NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

एमालेको विद्यार्थी संगठनमा प्यानल र गुट बनाउन निषेध

आगामी २, ३ र ४ फागुनमा काठमाडौंमा हुने अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनमा माउ पार्टी एमालेले गुट र प्यानल बनाएर प्रतिस्पर्धा गर्न निषेध गरेको छ । स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन यस्तो गरिएको एमालेको भनाइ छ । यसअघिका महाधिवेशनमा नेतानिकटका प्यानल बनाएर विद्यार्थी चुनावी मैदानमा उत्रिने गरेका थिए ।

एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियु इन्चार्ज माधव ढुंगेलले यतिवेला पार्टीमा फरक धार नभएकाले अनावश्यक गुटबन्दी गरेर समय खेर फाल्न नहुने बताए । विद्यार्थी संगठनका मुद्दामा एकीकृत गर्ने, विद्यार्थीका पक्षमा काम गर्ने गरी तयार हुनुपर्ने उनको भनाइ छ । एउटा पदमा जतिजनाले पनि प्रतिस्पर्धा भने गर्न सक्ने ढुंगेलले बताए । विद्यार्थीबीच लोकप्रियले चुनाव जितेर संगठनको नेतृत्व गर्ने र जसले विजय प्राप्त गर्न सक्दैन वा प्रतिस्पर्धामा सहभागी नभई बिदाइ हुनेलाई पार्टीले राम्रोसँग व्यवस्थापन गर्ने उनको भनाइ छ ।

आगामी महाधिवेशनबाट अनेरास्ववियुको कार्यसमिति सानो हुँदै छ । यसअघि भएको विधान अधिवेशनले कार्यसमिति १९९ सदस्यीय हुने व्यवस्था गरेको छ । अहिले ५१७ जनाको कार्यसमिति छ । अब एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, १० सचिव, एक कोषाध्यक्षसहित १९९ जनाको कार्यसमिति रहनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।