NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

राजमार्ग ठप्प पारेर गाउँपालिकाको खेलकुद प्रतियोगिता (भिडियोसहित)

काठमाडौं । सडक र सवारीको आवागमन सहज पार्नु राज्यका निकायको कर्तव्य हो । तर एउटा पालिकाले देशकै लाइफलाइन पृथ्वी राजमार्गको सवारी आवागमन नै ठप्प पारेर दौड प्रतियोगिता गरेको छ ।

धादिङको गजुरी गाउँपालिकाले गलौदीस्थित पृथ्वी राजमार्गको सडकमा सवारी आवागमन रोकेर दौड प्रतियोगिता आयोजना गरेको हो ।

गजुरी गाउँपालिकाका प्रवक्ता बद्रीप्रसाद जमकटेलले गाउँपालिकाद्वारा आयोजित पालिकास्तरीय दोस्रो रनिङ शिल्डअन्तर्गत शनिबार बिहान राजमार्गमा आवागमन रोकेर दौड प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिए ।

प्रवक्ता जमकटेलले रहरले भन्दा पनि ३००० मिटर लामो दौड प्रतियोगिताका लागि स्थान अभाव भएकाले जिल्ला प्रशासन र स्थानीय प्रशासनको अनुमति लिएर यस्तो गरिएको दाबी गरे ।

‘माघ २७ देखि सुरु अन्य प्रतियोगिता मैदानमा भइरहेका छन् । तर ३००० मिटर दौडका लागि स्थान अभाव भएपछि २०–२५ मिनेटका लागि राजमार्गको प्रयोग गरेका हौं,’ उनले भने ।

गाउँपालिकाले राजमार्ग कब्जा गरेर दौड प्रतियोगिता आयोजना गर्दा करिब ४५ मिनेर दुईतर्फी सवारी आवागमन ठप्प भएको थियो । यसक्रममा दमकललाई समेत प्रहरीले रोकेका थिए । सँधै सवारीको उच्च चाप रहेको पृथ्वी राजमार्ग ठप्प हुँदा देशभरबाट काठमाडौं आउने र काठमाडौंबाट बाहिरिएका यात्रुहरूले घण्टौं सास्थी व्यहोरेका छन् ।