NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

ग्यास दुर्घटनामा तीन वर्षमा १० जनाको मृत्यु

काठमाडौं । खाना पकाउने ग्यास लिक भएर हुने आगलागी वा सिलिन्डर पड्किएर भएका दुर्घटनामा परी बर्सेनि कैयौँ नागरिकले ज्यान गुमाइरहेका छन् । कतिपय अंगभंग हुने गरेका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा ग्याससँग सम्बन्धित दुर्घटनामा १० जनाको ज्यान गएको छ, ४५ घाइते भएका छन् ।

तीन वर्षमा देशभर ग्याससँग सम्बन्धित ३६ दुर्घटना भएको प्रहरीको तथ्यांक छ । जसमध्ये ३२ दुर्घटना ग्यास ‘लिक’ हुँदा भएका छन् । दुईवटा दुर्घटना भने सिलिन्डर विस्फोटबाट भएका छन् । ‘खाना पकाउने ग्याससँग सम्बन्धित अधिकांश दुर्घटना ग्यास ‘लिक’ हुँदा भएका छन् । सिलिन्डर विस्फोटपछि भएका दुर्घटना निकै कम छन् । त्यसैले भान्सामा ग्यास ‘लिक’ भए–नभएको जानकारी लिन उपभोक्ता आफैँ सचेत हुन आवश्यक देखिन्छ । उपभोक्ताले ग्यास चुलो, रेगुलेटर, पाइपको अवस्था वेलावेला परीक्षण गर्नुपर्ने हुन्छ,’ प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलले भने ।

प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा बिहीबार (४ फागुन)सम्म १३ घटना भएका छन् । जसमा दुईजनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । त्यस्तै, आव ०७८/७९ मा भएका १३ घटनामा परी पाँचको मृत्यु र १६ घाइते भएका थिए भने आव ०७७/७८ मा ग्याससम्बन्धी १० घटना भएका थिए, जसमा तीनजनाको ज्यान गएको थियो भने १० जना घाइते भएको प्रहरीको तथ्यांक छ ।

गुणस्तर तथा नापतौल विभागकी उपमहानिर्देशक ज्योति जोशी भट्टले ग्याससम्बन्धी दुर्घटना न्यूनीकरणका लागि उपभोक्ताहरूले पनि उत्तिकै सचेतना अपनाउनुपर्ने बताइन । उनकाअनुसार प्रत्येकपटक खाना पकाइसकेपछि ग्यासको रेगुलेटर राम्ररी बन्द भए/नभएको यकिन गर्नुपर्ने, प्लास्टिकको पाइपको सट्टा गुणस्तरीय होज पाइपको प्रयोग गर्नुपर्ने, ग्यास सिलिन्डर सकेसम्म भान्सा कोठाबाहिर राख्नुपर्ने, भरिएको अर्को सिलिन्डर भान्सामा नराख्ने, चुलो र सिलिन्डरको दूरी अलि टाढा बनाउनुपर्ने, झ्याल–ढोका भएको कोठालाई मात्र भान्साको रूपमा प्रयोग गर्नेए तथा कोठामा ग्यास गनाएको महसुस भए बिजुलीका कुनै पनि स्विच अन–अफ गर्नु हुँदैन ।

हालसम्म २९ हजार सिलिन्डर नष्ट

निजी क्षेत्रले देशभर ५८ वटा ग्यास उद्योग सञ्चालन गरेका छन् । यी उद्योगका एक करोड ५० लाख सिलिन्डर बजारमा छन् । त्यसमध्ये एक करोड १६ लाख ८४ हजार आठ सय १० सिलिन्डरको तथ्यांक यकिन गरिएको छ भने थप करिब ३५ लाख सिलिन्डरको संख्या यकिन गर्ने काम भइरहेको एलपी ग्यास उद्योग संघले जनाएको छ ।

अहिलेसम्म १८ उद्योगले मात्रै मिति सकिएका २९ हजार एक सय ९६ थान ग्यास सिलिन्डर नष्ट गरेका छन् । सबैभन्दा धेरै कोसी ग्यास उद्योगले १० हजार एक सय ९० थान सिलिन्डर नष्ट गरेको छ । त्यस्तै, नेपाल ग्यासले नौ हजार सात सय २२, एचपी ग्यासले दुई हजार आठ सय ५३, सिद्धार्थ ग्यासले दुई हजार पाँच सय १५, सगरमाथा ग्यास उद्योगले एक हजार चार सय ६० थान सिलिन्डर मिति सकिएपछि नष्ट गरेका छन् ।

त्यसैगरी, गौरीशंकर ग्यास उद्योगले पाँच सय ९९, बाबा ग्यास उद्योगले पाँच सय ९४, त्रिशूल ग्यास उद्योगले तीन सय ९०, एभरेस्ट ग्यास उद्योगले दुई सय १५, लुम्बिनी ग्यास उद्योगले एक सय ५८, भेरी ग्यासले एक सय ५०, मारुती ग्यासले एक सय ४०, सुगम ग्यासले ९०, प्रिमा ग्यासले ५०, सुपर ग्यासले नौ र उग्रचण्डी ग्यासले पाँच थान सिलिन्डर मिति सकिएको पाएपछि नष्ट गरेको संघले जनाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।