NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

७० करोड काण्डमा गोकुल बास्कोटामाथिको अनुसन्धान कहाँ पुग्यो ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटा सञ्चारमन्त्री तथा सरकारको प्रवक्तासमेत रहँदा भ्रष्टाचार सम्बन्धी अडियो सार्वजनिक भएको ठिक तीन वर्ष बितेको छ ।

उक्त घटना अहिले पनि नेपाली समाजमा ‘७० करोड काण्ड’ को रुपमा परिचित छ ।

घटना सार्वजनिक भएपछि परेको उजुरीका आधारमा अख्तियार दुरूपयोग तथा अनुसन्धान आयोगले बास्कोटामाथि छानविन अघि बढाएको थियो । तर राज्यको एउटा आयोजनामा ७० देखि ७५ करोड कमिशन प्राप्त गर्न भएको संवादमाथिको अनुसन्धान अख्तियारले अझै सकेको छैन ।

अख्तियारका प्रवक्ता श्याम भण्डारीले बास्कोटामाथिको अनुसन्धानबारे आफूलाई केही जानकारी नभएको बताए । उनले अनुसन्धान कहाँ पुग्यो ? र कुन चरणमा छ भन्ने आफुलाई जानकारी नै नभएको बताए ।

नेपालवाचसँग कुरा गर्दै प्रवक्ता भण्डारीले भने, ‘मलाई यस विषयको अनुसन्धानबारे कुनै जानकारी छैन । अनुसन्धान कहाँ पुग्यो भनेर मैले केहि पनि बताउन सक्दिन ।’

सेक्युरिटी प्रेस खरिद प्रकरणमा उनले एक स्वीस कम्पनीका नेपाली एजेन्ट विजयप्रकाश मिश्रसँग बार्गेनिङ गरेका थिए ।

करिब २३ अर्बको सेक्युरिटी प्रेस खरिदमा आफुलाई कम्तिमा ७० करोड दिनुपर्ने प्रस्ताव बास्कोटाको थियो । मिश्रले जम्मा ७० देखि ७५ करोड प्राप्त हुनेमा मन्त्री बास्कोटालाई ५५ करोडसम्म दिनसकिने बताएका थिए ।

दुई पक्षबीच लेनदेनमा सहमति हुन नसकेपछि मिश्रले आफैँ रेकर्ड गरेको उक्त अडियो घटना भएको डेढ वर्षपछि अर्थात फागुन ८, २०७६ मा सार्वजनिक गरेका थिए ।

उक्त संवादमा मन्त्री बाँस्कोटाले आफ्ना मन्त्रालयका कर्मचारीहरूमाथि अपशब्द पनि प्रयोग गरेका थिए । त्यही अडियाका कारण उनले मन्त्री पदबाट राजीनामा दिएपनि लेनदेन भएको संवाद आफ्नो नभएको दाबी गर्दै आएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष