NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

राष्ट्रिय सभा उपनिर्वाचन : लुम्बिनीमा एमालेका उम्मेदवारलाई नाउपाको चुनौती

काठमाडौं । लुम्बिनी प्रदेशमा बुधबार हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई सत्तारूढ दल नागरिक उन्मुक्ति पार्टीले चुनौती दिएको छ ।

उपनिर्वाचनमा एमालेबाट केन्द्रीय समिति सदस्यसमेत रहेका कुमार दसौंदीले उम्मेदवारी दिएका छन् । उनलाई चुनौती दिँदै नागरिक उन्मुक्ति पार्टीले राजेन्द्रवीर रायलाई उम्मेदवारी बनाएको छ । विपक्षी कांग्रेसबाट माधवप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् ।
माघ ११ गते राष्ट्रियसभा सदस्य पदका लागि तीन दलबाट तीन जनाको उम्मेदवारी दर्ता भएको थियो ।

दसौदीको प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल रहेका छन् । समर्थकमा राप्रपाकी प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ रहेकी छिन् । आचार्यको प्रस्तावकमा दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी रहेका छन् ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका रायको प्रस्तावक र समर्थकमा प्रदेशसभा सदस्य द्वय राजकुमार चौधरी र धर्मबहादुर चौधरी रहेका छन् ।
एमाले राष्ट्रिय सभाका प्रमुख सचेतकसमेत रहेका रूपन्देहीका खिमलाल भट्टराईले गत असोज २३ गते प्रतिनिधिसभा सदस्य बन्नका लागि राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार मतदान भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म दाङको घोराहीको कर्मचारी मिलन केन्द्रमा हुनेछ ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको हरेकको मतभार १८ हुनेछ । लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८७ जना, प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष २१८ गरी जम्मा ३०५ जना मतदाता रहेका छन् ।