NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

राष्ट्रपतिमा माओवादीको निर्णय कुर्दै कांग्रेस : कसलाई बनाउँदै छ उम्मेदवार ?

काठमाडौं । राष्ट्रपतिको उम्मेदवारलाई लिएर सत्ता संकट उन्मुख भइरहेको बेला पुरानै गठबन्धन ब्युँताउने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका शीर्ष नेताहरूबीच छलफल भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा आइतबार बालुवाटार पुगेका थिए । शीर्ष नेताबीचको भेटवार्तामा पुरानै गठबन्धन ब्युँताउने विषयमा छलफल भएको सहभागी एक नेताले बताए । प्रधानमन्त्रीसँगको भेटमा आफ्नो उम्मेदवारलाई समर्थन गर्न कांग्रेसले औपचारीक प्रस्ताव राखेको छ ।

‘कांग्रेसको उम्मेदवारलाई समर्थन गर्न हामीले प्रधानमन्त्रीज्यूसँग औपचारिक प्रस्ताव राखेका छौं । हाम्रो प्रस्तवमा उहाँ सकारात्मक हुनुहुन्छ । प्रधानमन्त्रीले हाम्रो प्रस्तावबारे पार्टीभित्र छलफल गरेर निर्णय गर्छौं भन्नुभएको छ । वार्ता र छलफल जारी राखेका छौं’, नेपालवाचसँग उपसभापति धनराज गुरुङले भने ।

राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको रोडम्याप स्पष्ट भएको र राष्ट्रिय समस्या समाधानका लागि सहमति, सहकार्य आवश्यक भएको उनको भनाइ छ । आलांकारिक राष्ट्रपति भएपनि यसअघि संविधानको सिमा नघेको विषयमा दुई पक्षबीच गम्भीर छलफल भएको गुरुङले बताए ।
‘राष्ट्रपतिले संविधानको सिमा नाघेको पाँच वर्षको अनुभवले हामीलाई सिकाएको छ । संविधानको पालना र संरक्षण गर्ने राष्ट्रपति बनाउनुपर्छ भन्ने विषयमा प्रधानमन्त्री पनि निकै गम्भीर देखिनुभएको छ’, उनले भने, ‘राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चुनिनुपर्छ भन्नेमा उहाँको अडान कायमै छ ।’

२५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा दलहरू आ–आफ्नै अडानमा रहेका छन् । राष्ट्रपतिको निर्वाचनमा निर्णायक शक्ति रहेको माओवादी अहिले एमाले र कांग्रेस दुवै पार्टीको तानातानमा परेको छ ।

१० पुसमा एमालेको प्रस्तावमा प्रधानमन्त्री भएका प्रचण्डलाई कांग्रेसलेसमेत विश्वासको मत दिएर उनको मन जित्ने प्रयास जारी राखेका छन् । सरकार गठनअघि एमालेलाई राष्ट्रपति दिने वचन दिएका प्रचण्डले पछिल्लो समय राष्ट्रिय सहमतिबाट राष्ट्रपति छानिनुपर्ने अडान लिँदै आएका छन् । राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई माओवादी केन्द्रले समर्थन गरे प्रचण्डको सरकार थामिदिने नेताहरूले प्रतिवद्धता जनाएका छन् । यसै विषयमा छलफल गर्न अध्यक्ष प्रचण्डले सोमबार अपरान्ह पदाधिकारी बैठक बोलाएका छन् । प्रधानमन्त्रीसँगको छलफलपछि उत्साहित देखिएका कांग्रेसका नेताहरू राष्ट्रपतिको उम्मेदवारको विषयमा आधिकारिक निर्णय लिने तयारी गरेका छन् ।

यी हुन् कांग्रेसका सम्भावित राष्ट्रपतिका उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दल भएरपनि प्रतिपक्षमा पुगेको कांग्रेसले माओवादी केन्द्रसँग मिलेर राष्ट्रपति आफ्नो पक्षमा पार्ने दाउमा छ । मंसिर ४ मा भएको तत्कालीन देउवा नेतृत्वको लोकतान्त्रिक–वम गठबन्धनले १३६ सिट जितेको थियो । निर्वाचनपछि सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्री आफैले लिने अडान राखेपछि प्रचण्डले गठबन्धन तोडेका थिए ।

