NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

राष्ट्रपतिमा माधव र झलनाथको ‘इन्ट्री’ : एमाले र कांग्रेस प्रचण्डको निर्णय कुर्दै

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय घर्किदै जाँदा अहिलेसम्म राजनीतिक दलहरूले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

सरकार गठनअघि राष्ट्रपति एमालेलाई दिने वचन दिएका प्रधानमन्त्री प्रचण्ड यतिबेला आफ्ना पूर्वअडानबाट पछि हटेका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर राष्ट्रपतिको ‘ढोक्सा’ थापेको कांग्रेसले माओवादी केन्द्रको औपचारिक निर्णय कुरेर बसेको छ ।
राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनसँग भारी मात्रामा मतभार भएपनि प्रचण्डबाट धोका हुनसक्ने ठानेर एमालेले कुनै पनि निर्णय गर्न सकेको छैन । प्रचण्ड र देउवाको गतिविधि सूक्ष्म रूपमा अध्ययन गरिरहेका ओलीले तत्काल उम्मेदवार घोषणा नगर्ने रणनीति बनाएका छन् ।

विपक्षी दल कांग्रेसले माओवादी केन्द्र र एमालेको निर्णय आएपछि मात्र उम्मेदवारी घोषणा गर्ने तयारीमा छ । राष्ट्रपति निर्वाचनमा निर्णायक शक्ति रहेको माओवादी केन्द्रले सहमतिको ढोका नखोल्दा कांग्रेस र एमाले विलखबन्धनमा परेका छन् ।
पूर्वसहमति अनुसार प्रचण्डले विनासर्त राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई समर्थन गर्नुपर्ने अडान ओलीले राख्दै आएका छन् । तर ओलीको प्रस्ताव मौन रूपमा अस्वीकार गर्दै आएका प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नाममा परिस्थितिलाई भड्काउन खोजिएको उनको आशंका छ । पूर्वसहमति कार्यन्वयन गराउने ओलीको निरन्तरको प्रयास असफल हुँदै गएपछि विकल्पको खोजिमा ओली रहेको एकालेका एक नेताले बताएका छन् ।

‘हाम्रै पहलमा बनेको वर्तमान गठबन्धन कुनै हालतमा विघटन हुन दिँदैनौैं । विनासर्त माओवादीले पूर्वसहमति पालना गर्नुपर्छ । माओवादीबाट त्यो सहमति पालना हुनेमा हामी विश्वस्त छौं । यदि राष्ट्रपति निर्वाचनकै कारण गठबन्धन टुट्ने अवस्था आए एमालेले विकल्प खोज्छ’, ती नेताले भने ।

यद्यपि, एमाले र कांग्रेस दुवै पक्षसँग समानान्तर सम्वादमा रहेका प्रचण्डले राष्ट्रिय सहमतिको नाममा मध्यमार्गी उपायबारे निर्णय लिन सक्ने प्रधानमन्त्री निकट एक नेताको भनाइ छ ।

‘राष्ट्रपति निर्वाचनमा एमाले र कांग्रेस आ–आफ्ना अडानमा कायमै रहेको अवस्था छ । एमाले वा कांग्रेस जसको उम्मेदवार भएपनि राष्ट्रिय सहमति होस् भन्ने चाहना हाम्रो छ । यीमध्ये कुनै दलमा पनि सहमति हुन नसके विकल्पमा पनि जानुपर्छ’, ती नेताले भने ।

बालुवाटार स्रोतका अनुसार राष्ट्रपतिको उम्मेदवारको विकल्पमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाललाई तयारी अवस्थामा बस्न प्रधानमन्त्रीले जानकारी गराएका छन् ।

गतहप्ता प्रधानमन्त्रीसँग २ घण्टा लामो वार्ता गरेका खनालले राष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्तासम्ममा परिस्थिति फेरबदल हुनसक्ने भन्दै प्रधानमन्त्रीले खनाललाई तयारी अवस्थामा रहन आग्रह गरिएको बुझिएको छ । बुधबार एकसाताका लागि बंगलादेशको राजधानी ढाका प्रस्थान गर्न लागेका खनाल भ्रमण छोट्याउने तयारीमा रहेका छन् । विकल्पमा माधव नेपाल पनि प्रधानमन्त्रीसँग निरन्तर छलफलमा रहेका छन् । तर सम्वादका लागि बालकोट भने नजाने एकीकृत समाजवादीका एक नेताले बताए ।

‘प्रधानमन्त्रीले कांग्रेस वा एमालेको उम्मेदवारलाई समर्थन गरेर सत्ता जोखिम मोल्न चाहेका छैनन् । राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई समर्थन गरेपनि अब उनको सत्ता जोगिने अवस्था छैन । कांग्रेसलाई समर्थन गरेपनि प्रचण्ड सरकारलाई बचाउने अवस्था छैन । गठबन्धन जोगाउनका लागि ओलीले नै माधव वा झलनाथमध्ये एकलाई प्रस्ताव गर्न सक्ने सम्भावना बलियो छ’, ती नेताले भने ।

