NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

बोक्सीको आरोप लाउनेलाई पाँच वर्ष जेल सजाय

ओखलढुंगा । जिल्ला अदालत, ओखलढुंगाले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको छ ।

जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया एक वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही स्थानका दुई जनाविरुद्ध कैद सजायको फैसला भएको हो ।

बोक्सीको आरोप लगाई वृद्धालाई आगोले पोल्ने ५० वर्षीय दीपक विश्वकर्मा र २७ वर्षीया मुना विश्वकर्माविरुद्ध अदालतले कैद र जरिवानाको फैसला गरेको हो । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले दीपकलाई पाँच वर्ष कैदसहित रु ६० हजार जरिवाना र मुनालाई पाँच वर्ष कैदसहित रु ५० हजार जरिवानाको फैसला गरेको छ ।

सोही घटनामा संलग्न एक १७ वर्षीया किशोरीको हकमा उनका अभिभावक झिकाई वास्तविक अवस्था बुझी बाँकी कारबाहीको प्रक्रिया अगाडि बढाउने अदालतले जनाएको छ । पीडितलाई नगद रु ६० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसलासमेत भएको छ । दीपकले रु ३० हजार, मुनाले रु १५ हजार र रु १५ हजार स्थानीय तहले पीडित महिलालाई दिनुपर्ने अदालतबाट फैसला भएको ओखलढुङ्गा जिल्ला अदालतका स्रेस्तेदार नवीन खनालले बताए ।

बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को दफा (१२) २ मा उल्लेख भएको व्यवस्थाअनुसार सम्बन्धित स्थानीय तहले रु १५ हजार व्यहोर्नुपर्ने फैसला भएको स्रेस्तेदार खनालको भनाइ छ ।

विसं २०७५ वैशाख ८ गते दीपक, मुना र एक किशोरीले बोक्सीको आरोप लगाई वृद्धालाई कुटपिट गर्दै आगोले पोलेका थिए । पीडित वृद्धाले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामार्फत न्यायका लागि चार वर्षअघि जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए ।

जिल्ला न्यायाधीश आचार्यको इजलासले बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को दफा (३) १ (छ) बमोजिम कसुर ठहर गर्दै अदालतले सजाय तोकेको हो ।

जिल्लामा बोक्सी आरोपका थुप्रै घटना मिलापत्रमा टुङ्ग्याउने गरिए पनि अदालतमा पुगेको यो मुद्दा भने पीडितकै मागदाबीअनुसार फैसला भएको छ ।