NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कस्तो छ कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था ?

काठमाडौं । ग्यास दुर्घटनाका क्रममा जलन भई भारतको मुम्बईस्थित अस्पतालमा उपचाररत कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था स्थिर छ ।

भण्डारीका स्वकीय सचिव भुवन भुसालले उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै अवस्था स्थिर रहेको जनाएका छन् । भुसालका अनुसार, चिकित्सकहरूले अहिले काउन्सिलिङको काम गरिरहेका छन् ।

भण्डारीको आजै शल्यक्रिया गर्ने तयारी अस्पतालले गरेको छ । स्वकीय सचिव भुसालका अनुसार १०ः३० मा पहिलो र १ः३० मा दोस्रो सर्जरी हुनेछ । पहिलो सर्जरी सामान्य किसिमको भएको उनले बताए ।

भण्डारीको बुद्धनगरस्थित निवासमा बिहीबार राति ग्यास सिलिन्डर दुर्घटना हुँदा उनीसँगै आमा घाइते भएका थिए । घटनालगत्तै उद्धार गरेर दुवै जनालाई कीर्तिपुरस्थित वर्न अस्पताल लगिएकोमा आमाको बिहीबार बिहानै मृत्यु भएको थियो । भण्डारीलाई भने चिकित्सकको सल्लाहअनुसार भारत लगिएको हो । जलनले श्वास नली, फोक्सो, टाउकोलगायत अंगमा पुर्याएको क्षतिको उपचार सम्भव नभएको भन्दै चिकित्सकले भारत लैजान सिफारिस गरेका थिए ।