NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

प्रचण्ड, भो अब पुरानै गठबन्धनमा फर्क

अदूरदर्शिता र अविश्वासको कारण नेपाली राजनीतिका नायक तथा नेपाली कांग्रेसका सभापति देउवाले माछो–माछो, भ्यागुतो गर्दा देउवाको जालभित्रको चिप्ले माछो चिप्लिएर एमाले अध्यक्ष ओलीको ढडियामा परेकाले अहिले ओलीको भागमा मासु र भात अनि देउवाको चाहिँ आँखामा आँसु र पुर्पुरोमा हात भएको छ ।

एक्लै सबै कुम्ल्याउने महत्त्वकांक्षा पाल्दा देउवा भुइँको टिप्न त असफल भएका छन् नै उल्टो पोल्टाको पोखिएको छ । हातमा रहेको संघीय सरकारको नेतृत्व मात्र होइन, प्रदेश सरकारको नेतृत्व गर्ने अवसरसमेत कांग्रेसले गुमाएको छ । यसले कांग्रेसभित्र एकखाले भाँडभैलो नै मच्चिएको छ । जुन अस्वाभाविक होइन ।

देउवा यो हविगतमा पुग्नुका केही कारणहरू छन् । सुन्दा अपत्यारिलो लागे पनि देउवा सत्तारोहणमा अल्पविराम लाग्नुको एउटा कारणचाहिँ ज्योतिषी हुन् । जसले एमाले अध्यक्ष ओलीले प्रचण्डलाई स्वीकार नगर्ने जिकिर गरेर देउवालाई अतिश्य भरोसा दिलाए । यो आकष्मिक राजनीतिक घटनापछि पीडाले रन्थनिएका देउवाको बडी ल्याङ्ग्वेज प्रचण्डको शपथ ग्रहण समारोहमा हेर्न लायक थियो ।

तर प्रचण्डले कानमा खुसुक्क के भनिदिए कुन्नी, एकाएक प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा कांग्रेस पुग्यो । अन्तर पार्टी कलहका बावजुद ह्विप जारी गरेर ८९ जना कांग्रेसी सांसदजनलाई प्रचण्डलाई विश्वासको मत दिन बाध्य पारियो । यो देउवाले मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनपछि गरेका एक पछि अर्को गल्तीको एक उदाहरण हो ।

कांग्रेसले दिएको विश्वासको मतको गुन तिर्न प्रचण्डले कांग्रेस सांसदलाई सके सभामुख, नभए उपसभामुख बनाउन चाहेका थिए । तर देउवाको घाउमा मल्हमपट्टी गर्ने प्रचण्डको गुप्त योजनालाई एमालेले समाप्त पारिदियो । अब देउवा, पौडेल र कांग्रेसको अन्तिम र झिनो आशा राष्ट्रपतिमा छ ।

ऊ यो पद जितेर सके गठबन्धन भत्काउने नसके प्रमुख प्रतिपक्षीको भूमिका रहने दाउमा देखिन्छ । देशको पहिलो दल यो हविगतमा पुग्नुको कारण अरु केही नभएर उनै देउवाको स्वार्थ, अदूरदर्शिता र गलत चालबाजी हो ।

उता, नेपाली राजनीतिका कूटनीतिज्ञ एवं खलनायक एमाले अध्यक्ष केपी शर्मा ओलीले ताजा जनमतका कारण गुमेको राजनैतिक भविष्य फिर्ता गर्ने प्रयासलाई जारी राखेका छन् । गत पुस १० सम्म कांग्रेससहितको तत्कालीन सत्तासाझेदार दलको गठबन्धनमा रहेको माओवादी केन्द्रलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नुको ध्येय नै यही थियो । अजिंगरको आहरा दैवले जुराउँछ भनेझैं प्रचण्ड एमालेको शरणमा आउँदा ओलीको तालुमा आलु फलेको छ ।

