल समाचारमा कान्तिपुरले मिडिया हाउसका प्रकाशक र पत्रकारमाथि गाली गलौज गर्दै मिडिया हाउस घेर्ने र भीडको नेतृत्व गरेर आफूअनुसार कारबाही गर्ने धम्की निन्दनीय भएको लेखेको छ ।

‘रविलाई दर्जन प्रश्न’ शीर्षकको पहिलो पृष्ठमै छापिएको अर्को सामग्रीमा कान्तिपुरले रविमाथि उठेका १२ प्रश्न प्रस्तुत गर्दै कुनचाहिँ तथ्य आधारहीन हुन् भनेर प्रश्न गरेको छ ।

कानूनविद् र पत्रकारको धारणा समेटेर आफ्नो तेस्रो पृष्ठमा पनि कान्तिपुरले अर्को सामग्री प्रस्तुत गरेको छ । जसमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष सुरेश आचार्य, शिव गाउँले, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईलगायतले रविको अभिव्यक्तिको आलोचना गर्दै आफूलाई कानूनमाथि राखेको टिप्पणी गरेका छन् ।

संसदमा रविको समर्थन गर्दै बोलेका एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइलाई पनि कान्तिपुरले समाचार बनाएको छ । आइतबारको संसद् बैठकमा बोल्दै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले गरेको फैसलाबाट कसले न्याय पायो भन्ने प्रश्न गरेका थिए ।

छैठौं पृष्ठमा रवि लामिछानेको धम्कीपूर्ण घृणावाद शीर्षकमा सम्पादकीय लेखिएको छ । जसमा उसले भनेको छ– प्रतिनिधिसभाको चौथो ठूलो दलका प्रमुखले सञ्चारमाध्यम, सम्पादक, प्रकाशकलगायतमाथि यो तहको गालीगलौज गर्नु, अप्रमाणित लाञ्छना लगाउनु र कारबाही गर्ने धम्कीमा उत्रनु अनपेक्षित मात्र होइन अस्वस्थकर पनि छ । उपप्रधान तथा गृहमन्त्री गुमाउनुपरेको र पुनप्र्राप्त गर्न नसकेको झोंकमा आफ्नो पदीय हैसियत बिर्सिएर लामिछानेले जेजस्तो बर्बराहट गरेका छन्, त्यसले उनकै कदमात्र नराम्ररी घटाएको छैन,नेपाली राजनीतिमै दूषित सन्देश सञ्चार गरेको छ ।’

रविसँग सम्बन्धित अच्युत वाग्लेको लेखलाई कान्तिपुरले आजको मूल विचार बनाएर छापेको छ । लेखमा वाग्लेले संविधानवाद, विधिको शासन, स्वार्थको द्वन्द्वमा परहेज, निजी आचरण, विचारको राजनीति, सार्वजनिक विनयशीलता, पारदर्शिता आदि सबै पक्षमा लामिछाने निर्लज्ज प्रस्तुत भएर राजनीतिमा गलत मानक प्रस्तुत गरेको निचोड निकालेका छन् ।

नयाँ पत्रिकाले मिडियाबारे रविले दिएको अभिव्यक्तिलाई उल्लेख गरे पनि उसको सत्तारोहणमा लागेको ब्रेक र यसले पार्ने प्रभावबारे विवेचना गरेको छ ।

रविको तारो बनेको अर्को मिडिया अन्नपूर्ण पोस्ट् दैनिकले रास्वपाले सरकारबाट बाहिरिने निर्णय लिएको विषयलाई मात्रै समाचार बनाएको छ । रविले मिडियाबारे दिएको अभिव्यक्तिबारे अन्नपूर्णले स्थान पनि दिएको छैन र टिप्पणी पनि गरेको छैन । बरु पत्रकार महासंघले रविको अभिव्यक्तिबारे आपत्ति जनाउँदै निकालेको विज्ञप्तिलाई भित्री पृष्ठमा समाचार बनाएर छापेको छ ।

अर्को दैनिक पत्रिका नागरिकले रास्वपाको सरकारबाट बाहिरिने निर्णय र रविको अभिव्यक्तिलाई मुख्य समाचार बनाएर छापेको छ । कान्तिपुरले जस्तै नागरिकले पनि सञ्चारमाध्यम, त्यसका सञ्चालक र पत्रकारमाथिको लाञ्छनाको निन्दा गरेको छ ।

सरकारी मुखपत्र गोरखापत्रले रास्वपा सरकारबाट बाहिरिएको विषयलाई पहिलो पृष्ठमा स्थान दिए पनि मिडियाविरुद्ध लामिछानेले पोखेको आक्रोसलाई स्थान दिएको छैन । नेपाल पत्रकार महासंघले उनको अभिव्यक्तिपछि जारी गरेको विज्ञप्तिलाई भने उसले समाचार बनाएको छ ।

हेर्नेस् आजका पत्रपत्रिकाका मूल पृष्ठ

ताजा अपडेट

नेपालवाच विशेष