NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

चितवन–२ मा रविको दोस्रो अग्निपरिक्षा, उत्साहित मतदाता

काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेको चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन गराउने तयारी गरेको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतले उक्त क्षेत्रबाट निर्वाचित रास्वपाका सभापतिसमेत रहेका सांसद रवि लामिछानेको पद खारेज गरेपछि आयोगले उपनिर्वाचनको मिति घोषणा गरेको हो ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको ६४ दिनमै पदमुक्त भएका लामिछाने पुनः भारी मतले विजयी हुनेमा निकै उत्साहित रहेका छन् । अमेरिकी नागरिकता त्यागेपश्चात् संविधान अनुसार नेपाली नागरिकता पुनः प्राप्तिका लागि सम्बन्धित निकायलाई निस्सा नदिएको सानो त्रुटिका कारण एकैपटक उनले पार्टी सभापति, संसदीय दलको नेता, सांसद र मन्त्री पद गुमाएका थिए । सर्वोच्चको आदेशपछि जिल्ला प्रशासन कार्यालयमा पुगेर नेपाली नागरिकता लिएका उनी निर्वाचनको तयारीमा जुटेका छन् ।

मंसिर ४ मा भएको निर्वाचनमा लामिछानेले कांग्रेस र एमालेका प्रभावशाली नेतालाई अप्रत्यासित रूपमा फराकिलो मतान्तरले हराएका थिए । ४९ हजार ३०० मतसहित उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाए । प्रतिद्वन्द्वीसँग लामिछानेको मतान्तर ३४ हजार ३१२ रहेको छ । श्रेष्ठलाई माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलहरूको समर्थन रहेको थियो । अघिल्ला निर्वाचनमा लगातार सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका एमालेका प्रभावशाली नेता कृष्णभक्त पोखरेल १४ हजार ६५२ मतसहित तेस्रो स्थानमा चित्त बुझाए ।

पूर्वचर्चित सञ्चारकर्मीसमेत रहेका उनी सञ्चारकर्म छाडेर गत असारमा राजनीतिमा होमिएका थिए । राजनीतिमा आएको ५ महिनामै लामिछाने प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बन्न सफल भए । तर मन्त्री भएको ३२ दिनमै पदमुक्त भएकोमा निकै आक्रोसित भएका लामिछानेले पत्रकार सम्मेलन गरी मूलधारका ठूला मिडियामाथि खनिएका थिए । सत्ता सझेदार दलहरूप्रति मौन रहेका उनले सर्वोच्चको फैसलामाथि पनि निकै असन्तुष्टि पोखे । अदालतले आफूलाई न्याय नदिएपनि चितवनको जनताले अत्याधिक मत दिएर पुनः विजयी गराउने विश्वास लिएका छन् । आफूलाई मिडियाले लखेटीलखेटी गृहमन्त्री बनाएको र आगामी दिनमा प्रधानमन्त्री भएर छाड्ने दाबी गरे ।

सरकारबाट बाहिरिएपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेका लामिछानेले आफ्नो कारण चितवनका जनताले पटक–पटक दुःख पाएकोमा माफि मागे । चितवनको जनताले लगाएको गुन आफूले कहिल्यै नर्बिसिने प्रतिवद्धता जनाए ।

सत्ता गठबन्धनका साझा उम्मेदवार !

चितवन–२ बाट आगामी उपनिर्वाचनमा उठ्ने उम्मेदवारका विषयमा राजनीतिक दलहरूले अहिलेसम्म कुनै छलफल गरिसकेका छैनन् । रास्वपाले सर्वसम्मत रूपमा लामिछानेलाई नै उम्मेदवारका रूपमा अघि सारिसकेको छ । त्यहिअनुसार निर्वाचनको तयारीमा जुटिसकेको छ । सरकारबाट रास्वपा बाहिरिए पनि समर्थन भने कायमै राखेको छ । आगामी निर्वाचनसम्म यही गठबन्धन कायमै रहे गठबन्धनबाट साझा उम्मेदवार लामिछाने नै बन्ने सम्भावना बलियो छ । लामिछानेका प्रतिस्पर्धी एमालेका उम्मेदवार पोखरेलले उपनिर्वाचनमा लामिछानेलाई नै उम्मेदवार बनाउन सक्ने संकेत गरिसकेका छन् ।

