NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बम बराबर खतरनाक हुन्छन् यस्ता ग्यास सिलिन्डर

काठमाडौं । खाना पकाउन ग्यास सिलिन्डरको प्रयोग बढ्दो छ । के सहर, के गाउँ, सबैतिर सर्वप्रिय छ, ग्यास । नेपालभर झण्डै १० लाख हाराहारीमा ग्यास सिलिन्डर रहेको अनुमान छ ।

ग्यास प्रयोग गर्न जति सहज छ, उत्तिकै संवेदनशील र खतरनाक पनि छ । सानो असावधानीले मात्रै पनि यसबाट मानिसको ज्यान जानसक्छ ।

हामीले गर्ने सानाभन्दा साना गल्तीले दुर्घटना निम्तिन सक्ने भएकाले प्रयोगमा सधैं चनाखो हुनुपर्छ । त्यसो त,हामीले प्रयोग गर्ने ग्यास सिलिन्डर कस्तो हुने भन्ने मापदण्ड बनाइएको छ । कुनै अप्रिय घटना नहोस् भन्नका खातिर यस्तो मापदण्ड लागू गरिएको हो । मापदण्डमा ग्यास सिलिन्डर पुनः भरेर प्रयोग नहुने अवस्था उल्लेख गरिएको छ ।

यस्ता मादपण्ड पालना भए/नभएको नियमन गरी कारबाही गर्ने निकाय नेपाल आयल निगम हो । निगमले ग्यासको सुरक्षित र मर्यादित प्रयोगका लागि एलपी ग्यास विनियमावली, २०६५ नै जारी गरेको छ । तर निगमले यसप्रति जुन तहमा क्रियाशीलता देखाउनुपर्ने हो, गरेको छैन । निगमले आफ्नो क्षेत्राधिकारभित्र पर्ने काम इमानदारितापूर्वक नगर्दा गैरजिम्मेवार ग्यास उद्योगीले उपभोक्तामाथि खेलबाड गर्दै सुरक्षा खतरा भएका संवेदनशील ग्यास सिलिन्डर उपभोक्ताको भान्छामा पुगेका छन् । परिणामतः अप्रिय घटनाहरू हुँदै आएका छन् ।

नेपाल आयल निगमका अनुसार, देहायको अवस्थामा ग्यास सिलिन्डर प्रयोग गर्नु खतरनाक हुन्छ ।

१. १४.२ केजीको रातोवाहेक अन्य रंगको सिलिण्डर भएमा ।

२. सिलिण्डरमा तरलीकृत पेट्रोलियम ग्यासवाहेक अन्य पदार्थ भएमा
३. भल्भमा कुनै पनि चिल्लो पदार्थ भएमा
४. पुनः जाँच गर्नु पर्ने मिति नाघेका सिलिण्डरहरु भएमा
५. ग्यास सिलिण्डरको पिँध र घाँटी काटी जोडेको सिलिण्डर
भएमा ।
६. खाली सिलिण्डरको तौल सिलिण्डरमा उल्लिखितभन्दा बढी भएमा
७. सिलिण्डर कुच्चिएको वा रिपेयरिङ्ग गरेको भएमा ।