तर राष्ट्रपतिको उम्मेदवारको विषयमा पार्टीभित्र औपचारिक निर्णय नभएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । यसविषयमा १३ फागुनमा औपचारिक निर्णय लिने उनको भनाइ छ ।
‘हामीले पूर्वसहमति पालना गराउने विषयमा नै छलफल केन्द्रित गरिरहेका छौं । एमालेको तर्फबाट कसलाई उम्मेदवार बनाउने भन्ने बारे पार्टीभित्र औपचारिक निर्णय भएको छैन । प्रधानमन्त्रीको गतिविधि हेरेर पार्टीले उम्मेदवारी मनोनयन दर्ता गर्ने दिनसम्ममा औपचारिक निर्णय गर्नेछ’, ज्ञवालीले भने ।

एमालेको पक्षमा माहोल बनेको खण्डमा उपाध्यक्षसमेत रहेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सम्भावना देखिन्छ । चर्चामा अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, अनुशासन आयोगको पूर्वअध्यक्ष अमृत बोहरा, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको चर्चा छ । तर एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले समीकरण भत्किने अवस्था आए अहिले चर्चामा आएका कोही पनि उम्मेदवा बन्न नसक्ने बताएका छन् ।

‘एमालेको जोडबल वर्तमान सत्ता समीकरण थप बलियो बनाएर लैजानेमा छ । सकेसम्म पूर्वसहमति अनुसार एमालेको उम्मेदवारलाई जिताउने हाम्रो अधिकतम प्रयत्न हुनेछ’, उनले भने, ‘राष्ट्रपतिको उम्मेदवारलाई लिएर समीकरण नै भत्किने अवस्था आएमा अहिले चर्चाका आएका कोही पनि उम्मेदवार बन्दैनन् ।’

यता प्रचण्डको ‘ग्रिन सिग्नल’ पाएर उत्साहित भएको कांग्रेसका शीर्ष नेताहरूले आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो उम्मेदवारलाई समर्थन गर्न औपचारिक प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीसँगको भेटमा कांग्रेसका सभापति शेरबहादुर देउवाले १० पुुुसको घटनालाई विर्सिएर नयाँ शिराबाट अघि बढ्न प्रस्ताव राखेका छन् । छलफलमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति द्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा सहभागी थिए ।

एक नेताका अनुसार देउवाको प्रस्तावलाई सकारात्मक रूपमा लिएका प्रधानमन्त्री प्रचण्डले एमालेबाट माधव नेपाल वा झलनाथ खनालमध्ये कसैलाई प्रधानमन्त्रीको प्रस्ताव आए के गर्ने भन्ने प्रश्न राखेका थिए । अन्तिम विकल्पमा एमालेबाट राष्ट्रपतिमा नेपाल वा खनालको नाम प्रस्ताव हुनसक्ने प्रधानमन्त्रीको संकेत थियो ।

प्रधानमन्त्रीले नेपालको नाम लिएपछि झस्किएका कांग्रेसका नेताहरूले त्यस्तो अवस्थामा माओवादीले आफूलाई समर्थन नगरे प्रधानमन्त्रीलाई दिएको विश्वासको मत कायमै राख्न नसक्ने जानकारी गराएको एक नेताले भने ।

‘निर्वाचनपछि कांग्रेस सबैभन्दा ठूलो दल हो । तेस्रो दलले प्रधानमन्त्री पाएको छ । दोस्रो ठूलो दलले सभामुख पाएको छ । शक्ति सन्तुलनको हिसाबले स्वभाविक रूपमा राष्ट्रपतिमा कांग्रेसको दाबी रहन्छ । कांग्रेसबाट राष्ट्रपति बनाउनका लागि नै हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो । अन्यथा कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता हुनेछ’, ती नेताले भने ।

यसरी आफ्नै दोहोरो चरित्रका कारण चेपुवामा परेका प्रचण्डले एमाले र कांग्रेसबाट आएको प्रस्तावको विषयमा छलफल गर्न सोमबार पदाधिकारी बैठक बोलाएको छ । दुवैकोे प्रस्तावमाथि छलफल गरी औपचारिक निर्णय लिने महासचिव देव गुरुङले बताएका छन् ।
‘राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्नेमा हाम्रो प्रष्ट अडान छ । संविधान, लोकतन्त्र र व्यवस्था बचाउन सक्ने व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्छ । अन्यथा राष्ट्रयतामाथि नै संकट उत्पन्न हुन्छ’, गुरुङले भने ।

तर माओवादीले कसलाई समर्थन गर्छ भन्नेमा उनले प्रष्ट संकेत गरेनन् । त्यसबारे पार्टीले औपचारिक निर्णय लिने उनको भनाइ छ । राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा त्रिपक्षीय छलफल भइरहेको अवस्थामा एकाएक माधव–झलनाथको ‘इन्ट्रि’ले थप राजनीतिक तरंग उत्पन्न भएको छ । राष्ट्रपतिको निर्वाचनमा निर्णायक शक्ति रहेका माओवादी केन्द्रको निर्णयले नै भावि राष्ट्रपतिको टुंगो लाग्नेछ ।