‘कहाँ जालास मच्छडिया मेरै ढडिया‘ भनेर निलोमुख लगाएर बसेका ओली एक्कासि पासा पल्टिएपछि सत्ता कब्जाको प्रयासमा छन् । सभामुख हात पारेको एमाले राष्ट्रपति जसरी हुन्छ आफ्नै पोल्टामा पार्ने रणनीतिमा छ । कथं यो योजना सफलिभूत भएमा प्रधानमन्त्री प्रचण्ड एमालेको फलामे पिंजडाभित्र उनीहरूको निर्देशनअनुसार, “दाहालजी एमाले कहो, दाहालजी केपी ओली कहो” को रटान रट्दै अढाइ वर्ष बिताउन बाध्य हुनेछन् ।

हुन त नेकपा विघटनपश्चातको एक पत्रकार सम्मेलनमा सोधिएको तपाईंले झण्डै दुई तिहाइको नेकपाको सरकारबाट के पाउनु भयो ? भन्ने प्रश्नमा प्रचण्डले अरू खास त केही पनि पाइनँ, तर भविष्यमा काम लाग्ने ज्ञानगुनका कुराहरु पाएँ भनेका थिए । तर प्रचण्डको अहिलेको गतिविधि हेर्दा उनले खासै सिकेजस्तो लाग्दैन ।

प्रतिगमनविरुद्घको संघर्षबाट हिजो निर्माण भएको पाँचदलीय गठबन्धन र सहयात्री दलहरूलाई छाडेर प्रतिगमनको सातदलीय गठबन्धनको नेतृत्व गर्न एक्लै जानु भरपर्दो ज्ञानको सिकाइ किमार्थ होइन । त्यसमाथि पनि सभामुख र राष्ट्रपतिसमेत एमालेलाई नै सुम्पिनु राजनीतिको अल्प ज्ञान सिबाय अरू केही होइन । यसले त प्रमलाई पिँजडाभित्रको सुँगा बनेर बस्न वा राजीनामा गरी सरकार छाड्न बाध्य गराउनेछ ।

पुरानै गठबन्धनको सहयोग रहँदा मात्र पनि भारी बहुमतमा हुने प्रचण्डले नेकपाभित्रको विगतको संघर्षबाट केही ज्ञानसीप हासिल गरेका हुन् भने ओली र एमालेसित उनी डराउनु पर्दैन । बरु, कांग्रेसलाई राष्ट्रपति दिएर शक्ति सन्तुलन मिलाउँदै राष्ट्रिय सहमति कायम गर्छु, विवेक र धैर्यता देखाएर तपाईंहरूले पनि साथ दिनुहोस् भनेर एमालेलाई भन्न सक्नुपर्छ ।

नभए आफ्नो विचार गर भनेर प्रचण्डले औंला ठड्याएर ओलीलाई भन्न सक्नुपर्छ । प्रचण्डमा यो तहको विश्वास र अडान टुसाएको अवस्थामा मात्र एमाले सहमति गर्न बाध्य हुनेछ, अन्यथा पेलेरै अगाडि बढिरहनेछ ।

प्रचण्डले अडान लिएको खण्डमा एमालेसँग कि त त्यसलाई मान्ने कि प्रतिपक्षी दलको भूमिकामा खुम्चिने हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा नै सरकारबाट हटेको अवस्थामा पनि प्रचण्डको सरकारलाई कुनै नोक्सानी हुँदैन । प्रचण्डले आफ्नै नेतृत्वमा ५ वर्ष पाँचदलीय पुरानै गठबन्धनको सरकार चलाएर आफ्ना राजनैतिक सपना पूरा गर्ने मौका पाउनेछन् । उच्चस्तरीय समितिको संयोजक बाबुराम भट्टराई नै हुुनुपर्छ । यसमा प्रचण्डले खुट्टा कमाउने होइन । त्यसैले हिजोको ज्ञानसीपलाई पूर्ण उपयोग गर्न प्रचण्ड लाग्नुपर्छ । अन्यथा भोलि पनि यस्तै दबाबमा प्रचण्ड बसिरहनु पर्नेछ । यो अनुमान मात्र होइन, वस्तुगत तथ्य पनि हो ।

(लेखक श्री ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालयका पूर्वप्राचार्य हुन् । )