‘पार्टी नेतृत्वले रवि–रवि भनिरहेका छन् । एमालेले उहाँलाई नै समर्थन गर्ने सम्भावना बलियो छ । नागरिकता विवाद अन्त्य भएपनि उहाँमाथि राहदानी सम्बन्धी मुद्दा कायमै रहेकाले रविको पद फेरी धरापमा पर्ने सम्भावना छ । यस विषयमा पार्टीले पुनर्विचार गरे म फेरी उम्मेदवार बन्न तयार छु’, उनले भने ।

सत्ताको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रले पनि लामिछानेलाई नै समर्थन गर्ने सम्भावन बलियो रहेको नेताहरूले बताएका छन् । कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा अहिले सत्ता साझेदार दलबीच कुनै छलफल नभएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हरिबोल गजुरेलले बताए ।

‘यस विषयमा दलहरूबीच छलफल भएको छैन । साझा उम्मेदवार बनाउने वा माओवादीले छुट्टै उम्मेदवारी दिने भन्नेबारे पार्टीले पछि निर्णय गर्छ । उपनिर्वाचनसम्म उहाँहरू गठबन्धनमै रहनुभयो भने साझा उम्मेदवार बन्ने सम्भावन छ’, उनले भने ।
गत निर्वाचनमा कांग्रेसका उम्मेदवार श्रेष्ठलाई समर्थन गरेको माओवादीले अब के गर्ने भन्ने विषयमा राष्ट्रपतिको निर्वाचनपछि मात्र निर्णय उनको भनाइ छ । राप्रपा पनि गठबन्धनमा रहेकाले उनको समर्थन लामिछानेलाई नै हुने सम्भावना बलियो रहेको छ ।

 भारी मतले अगाडि

यो निर्वाचन क्षेत्रमा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर नगरपालिकाको १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ गरी १० वटा वडा पर्छन् । एक लाख २५ हजार ३८० मतदाता रहेका छन् । कुल खसेको सदरमत मध्ये समानुपातिकमा रास्वपाले ३५ हजार ९४५ मत पाएको थियो । दोस्रो स्थानमा रहेको एमालेले १६ हजार ७८४ मत पायो । तेस्रोमा रहेको कांग्रेसले १२ हजार १३२ मत पाएको छ । माओवादी केन्द्रले ८ हजार ४०७ मत पाएको छ । यसैगरी राप्रपाले ३ हजार २१८ मत पाउँदा एकीकृत समाजवादीले ६१६ मत पायो ।

गएको निर्वाचनमा दलहरूले पाएको समानुपातिक मत हेर्दा लामिछाने एक्लै निर्वाचनमा सहभागी भएपनि अत्याधिक मतले जित्ने सम्भावना छ । त्यसमा गठबन्धन दलहरूका उम्मेदवारले पाएको मतसमेत जोड्दा लामिछानेको ४९३००, पोखरेलको १२ हजार १३२, माओवादीको ८ हजार ४०४ र राप्रपाका उम्मेदवारले ९५५ मत पाएका छन् । यी सबै मत जोड्दा लामिछानेको जम्मा मत ७० हजार ७९१ मत हुन आउँछ । आगामी निर्वाचनमा उनको पक्षमा थप स्वतन्त्र मत थप बढ्ने सम्भावना त्यतिकै रहेको छ ।

त्यसैले वर्तमान गठबन्धन कायमै रहेमा र गठबन्धनको साझा उम्मेदवार भएमा लामिछानेले अत्याधिक मत पाउने देखिन्छ । उनी सरकारमा सहभागी भएपनि परिक्षण नभइ बाहिरिएको र नागरिकता प्रकरणमा लामिछानेलाई फसाइएको आम मानिसको बुझाइ छ । राज्य संयन्त्र असफल बनाउन ठूला मिडियाको ‘सिन्डिकेट’ प्रमुख भूमिका रहेको वास्तविकता उनले बाहिर ल्याएपछि लामिछानेमाथि सहानुभूति झनै बढेको छ ।

अघिल्लो निर्वाचनमा परम्परागत दलको गतिविधिबाट असन्तुष्ट रहेका मतदाता अत्याधिक मत पाएका लामिछानेले यो उपनिर्वाचनमा थप मतप्राप्त गर्ने सम्भावन रहेको प्रतिस्पर्धी दलहरूले नै स्वीकार गरेका छन् । दुई दिन चितवन बसाईमा उनीमाथि देखिएको जनताको क्रेजलेसमेत लामिछानेमाथिको लोकप्रियतालाई कुनै असर नपरेको देखिन्छ ।