सभापति देउवाको अपरिपक्वता र अदूरदर्शी क्षमताको कारण कांग्रेस सत्ताको मुखमा पुगेर पनि संघदेखि प्रदेशसम्म प्रतिपक्षमा पुग्नु नेताहरूले आरोप लगाएका छन् । कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले ओलीको धुत्याईं र प्रचण्डको चतुर्याईं बुझ्न देउवाले बुझ्न नसकेकाले कांग्रेसले जितेर पनि हारेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

विगतका गल्तीबाट पाठ सिकेर राष्ट्रपतिको निर्वाचनमा ‘कोर्स करेक्सन’ गर्नुपर्नेमा सभापतिलाई नेताहरूले सुझाव दिएका छन् । आइतबार बालुवाटार जानुअघि सभापति देउवाले आफ्नै निवास धुम्बाराहीमा राखेको पदाधिकारी बैठकमा पनि प्रचण्डलाई विश्वासमा लिएर राष्ट्रपति कांग्रेसले लिनुपर्ने धराणा राखेका थिए ।

बैठकमा कांग्रेसले राष्ट्रपतिको उम्मेदवार अघि सार्दा परिस्थिति विग्रिन सक्नेतर्फ नेतृत्वको ध्यानाकर्षण गराउँदै नेताहरूले एमालेको आधिकारिक निर्णय नआएसम्म मौन बस्नुपर्ने सुझाव दिएका छन् । कांग्रेका एक नेताका अनुसार माओवादीसहितको साझा प्रस्ताव आए राष्ट्रपतिमा रामचन्द्र पौडेलको सम्भावना बलियो रहेको छ । त्यसैगरी कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्मा पनि राष्ट्रपतिको आकांक्षी रहेका छन् ।

‘कांग्रेसले कसलाई उम्मेदवार बनाउने भन्ने बारे हामीले औपचारिक छलफल गरेका छैनौं’, एक नेताले भने, ‘तर प्रचण्डको चाहना रामचन्द्रजीलाई बनाउन पर्छ भन्ने छ । अनौपचारिक छलफलको क्रममा कृष्ण सिटौला र गोपालमानजीको नाम पनि चर्चामा छ । पछिल्लो समय मानबहादुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने प्रस्ताव आएको छ । अहिले नै यही हुन्छ भन्ने अवस्था छैन ।’

ती नेताका अनुसार माओवादीको समर्थन नभए अन्य उम्मेदवारको खोजी हुन सक्नेछ । तर महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापतिलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने बारे छलफल भइरहेको खुलासा गरेका छन् । आइतबार राजधानीको एक कार्यक्रमा बोल्दै कांग्रेसले राष्ट्रपतिको उम्मेदवार सभापतिलाई बनाउतर्फ पहल भइरहेको बताएका हुन् ।

‘कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को भनेर प्रश्न गरिरहेका छन् । हामीले त पार्टी सभापति देउवालाई नै उम्मेदवार बनाउने पहल गरिरहेका छौं । उहाँलाई राष्ट्रपतिमा व्यवस्थापन गर्दा सबैको सर्वमान्य उम्मेदवार हुन सक्छन्’, उनले जिकिर गरे ।
ज्योतिषीको हबला दिँदै सातौं पटक प्रधानमन्त्री बन्ने चाहना राखेका देउवाले राष्ट्रपति बन्ने सम्भावना न्यून रहेको उनी निकट नेताको भनाइ छ ।

‘देउवाजी हाम्रो कार्यकारी सभापति हुनुहुन्छ । उहाँ विपक्षी दलका नेता र कांग्रेस संसदीय दलका नेतासमेत हुनुहुन्छ । प्रधानमन्त्रीका दाबेदार रहेका उहाँ राष्ट्रपति बन्नु हुँदैन । साथीहरूले कुन सन्दर्भमा बाहिर के बोल्छन् त्यसको अर्थ हुँदैन । उम्मेदवार छनोटको विषयमा पार्टीले निर्णय गर्छ’, ती नेताले भने ।

कांग्रेसले कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा माओवादीको निर्णय आएपछि पार्टीभित्र छलफल हुने ती नेताले जानकारी दिए ।