रविको बढ्दो क्रेज

लामो समय टेलिभिजन प्रस्तोता रहेका उनले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममार्फत् खाडी मुलुकमा दुःख पाएका नागरिक, ठगिएका, न्याय नपाएका व्यक्तिहरूको समस्या उजागर गरी निकै लोकप्रिय भएका थिए । त्यहि लोकप्रियताको बलमा उनले परम्परागत दललाई चुनौती दिँदै रास्वपालाई २० सिट दिलाएका थिए । तर सरकारमा गएको एक महिनामै बाहिरिएपछि लामिछानेको लोकप्रियता झनै मलजल गर्ने काम गरेको छ ।

आगामी उपनिर्वाचनमा उनले पहिलेको भन्दापनि बढी मत ल्याएर विजयी हुने पूर्वमन्त्री तथा रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले दाबी गरे । लामिछानेसँगै चितवन पुगेका उनले त्यहाँका आम मतदाता र चितवनवासीले उनलाई भारी मतले जिताउन निकै उत्साहित रहेको जिकिर गरे ।

‘सरकारबाट बाहिरिएपछि आइतबार हामी चितवन–२ का मतदतालाई भेट्न गएका थियौं । सर्वोच्चको फैसलाबाट जनतामा केही निराशा पैदा भएपनि रविलाई जिताउन आम मतदाता निकै उत्साहित भएको पाएँ । पहिलेको तुलनामा उहाँको क्रेज झनै बढेर गएको देखियो । हामी निकै उत्साहित छौं । उहाँलाई जिताउन सिंगो पार्टी कमिटी र संसदीय दल लाग्नेछ’, उनले भने ।

रविमाथि खतराको घण्टी कामयै

नागरिकता प्रकरणमा सर्वोच्च अदालतले कारवाही सम्बन्धमा कुनै आदेश नगरी रविमाथि उदारता देखाएको छ । अदालतको फैसला अनुसार आगामी निर्वाचनमा उम्मेदवार बन्न उनी योग्य रहेका छन् । त्यहि अनुसार उनले नेपाली नागरिकता पुनः प्राप्त गरिसकेका छन् । तर गलत सूचना दिएर राहदानी दुरुपायोग गरेको आरोपमा उनीमाथि सरकारी वकिलको कार्यालयमा उजुरी परिसकेको छ ।

युवराज पौडेलले दिएको उजुरी प्रहरी परिसर काठमाडौंले दर्ता गर्न नमानेपछि उनले सरकारी वकिलको कार्यालयमा उजुरी दर्ता गरेका हुन् । पौडेलले दिएको उजुरीको आधारमा वकिलको कार्यालयले एकसथ तीन निकायबाट विवरण झिकाएर अनुसन्धान सुरु गरिसकेको छ । दोहोरो राहदानी लिएको लामिछाने आफैले पनि स्वीकार गरिसकेका छन् । यसप्रकरणमा सर्वोच्च अदालतमा मुद्दा दायर भए लामिछाने उम्मेदवार बन्न अयोग्य बन्न सक्ने अधिवक्ता रामनारयणा विडारीले बताएका छन् ।

‘लामिछानेले राज्यका निकालयलाई झुटा विवरण दिएर राहदानी लिनुभएको छ । जनु नागरिकताको आधारमा उहाँले राहदानी लिनुभयो त्यो सर्वोच्चले खारेज गरिसकेको छ’, उनले भने, ‘त्यस्तो अवस्थामा लामिछानेमाथि सर्वोच्चमा मुद्दा परे तीन वर्षसम्म कैद र तीसहजार रुपैयाँसम्म जरिवाना हुने भन्ने व्यवस्था ऐनमा छ । झुटो विवरण बुझाएर पासपोर्ट लिनु कानुन अनुसार दण्डनीय मानिन्छ ।’

लामिछानेले १० फागुन २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट शुरुमा नागरिकताको प्रमाणपत्र लिएका थिए । अमेरिका पुगेको उनले २१ फेबु्रअरी २०१४ मा त्यहाँको नागरिकता प्राप्त गरेका थिए । ११ मे २०१५ मा नातेदार भिसामा उनी नेपाल फर्किएका थिए । त्यसैवर्ष उनले नेपाली राहदानी लिएका थिए । करिब ३ वर्षसम्म उनले एकसाथ अमेरिका र नेपालको पासपोर्ट राखेको उनीमाथि आरोप छ । यी तथ्य र प्रमाणको आधारमा रविमाथि कारवाही हुन सक्ने कानुनविदले जिकिर छ ।